|

जुम्ला : प्रतिनिधि सभाका सांसद गजेन्द्रबहादुर महतले ओली समूहको तानाशाही धेरै दिन नटिक्ने बताएका छन्। पातारासी गाउँपालिकामा नेकपा प्रचण्ड-नेपाल समूहले आयोजना गरेको संसद विघटनका विरुद्धको विरोध सभामा उनले यस्तो बताएका हुन्।

ओलीले निमुखा जनताको संविधानलाई कु गरेकाले उनको तानाशाही जनताले तानेर फाल्ने महतले दावी गरे। उनले भने, ’प्रधानमन्त्री केपी ओलीले आफ्नो व्यक्तिगत स्वार्थको लागि असंवैधानिक कदम चाले, अहिले कम्युनिस्ट आन्दोलनको लागि तानाशाही र निरङ्कुश बने।'

ओलीले जनताले निर्माण गरेको संविधान च्यातेर फालेको र आफूहरूलाई त्यो जस्तो दुःखदायी कुरा अरू केही नभएको बताउँदै उनले सो असंवैधानिक कदम विरुद्ध एकढिक्का भएर लाग्नुपर्ने बताए।

ओली सानो भन्दा सानो चोइटा मात्र हो : जिल्ला अध्यक्ष कुँवर​

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जुम्ला जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले प्रधानमन्त्री केपी शर्मा ओलीको समूह नेकपाको सानो भन्दा सानो एक चोइटा मात्र भएको दावी गरे। 

'बहुमतको नेकपा हामी यही छौँ, ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट हुन्,' उनले भने, 'ओली समूह चोइटिएर गएको हो, हामी निराश हुनुपर्दैन।' उनले प्रचण्ड–नेपाल समूहको नेकपा नै आधिकारिक भएको दाबी गरे।

जुम्ला प्रदेश क्षेत्र (ख) का सांसद पदम रोकायाले प्रत्येक निर्णय संविधान र कानुनअनुसार हुनुपर्नेमा ओलीले संविधान मिचेर अघि बढ्न खोजेको आरोप लगाए।

यस्तै, नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य पुर्ण धितालले केपी ओली असक्षम नेता ठहरिसकेको दावी गरे। उनले ओली प्रतिक्रियावादीहरूको एजेन्ट र प्रतिक्रान्तिको नाइके भएको आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.