|

चितवन : हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी विद्युत प्रसारण लाइन आयोजनाको भरतपुर–१ आँपटारीस्थित १३२ केभी विद्युत सबस्टेसनको निर्माणमा ठेकेदारले वर्षाैँदेखि ढिलासुस्ती गर्दै आएको छ। १२ पटक म्याद थपिसक्दासमेत सबस्टेशन अझै निर्माण सम्पन्न हुन सकेको छैन। 

तीन वर्षभित्र सवस्टेशन निर्माण सम्पन्न गर्नेगरी ६३ करोड ७३ हजार चार सय ५६ रूपैयाँ लागतमा चिनियाँ कम्पनी झोण्डिङसँग २०६६ पुष १ गते सम्झौता भएको थियो। ०७६ चैतसम्म आइपुग्दा झोण्डिङलाई १२ पटक म्याद थपियो। तर, काम हुन सकेन।

झोण्डिङलाई दिइएको १२ औँ पटकको म्याद चैतमा नै सकिएको हो। त्यसपछि झोण्डिङले अर्काे ठेकेदार कम्पनी हुलासलाई बाँकी काम सम्पन्न गर्न जिम्मा दिएर सुटुक्क भाग्यो। तत्कालिन आयोजना प्रमुख ईश्वरी प्रसाद जयसवालले झोण्डिङलाई त्यसै जान दिए। हुलास कम्पनीले मंसिरभित्रमा काम सक्ने प्रतिबद्धता जनाएको थियो।

हुलासले पनि आफैँले भनेको समयसिमा भित्र काम सम्पन्न गर्न सकेन। पुस २५ गतेदेखि फिल्डमा कामदारहरु ल्याएर ठेकेदारले काम थालेको हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी विद्युत प्रसारण लाइन आयोजनाका सूचना अधिकारी इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।

‘हामीले ठेक्का तोड्ने चेतावनी दिएपछि अहिले कस्सिएर काम गरेको छ,’उनले भने,‘फेरि एक महिनाभित्र सक्छु भनेको छ। काम पनि भइरहेको छ।’ सवस्टेसनमा टेस्टिङ,ब्याट्री चार्ज लगायतको काम भइरहेको उनले जानकारी दिए। पछिल्लो कामको प्रगति हेर्दाखेरि सन्तुष्ट हुने अवस्था रहेको उनको भनाइ छ। ‘जडान भएका उपकरणले काम गर्छ/गर्दैन हामिले हेर्छाैँ। खराब भएका उपकरण छन् भने त्यो फेरेर ठेकेदारले हामीलाई हस्तान्तरण गर्छ।’ उनले भने। 

प्रसारण लाइनको कामले गति लिँदै

आयोजना अन्तर्गतकै हेटौँडा–भरतपुर र भरतपुर–बर्दघाट प्रसारण लाइनको कामले भने गति लिएको छ। दुई वर्षमा सक्नुपर्ने ७२ किमी हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ९ वर्षमा करिब ६० प्रतिशतमात्रै गरेपछि विद्युत प्राधिकरणले २०७५ चैतमा आइकम टेली इन्डियासँगको सम्झौता रद्द गरेर केइसीलाई दिएको थियो।

केइसीले २०७६ चैत देखि काम सुरु गरेको आयोजनाका सूचना अधिकारी इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए। ठेक्का सम्झौता अनुसार यो प्रसारण लाइनमा दुई सय ३५ वटा टावर बनाउनुपर्ने छ। अब ४६ वटा टावर बनाउन बाँकी रहेको उनले बताए। सम्झौता अनुसार यसको म्याद सकिँन अझै डेढ बर्ष बाँकी छ। 

७३.५ किमी भरतपुर–बर्दघाट प्रसारण लाइन अन्तर्गत दुम्कीबासमा स्थानीयको अवरोधका बीच तीन वटा टावर राखिएको छ। त्यस ठाउँमा अझै तीन वटा टावर राख्न बाँकी रहेको पौडेलले बताए। विवाद आएको देवचुली क्षेत्रमा पनि स्थानीयसँग सहमतिको नजिक पुगिसकेको उनको भनाइ छ।

‘स्थानीयसँग करिब–करिब कुरा मिल्ने चरणमा छ। क्षतिपूर्तिको कुरामा छलफल हुन बाँकी छ।’ उनले भने। यस प्रसारण लाइनमा दुई सय ४६ वटा टावर बनाउनुपर्ने सम्झौता भएकोमा अब आठ वटा मात्रै टावर बनाउन बाँकी रहेको उनले बताए।

यो प्रसारण लाइन बनाउन सुरुमा २०६७ कार्तिक २३ गते चिनिया कम्पनी सेन्ट्रल चाइना पावर ग्रीड(सिजिपिजी)सँग ६३ करोड दुई लाख १८ हजार रूपैयाँमा सम्झौता भएको थियो। समयमै काम नसकेपछि सिजीपिजीसँगको ठेक्का रद्द गरेर बाँकी काम १८ महिनाभित्र सम्पन्न गर्नेगरी हेङटन अप्टिकसँग २०७५ साउन २१ गते ६३ करोड दुई लाख १८ हजार रूपैयाँमा सम्झौता भएको हो।

अब ६ महिनाभित्र प्रसारण लाइनको काम सकिने आयोजनाले जनाएको छ। विश्व बैंकको सहुलियत ऋण र विद्युत प्राधिकरणको लगानीमा आयोजनाको काम सन् २००९ देखि सुरु भएको हो। आयोजना अन्तर्गत सबस्टेशन र दुई वटा प्रसारण लाइन रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.