|

काठमाडौं : काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले पहिलो जित निकालेको छ। ​कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार प्रदेश १ ले  कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो।

प्रदेश १ ले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभरमा सबै विकेट गुमाएर हुँदै १ सय ५६ रन मात्रै बनाउन सक्यो। उसका लागि विपिन रावलले सर्वाधिक ४७ रन बनाए पनि टिमलाई हारबाट जोगाउन सकेनन्।

यस्तै निश्चल रावलले ३१, कप्तान रविन्द्रजंग शाहीले १८, दिवन पुन १४ र दिनेश अधिकारी ११ रनको योगदान दिए। प्रदेश १ का मिनास थापाले घातक बलिङ गरे। उनले १० ओभरमा २६ रन खर्चिएर ५ विकेट लिए। यस्तै, दिपेश कँडेलले ३, मनोज तामाङले २ विकेट लिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो। उसका लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ६६ रन बनाए। 

यस्तै शुभशंकर उराले ३६, मिनास थापाले २५, सर्वन यादव र फिर्दोस अन्सारीले १७–१७ तथा राजन मगरले १० रनको योगदान दिए। कर्णालीका रविन्द्र शाहीले ३ विकेट लिए। यस्तै दिनेश अधिकारी र अनुज चुनाराले २–२ विकेट लिँदा दिवन पुन र राज शाहको नाममा एक–एक विकेट रह्यो।

प्रदेश एक ४ खेलमा ३ मा हार र १ मा जित सहित पुछारमा रहँदै समूह ‘ए’ बाट बाहिरिएको छ। कर्णालीले आफ्नो अन्तिम खेलमा माघ १० मा एपिएफसँग खेल्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.