|

काठमाडौं : कम्प्युटर इन्जिनियरिङमा विद्यावारिधि गर्न​ जनकपुरका ३२ वर्षीय युवक २ वर्षअघि चीनको वुहान विश्वविद्यालय पुगे।

सन् २०२० लागेको अवसरमा चीनमा साविक वर्षहरूमा झैं २ महिना बिदा भयो। अन्य मुलुकका विद्यार्थीहरू झैं उनी पनि घरपरिवारसँग भेटघाट गर्न स्वदेश फर्किए। 

धनुषाका जनकपुर उपमहानगरपालिका १० का विक्रम सिंह (नाम अनुमति लिएर प्रकाशन) नेपाल त आए, तर आगमन नेपालको इतिहासमा रेकर्ड बन्यो। 

सिंह नेपाल फर्कँदै गर्दा विश्वमा कोरोना महामारी शुरू भइसकेको थियो। चीनको वुहानमै कोरोना महामारीको पहिलो मामिला फेला पारिएको थियो, जहाँको विश्वविद्यालयमा सिंह अध्ययन गर्थे। 

नेपाल आएका सिंहलाई पनि कोरोना संक्रमण आशंका गरियो। स्वाब लिएर परीक्षण गर्न बाहिर पठाइयो। उनी संक्रमित रहेको पुष्टि भयो। यसरी, चीनबाट छुट्टी मनाउन फर्किएका सिंह नेपालका पहिलो कोरोना संक्रमितका रूपमा दर्ज भए।

सिंहलाई संक्रमण भयो, निको पनि भयो। चीनले वुहानमा चमत्कारिक ढंगले महामारी नियन्त्रणमा लिइसकेको छ। नेपालमा पनि अहिले तत्कालका लागि महामारी कमजोर भएजस्तो देखिएको छ।

तर, सिंह बाँकी अध्ययनलाई अघि बढाउन अझै चीन जान पाएका छैनन्‌। महामारी नभएको भए ​यतिखेर कलेजमा तेस्रो वर्षको पढाइ शुरू भइसकेको हुन्थ्यो। 

चीनमै एक्कासी ज्वरो

चीनमा नयाँ वर्ष लागेसँगै सिंहले नेपाल आउने योजना बनाइसकेका थिए। उनले अंग्रेजी महिनाको जनवरी ९ तारिखको टिकट लिए। नेपाल आउन कोठामा बसिरहँदा उनलाई एक्कासी रुघाखोकी र ज्वरो आयो। काठमाडौं आइसक्दा पनि रुघाखोकी र ज्वरो निको नहुँदा परीक्षण गर्न अस्पताल गए।

बाल्यावस्थादेखि नै विक्रमले औषधि सेवन गरेका थिएनन्। उनी तराईको गर्मी सहँदै हुर्केकाले ज्वरो र रुघाखोकी सहजै पचाउन सक्ने विश्वास थियो।

चीनबाट आएको पाँचौं दिनमा सिंह टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल गए। त्यही समयमा 'वुहान' मा कोरोना भाइरस देखिएको थियो। भाइरस देखिएको छोटो समयमा सयौं मानिसको मृत्यु भइसकेको थियो।

'चिकित्सकले कहाँबाट आएको भनेर सोधे, मैले चीनबाट आएको भनेपछि उनीहरूले भने चीनमा कोरोना भाइरस देखिएको छ, तपाईको स्वाब परीक्षण गर्नुपर्छ भने,' सिंहले थपे, 'म मा देखिएको स्वास्थ्य समस्या कोरोना संक्रमितमा देखिइने लक्षणसँग मिलेकाले त्यसको परीक्षण गर्नुपर्छ भनियो।' उनको स्वाब लिएपछि परीक्षण गर्न हङकङस्थित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को ल्याबमा पठाइएको थियो।

उनी भर्ना हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालाई कोभिड अस्पताल बनाइएको थिएन। सामान्य बिरामी सरह भर्ना गरी सिंहको उपचार थालिएको थियो।

स्वाब परीक्षण गर्न हङकङ लगेको एक-दुई दिनमा उनी अस्पतालबाट डिस्चार्ज भए। हङकङ स्थित ल्याबबाट उनको स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजेटिभ आयो।

अस्पतालको बेडमा भर्ना हुँदासम्म लक्षण देखा नपरेको उनी सुनाउँछन्। अस्पतालबाट जनवरी १३ तारिखमा उनी डिस्चार्ज त भए, तर गत वर्षको माघ ११ गते कोरोना पोजेटिभ रहेको रिपोर्ट आएका उनी नेपालकै पहिलो कोरोना संक्रमित बने।

अहिले उनी आफ्नै गृहजिल्ला धनुषामा परिवारसँग बसिरहेका छन्। घर-परिवारसँग बसेर अनलाइनबाट अध्ययन गरिरहेका छन्।

अस्पतालबाट डिस्चार्ज भएपछि खबर

'अस्पतालबाट डाक्टरहरूले फोन गरेपछि कोरोना पोजेटिभ आएको खबर पाएँ,' उनले भने, 'कोठामै होम आइसोलेसनमा बसिरहेँ। कोरोना लागेको हो कि होइन भन्दै गर्दा आफैँ निको भएँ,' कोरोना लागेको खबर पाएको दिन स्मरण गर्दै उनी भन्छन्‌, 'कोरोना लागेको जस्तो महसुस भएन, किनभने रिपोर्ट आउँदा कोरोना लागेर पनि निको भइसकेको थिएँ।'​

'लकडाउन भएपछि डर बढ्यो'

सिंह नेपाल फर्कंदासम्म यहाँ कोरोना संक्रमितको संख्या शून्य थियो। भारतबाट र अन्य मुलुकबाट मानिस आउन थालेपछि संक्रमित संख्या बढ्दै गएको थियो।

कोरोनाको त्रास बढेसँगै मुलुकभर चैत ११ गतेदेखि लकडाउन भएको थियो। जब लकडाउन शुरू भयो : सबै मानिसहरू घरभित्र बस्न थाले। उनको मनमा पनि डर पस्न थाल्यो।

'म त कोरोना लागेर निको भएँ, तर अन्य मानिसलाई पनि लाग्ने भएकोले त यसरी लकडाउन गरिएको होला भन्ने लाग्यो, मनमा डरको चिसो पस्न थालेको थियो,' उनले सुनाए।

सिंह एक वर्षदेखि घरमा बसे पनि परिवारमा कसैलाई कोरोना लागेको छैन। उनी आमा र भाइको साथमा जनकपुरस्थित घरमा बसिरहेका छन्। नेपालकै पहिलो कोरोना संक्रमित हो भन्ने परिवारलाई थाहा भइसकेको छ। उनका साथीहरूले अनुमान गर्छन्, तर भन्न सकिरहेका छैनन।​

खोप निर्माण भएसँगै छुटेको पढाई पूरा हुने आशा

विभिन्न मुलुकले कोभिड विरुद्धको भ्याक्सिन बनाउन थालेका छन्। खोप बने सँगै चीनमा गएर छुटेको पढाई पूरा हुने उनमा आशा जागेको छ। घरबाटै अनलाइनबाट आफ्ना विषयका सैद्धान्तिक कुरा पढे पनि प्रयोगात्मक कक्षा लिन नपाएकोमा उनलाई दुःख लागेको छ।

वुहान विश्वविद्यालयबाट आएका उनीजस्ता २ सय भन्दा बढी विद्यार्थी नेपालमा छन्। उनको प्रवेशाज्ञा (भिषा) को समय आगामी जुलाईसम्म छ। यहीँ महामारीले गर्दा छुटेको अध्ययन पूरा गर्न चीन जान नपाइने चिन्ताले उनलाई सताउन थालेको छ।

महामारीको बीचमा चीनबाट स्वदेश फर्केका नेपाली विद्यार्थीलाई चीन फर्काउन नेपाल सरकारले पहल गरिदिनुपर्ने उनी बताउँछन्‌। चीनमा बिस्तारै कोरोना संक्रमण शून्यतर्फ झरिरहेकाले नेपाल आएका विद्यार्थी पुनः चीन चाहेको उनले बताए।

चीनस्थित नेपाली दूतावासले पनि नेपाली विद्यार्थीलाई फर्काउन पहल गरिरहेको उनलाई थाहा लागेको छ। भन्छन,' दूतावासले पहल गरेपनि चीन सरकारले अनुमति दिएको छैन, कुटनीतिक नियोगका पदाधिकारी र व्यापारिक भिषा भएकाहरूले मात्र चीन प्रवेश पाइरहेका छन्, विद्यार्थी भिसा र सर्वसाधारणले अहिले सहजै प्रवेश पाएका छैनन्।' 

अहिले चाहेर पनि चीन जान नसक्ने उनले बताए। उनीसँगै साथीहरूको समूहले नेपालस्थित चिनियाँ दूतावासमा विभिन्न माध्यमबाट चीन जान पाउनुपर्छ भन्दै माग गरिरहेका छन्। नेपाल सरकारले कोरोनाको त्रासमा चीनबाट स्वदेश फर्केका विद्यार्थीलाई पुनः पठाउन पहल नगरेकोमा आक्रोश बढिरहेको छ। चीन जान नपाए पढाइमा वर्षौंदेखि गरेको लगानी खेर जाने चिन्तामा सिंहजस्ता विद्यार्थीहरू पिल्सिएका छन्‌।

चीनमा अध्ययनको लागि राम्रो वातावरण रहेको उनी बताउँछन्। 'प्राविधिक विषयको राम्रो सुविधा छ,' उनी भन्छन्‌, 'नेपालमा राम्रो शिक्षाको व्यवस्था भएको भए यति धेरै खर्च गरेर अर्काको देशमा को जान्थ्यो र?'

​अहिले विश्वभरमा कोरोनाबाट प्रभावित हुनेको संख्या करिब १० करोड पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड देखिएको एक वर्ष पुगिसक्दा कुल संक्रमित २ लाख ६९ हजार १ सय ८० पुगेकोमा २ लाख ६३ हजार ७ सय ३४ जना संक्रमणमुक्त भएका छन्‌। करिब २ हजार संक्रमितको ज्यान गएको छ।

महामारीकै बीचमा केही मुलुकले आफ्ना नियमित गतिविधि शुरू गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.