|

डडेल्धुरा : डडेल्धुरामा पछिल्लो ३ वर्षमा १० हजारभन्दा धेरै मतदाता थपिएका छन्। २०७४ को निर्वाचनमा मतदाताको संख्या ७५ हजार ७ सय ८० थियो। जसमध्ये ३८ हजार ५ सय २६ महिला र ३७ हजार २ सय ५४ पुरुष थिए।

यस वर्षको पुससम्म मतदाताको संख्या ८६ हजार १ सय १ पुगेको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ। अहिले महिला मतदाता बढेका छन्। महिलाको संख्या ४३ हजार ३ सय ५९ छ भने पुरुषको संख्या ४२ हजार ७ सय ४२ पुगेको छ। 

२०७४ सालपछि ३ वर्षको अवधिमा १० हजार ३ सय २१ ले मतदाता बढेको निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयले शुक्रबार मतदाता नामावली अद्यावधिक कार्यक्रम,२०७७ सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा आफ्ना गतिविधिबारे जानकारी समेत दिएको छ।

आयोगले तयार गरेको फोटोसहितको मतदाता नामावलीमा मतदाताले आफ्नो विवरण हेर्न एवम्‌ अद्यावधिक गर्न सहज पहुँच प्रदान गर्न अन्तरक्रिया गरिएको निर्वाचन अधिकृत कृष्णसिंह नायकले बताए। मतदाता नामावलीमा भएको दोहोरोपना एवम्‌ त्रुटिहरू हटाउन पनि अन्तरक्रिया गरेको उनले बताए।

स्थानीय निर्वाचन, २०७४ अनुसार डडेल्धुरामा ७७ मतदान स्थल छन्। मतदान केन्द्रको संख्या १ सय १० छ। हाल भने मतदान स्थल तथा मतदान केन्द्र संख्या १ सय २२ रहनसक्ने निर्वाचन कार्यालयले अनुमान गरेको छ। मतदाता संख्या बढेसँगै केन्द्र पनि बढाउने तयारी भएको छ।

निर्वाचन आयोगले माघ १५ गतेदेखि २१ गतेसम्म देशभरका सबै स्थानीय तहका केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागेको छ।

डडेल्धुरा ७ वटा स्थानीय तहमध्ये २ वटा नगरपालिका छन्। जसमा २३ वडा कार्यालयहरू छन्। ५ वटा गाउँपालिकामा २९ वटा वडा कार्यालय गरी जम्मा ५२ वडा कार्यालय रहेका छन्। १ मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यहाँ २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.