|

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १५२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार १८४ जना पुगेको छ। 

यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड ६ लाख ३९ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार २५६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख ३९ हजार ६८४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख ८३८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा एक लाख ८५ हजार ६८२ जना सक्रिय सङ्क्रमित रहेका छन्।

भारतमा एक साता अघिदेखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ। सो दिनदेखि हालसम्म १० लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन्।  भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २६६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ७ जनाको मृत्यु भएको छ। भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७८९ को मृत्यु भइसकेको छ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर १९ करोड ९ लाख ८५ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शुक्रबार एकै दिनमा मात्र  आठ लाख ३७६ जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.