|

कञ्चनपुर : विद्यालयको कार्यसम्पादन परीक्षणको नतिजामा कञ्चनपुरका अधिकांश विद्यालयको नतिजा मध्यम रहेको पाइएको छ।

१ सय २ वटा विद्यालयको कार्य सम्पादन परीक्षण नतिजामा दोधारा चाँदनी नगरपालिकाको भानु माध्यमिक विद्यालय उत्तम रहेपनि अन्य विद्यालयको नतिजा मध्यम देखिएको हो। 

कार्य सम्पादनका लागि निर्धारण गरिएका सूचकमा भानु माध्यमिक विद्यालयले ९० अंक प्राप्त गरेको छ। अन्य विद्यालयले ५० देखि ८० को बीचमा अंक ल्याएका छन्‌।

​परीक्षण गरिएका १ सय २ विद्यालयमध्ये एक विद्यालयको नतिजा उत्तम, ८७ विद्यालयको नतिजा मध्यम र १४ विद्यालयको नतिजा सामान्य आएको शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरका प्राविधिक अधिकृत लवदेव भट्टले बताए। 

विद्यालयको कार्य सम्पादनका लागि विद्यालयको भौतिक सुविधा, शिक्षण मानव संसाधन र स्थायित्व समुदायको सहभागिता र लगानी कक्षा शिक्षण, विद्यार्थी मूल्याङ्कनलाई आधार बनाइएको थियो।

यसैगरी, शिक्षकको पेशागत विकास, नेतृत्व र व्यवस्थापन अतिरिक्त क्रियाकलाप, नियमित र कक्षा दोहोर्‍याउने र छाड्ने दर, सिकाई उपलब्धि, सेवाग्राहीको सन्तुष्टि, शिक्षकको पेशागत सन्तुष्टिलाई कार्य सम्पादनको सूचकका रूपमा लिइएको शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरका प्राविधिक अधिकृत भट्टले बताए।

कार्य सम्पादन परीक्षण भएका विद्यालयको नतिजा तथा उपयोग सम्बन्धी शुक्लाफाँटा नगरपालिकामा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा उनले क्षेत्रगत र उप क्षेत्रगत रूपमा सूचकको संख्या पूर्णाङ्क र विश्लेषणका लागि प्रयोग गरिएको भारका बारेमा उल्लेख गर्दै लगानीको क्षेत्रको जम्मा सूचक संख्या २७, पूर्णाङ्क ८१ र वास्तविक भार २५ निर्धारण गरिएको बताए। 

उनका अनुसार प्रक्रिया क्षेत्रको जम्मा सूचक संख्या ४६१, पूर्णाङ्क ३८ वास्तविक भार,३०, उपलब्धि क्षेत्रका जम्मा सूचक संख्या १५, पूर्णाङ्क ५ वास्तविक भार ४० सेवा प्रदान गरिएका विद्यार्थीको सूचक संख्या १, पूर्णाङ्क ५ वास्तविक भार ५ र  कुल जम्मा सूचक संख्या ८९ पूर्णाङ्क ६४९ वास्तविक भार १०० निर्धारण गरिएको थियो।

जसमा परीक्षण गरिएका विद्यालयको लगानी १५ दशमलव ३२, प्रकृया १६ दशमलव ५२, उपलव्धी २५ दशमलव ५५, सेवा प्रदान गरिएको विद्यार्थी ३ दशमलव ९३ गरी जम्मा ६१ दशमलव ३२ रहेको पाइएको छ। औषतस्तर भने सामान्य रहेको पाइएको छ।

कुल प्राप्ताङ्कका आधारमा ४० प्रतिशत भन्दा कम अंक ल्याउने कमजोर,४० देखि ७० प्रतिशत कम अंक ल्याउने सामान्य,७० देखि ९० भन्दा कम अंक ल्याउने मध्यम र ९० प्रतिशत भन्दा कम अंक ल्याउने विद्यालयलाई कार्य सम्पादनमा उत्तममा राखिएको थियो।

‘विद्यालयको सिकाई उपलब्धी र शैक्षिक गुणस्तर मापनका लागि कार्य सम्पादन परीक्षणको कार्य गरिएको छ,’ अधिकृत भट्टले भने, ‘मापनको नतिजामा सामर्थ्य र मध्यम अंक ल्याउने विद्यालयलाई सुधारका लागि भनेका छौं। विद्यालयको समग्र पक्षको सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थीसँगै स्थानीय तह र अन्य सरोकारवाला निकायको सहकार्य हुन आवश्यक छ।’

कार्यसम्पादन परीक्षणमा विद्यालयमा स्थलगत भ्रमण गरी अभिलेखहरूको अध्ययन गरेर यथार्थ अबस्था पत्ता लगाइने गरिन्छ। राम्रो अवस्था देखिए त्यसको कारण पहिचान गरी अन्य विद्यालयमा त्यसलाई अनुशरण गर्न लगाइने र कमजोर अवस्था देखिएमा  त्यसको कारणको खोजी गरी सम्बन्धित पक्षलाई सुधारका लागि जानकारी गराइन्छ।

‘कार्य सम्पादन परीक्षणमा औंल्याएका कमजोर पक्षको विश्लेषण गर्दा कक्षामा सामग्री व्यवस्थापनमा शिक्षाकै कमजोरी देखिएको छ,’ शुक्लाफाँटा नगरपालिका शिक्षा शाखाका प्रमुख टिकेन्द्रप्रसाद भट्टले भने, ‘स्थानीय साधन स्रोतकै प्रयोग गरी शिक्षण सामग्री तयार गर्न सकिने भएपनि त्यसतर्फ शिक्षकको ध्यान जान सकेको छैन।’

कक्षा कोठा व्यवस्थापन, पुस्तकालय, प्रयोगशाला र सुचना प्रविधिको अधिकतम उपयोग ल्याउनका लागि मातहतका विद्यालयलाई सचेत गराइएको उनले बताए। विद्यालयका सवल र निर्बल पक्षको विश्लेषण गरी सुधारका लागि कार्यहरु अगाडी बढेको उनको भनाई थियो।

कार्यसम्पादन परीक्षण नतिजाका आधारमा विद्यालयमा सुधारका कार्य गरिएको सिद्ध बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक धनसिंह महराले बताए। ‘विद्यालयको शैक्षिक प्रगति विगतको तुलनामा निकै सुधार भएको छ,’ उनले भने, ‘विद्यालय बीचमै छाडने र कक्षा दोहोर्‍याउने विद्यार्थीको संख्यामा कमी आएको छ। विद्यालयको भौतिक पूर्वाधार विकासमा सुधार आएको छ। विद्यार्थीको उत्तिर्ण प्रतिशत प्रतिवर्ष बढ्दो रूपमा रहेको छ।’

आव ०७५/७६ मा  शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कञ्चनपुरका विद्यालयमा कार्यसम्पादन परीक्षणको कार्य गरेको थियो आर्थिक वर्ष ०७६/७७ मा कोरोना भाइरसको महामारीका कारण कार्यसम्पादन परीक्षण कार्य हुन नसकेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.