|

सल्यान : शिक्षक र विद्यार्थीमा कोरोना भाइरस देखिएपछि बनगाड कुपिन्डे नगरपालिकाका दुई विद्यालय एक साताका लागि बन्द गरिएको छ। नगरपालिकाको प्रभाकर माध्यमिक विद्यालय देवस्थल र गंगा प्राथमिक विद्यालय बन्द गरिएको हो।

४६ जनाको स्वाब संकलन गरिएकोमा देवस्थलको प्रभाकर माविका शिक्षक र विद्यार्थी गरी १० जना र गंगा प्राविका तीन शिक्षकमा कोरोना पोजेटिभ देखिएको छ। विद्यालयका सबै शिक्षक र विद्यार्थी कोरोनाको उच्च जोखिममा पर्ने देखिएपछि विद्यालय बन्द गरिएको प्रभाकर माविका प्रधानाध्यापक शिखर ऐरीले बताए।

विद्यालयका अधिकांश विद्यार्थीलाई कोरोना हुनसक्ने सम्भावना देखिएपछि थप विद्यार्थीहरूको पीसीआर परीक्षण गर्ने तयारी गरिएको उनले जानकारी गराए। कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा झन्डै ६ सय विद्यार्थी रहेकाले कसैलाई लक्षण देखिएमा तत्काल सम्पर्क राख्न उनले अभिभावकलाई आग्रह गरेका छन्।

शिक्षक र विद्यार्थीमा कोरोना भाइरस देखिएपछि बालबालिकाको पठनपाठन पूर्ण रुपमा प्रभावित भएको र सबैको रिपोर्ट नेगेटिभ नआउँदासम्म विद्यालय सञ्चालन गर्न नसकिने उनको भनाइ छ। नगरपालिकाले प्रभाकर माध्यमिक विद्यालयमा आइसोलेसन बनाएको र निर्मलीकरणको काममा लापरबाही गरेकाले पनि विद्यार्थी र शिक्षकमा कोरोना देखिएको हुनसक्ने ऐरीको भनाई छ। 

वनगाड कुपिन्डे नगरपालिकाका स्वास्थ्य संयोजक बासुदेव पोखरेलले कोरोना देखिएकालाई होम आइसोलेसनमा बस्न र संक्रमित परिवारका अभिभावकले मास्क प्रयोग आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.