आउँदो चुनाव देशद्रोहीहरूलाई ठेगान लाउने अवसर भएको तर्क

|

काठमाडाैं : सरकार सदैव जनताको साथमा भएको प्रधानमन्त्री केपी ओलीले विश्वास दिलाएका छन्। 

'सरकारका केही महत्वपूर्ण काम हुन्छ। भूमिको रक्षा गर्नु सरकारको काम हो। देशको स्वाधीनता रक्षा गर्नु सरकारको काम हुन्छ, तर सरकारको काम सबै जनतासँग सबैको पहिचान गरी समाधान गर्नु सरकारको कर्तव्य हो,' उनले भने।  

अपांगता भएका व्यक्तिहरूको समस्या र सवालमा प्रधानमन्त्रीसँग साक्षात्कार कार्यक्रम राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री ओलीले सम्मानित ढंगले बाँच्न पाउने अधिकार सबैको भएको बताएका छन्। 

'म पनि अलिअलि अपांगता भएकै मान्छे हुँ। किड्नी फेरेको मान्छे हुँ। सायद यो पनि विश्व रेकर्ड नै हो। विश्वमा यस्तो कतै छैन। दुई वटा किड्नी फेरे पनि मैले कसैलाई गाली पनि गरेको छैन। कसैलाई लखेटेको पनि छैन,' उनले त्यसक्रममा भने।  

तर दुई वटा किड्नी फेरे पनि देश बिगार्ने तत्वहरु भागी भागी हिँड्ने गरेका पनि ओलीले आरोप लगाए।

अपांगता सबैमा अलिअलि हुने र त्यो कसैमा कम तथा कसैमा बेसी हुने उनले दाबी गरे। अपांगता हौइनौं भन्ने ठूला ठूला मान्छेहरु मानसिक रुपमा सबैभन्दा ठूला अपांग भएका पनि उनले बताए। त्यो अपांगता डरलाग्दो भएको हरेस खान नहुने पनि उनले भरोसा दिलाए। 

संसद् विघटनबारे पनि चर्चा गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन भयो भन्दै कराउने मान्छेहरु संविधानविरोधी भएको तर्क गरे। त्यस्ता व्यक्तिहरू लोकतन्त्रविरोधी र देशविरोधी भएको उनको ठहर थियो। उनीहरुले नै देश अस्तव्यस्त पारेका र स्थायित्व हुन नदिएका पनि आरोप लगाए। 

बहुमतको सरकार तोडेर जोरजाम गरेर अस्थिर सरकार बनाउने खेल भइरहेको भन्दै उनले आपत्तिसमेत जनाए। संसदमा पाँचै वर्ष जागिर खान आएकाहरुले विरोध गरेका भन्दै उनले सोधे, 'के संसद भनेको जागिर हो?’ 

देशको सेवा गर्नुपर्ने ठाउँमा त्यसो नगरेर अरुबाट निर्देशित भएर अरुको इसारामा अरुका लागि काम गर्ने स्थिरता भत्काउन केही मान्छेहरु लागिपरेका पनि उनले आरोप लगाए।  

स्थिरता भत्काएर अस्थिरताका लागि जान लागे पछि ताजा जनादेशका लागि सरकारले चुनाव घोषणा गरेको पनि उनले प्रस्ट पारे। साथै कुन कुन सांसदले कस्तो काम गरे भन्नकै लागि ताजा जनादेशमा जान लागिएको पनि उनले बताए। यसबाटै तिनको पनि मूल्यांकन हुने ओलीले बताए। र त्यसैअनुसार पुरस्कृत गर्ने कि तिरस्कार गर्ने भन्ने जनताले बताउने पनि उनको भनाइ थियो। 

संसदलाई आफूले हातमा नलिएको तर्क गर्दै उनले भने, 'मैले आफ्ना हातमा लिएको छैन। मैले हातमा लिएको भएको तानाशाही हुन्थ्यो, जनताका बीचमा जनतालाई फैसला गरिदिएको हुँ। म तानाशाह भएँ?'

साथै उनले देशद्रोहीलाई ठेगान लगाउने अवसर अबको चुनाव हुने भन्दै तोकिएको समयमा जसरी पनि चुनाव हुने विश्वास दिलाए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.