काठमाडौं : किताब जात्रा फाउन्डेसनले माघ १७ गते देखि ‘नबिल किताब जात्रा–२०७७’ सञ्चालन गर्ने भएको छ।
आइतबार पत्रकार सम्मेलन आयोजना गरी फाउण्डेशनले माघ १७ शनिबारदेखि माघ २३ शुक्रबारसम्म किताब जात्रा सञ्चालन हुने जानकारी दिएको हो। कोभिड–१९ जोखिमका कारण यस वर्षको किताब जात्रा विभिन्न सञ्चार माध्यम र ‘किताब यात्रा’ एपबाट प्रशारण गर्न लागिएको नबिल किताब जात्रा–२०७७ का निर्देशक ऋषिराम अधिकारीले बताए। कार्यक्रममा भाषा, साहित्य, सिनेमा, समाज, उद्यम लगायतका क्षेत्रका व्यक्तित्वहरु समावेश भएका सातवटा सेसन रहने छन्।
नबिल किताब जात्राको अवसरमा नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई ‘प्रेम साहित्य सम्मान’ प्रदान गरिने आयोजकले बताएको छ। यस्तै, अनलाइन बुकसेलिङ् प्लेटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको किताब यात्रा प्रालिले आफ्नो प्लेटफर्ममार्फत सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’ दिने घोषणा गर्ने भएको छ। गत वर्ष यो अवार्ड आख्यानकार अमर न्यौपानेद्वारा लिखित ‘गुलाबी उमेर’ले प्राप्त गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।