|

सर्लाही : सर्लाही र महोतरीको सीमा भएर बग्ने बाँके खोलामा नदीजन्य वस्तुको गैरकानुनी रुपमा दोहन भइरहेको स्थानीयले दाबी गरेका छन्। ईश्वरपुर नगरपालिका–१३ श्रीनगर घाटटोल क्षेत्रस्थित बाँके खोलाबाट ठेकेदार कम्पनीले सम्झौताविपरीत नदीजन्य वस्तु उत्खनन गरेको उनीहरुको आरोप छ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँके चोकबाट तीन किलोमिटर दक्षिणमा रहेको श्रीनगर घाटटोल नाकामा गहिरो गरी खनेर गिट्टी तथा बालुवा निकालेको भन्दै एक साताअघि स्थानीयले उत्खननमा रोक लगाएका थिए। तर, रोकिएको भोलिपल्ट नै पुनः उत्खनन थालिएको ईश्वरपुर–१३ का राकेश महतोले बताए।

त्यस क्षेत्रमा अहिले सातवटा स्काइभेटर र एक सयभन्दा बढी टिपरले नदीजन्उ वस्तु उत्खनन गरिरहेको महतो बताउँछन्। गिट्टी तथा बालुवा निकाल्दा खनिएका १२ देखि १५ फिट गहिरो खाडलको प्रमाण मेटाउन ईश्वरपुर नगरपालिकाका पदाधिकारी नै लागिपरेको स्थानीयको आरोप छ।

नगरप्रमुख मनोज देवकोटा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटा र वडा नम्वर १३ का वडाध्यक्ष रामकरण महतोलाई नदीजन्य वस्तु उत्खननबारे पटकपटक जानकारी गराउँदासमेत सुनुवाइ नभएको महतोको भनाइ छ। उनले ठेकेदार कम्पनी, कर्मचारी र जनप्रतिनिधिको समेतको मिलेमतोमा अवैध रुपमा उत्खनन् भइरहेको आरोप लगाए।

नगरप्रमुख देवकोटाले स्थानीहरुले ठेकेदार कम्पनीले बदमासी गरेको भन्ने सूचना दिएको बताए। उनले सम्झौताविपरीत उत्खनन भएको पाइए कारबाही गर्नेसमेत प्रतिवद्धता व्यक्त गरेका छन्।

उनले प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनमा उल्लेख भएअनुसार ईश्वरपुर–१३ श्रीनगर घाटटोलस्थित बाँकेखोलाबाट १.५ मिटर अर्थात् ५ फिट गहिराइ र ४ लाख ५० हजार ८८५ घनमिटर गिट्टी बालुवा निकाल्न मिल्ने गरी गत मंसिर १८ गते एक करोड आठ लाख रुपैयाँमा नगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको जानकारी दिए।  

ईश्वरपुर नगरपालिका–१३ का वडाध्यक्ष रामकरण महतो नदीजन्य वस्तु उत्खननको अनुमति पाएको शिवम् कन्ट्रक्सन जनकपुर–४ धनुषाले अवैध ढंगले नदीजन्य पदार्थ निकालेको स्वीकार्छन्। प्रमुख प्रशासकीय अधिकृत देवकेटाले पनि सम्बन्धित निकायको प्रभावकारी अनुगमन नहुँदा ठेकेदारले जथाभावी रुपमा नदीजन्य पदार्थको दोहन गरिहेको बताएका छन्।

उत्खनन भएको ठाउँबाट २०० मिटर पश्चिममा रहेको श्रीनगर घाटटोल गाउँ बाँकेखोलाको उच्च जोखिमा छ। त्यस्तै वडा नम्बर १२ को कान्छीबजार लगायत दर्जनौं गाउँ डुबान र उर्वरभूमि कटानको चपेटामा पर्ने स्थानीय गोपाल बम्जन बताउँछन्।

जथाभावी गहिरो खाडल खनेर वस्तीलाई जोखिममा पार्ने गरी नदीजन्य पदार्थ उत्खनन गर्न नहुने बम्जनको भनाइ छ। ठेकेदार कम्पनीले गिट्टी तथा बालुवा निकाल्न १२ देखि १५ फिटभन्दा गहिरो खाडल खनेको स्थानीयको भनाइ छ। 

अहिले उत्खनन् भइरहेको स्थानमा गिट्टी तथा बालुवा निकाल्दा बनेको गहिरो खाडलमा जमेको पानीमा डुबेर २०७५ असार १४ मा ईश्वरपुर–१३ श्रीनगर घाटटोलका ११ वर्षीय सुमित यादवको मृत्यु भएको भियो।

उनको मृत्युपछि असार १५ मा पूर्वपश्चिम लोकमार्गअन्तर्गत बाँकेचोकमा प्रदर्शन गरेको थिए। त्यही समय प्रहरीको गोली लागेर स्थानीय २५ वर्षीय सरोजसिंह कुशवाहको मृत्यु हुनका साथै केही मानिस घाइतेसमेत भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.