|

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि दबाब दिनेहरू लोकतन्त्रवादी हुन नसक्ने बताएका छन्।

आइतबार रौतहटको गुजरा नगरपालिका-९, सिम्रा भवानीपुरमा आयोजित नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले माधव नेपाल र प्रचण्डको समूहले आफैंले बनाएको संविधानलाई समेत नमानेको टिप्पणी गरे।

प्रचण्ड र माधव नेपालले नै बनाएको संविधानको व्याख्याको विषयमा जटिल कानुनी प्रश्न उठेमा त्यसको न्याय निरूपण संवैधानिक इजलासबाट गर्ने भनी स्पष्ट व्यवस्था रहे पनि अदालतमा विचाराधीन मुद्दाबारे टिप्पणी गरेर न्यायालयमाथि दबाब दिइएको भन्दै नेता साहले आपत्ति जनाए।

उनले माधव-प्रचण्डले आफ्नै पार्टीभित्र अन्तर्घात गर्ने, आफ्नै पार्टीको सरकारविरुद्ध षडयन्त्र गर्ने, संसदलाई बन्धक बनाउने जस्ता जालझेल गर्दै अहिले न्यायालयलाई निशाना बनाइरहेको बताए।

स्वतन्त्र न्यायालयमाथि माधव-प्रचण्डले निरन्तर दबाब दिएर लोकतन्त्रविरुद्ध षड्यन्त्र गरेको नेता साहको भनाइ छ। 'अहिले तपाईंहरु देख्दै हुनुहुन्छ,' संसद विघटनको मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन छ। तर केही नेताहरुको झुन्डले आफ्नो पक्षमा फैसला गर्न सडकमा आन्दोलनरत छ।'

नेता साहले भने, 'ती नेताहरु अरु कोही होइनन्, वर्तमान संविधानका निर्माताहरू हुन्। संविधानको विषयमा कुनै पनि कुरा उठे त्यसको न्याय निरुपण संवैधानिक इजलासले गर्ने भनी संविधानमा व्यवस्था गर्ने यिनै प्रचण्ड र माधव नेपालहरू हुन्।'

'आज आफ्नो पक्षमा निर्णय भएन भनेर देशमा कयामत ल्याउँछु भनेर अदालतलाई धम्क्याउनेहरु पनि यिनै हुन्। के यसरी स्वतन्त्र अदालतलाई दबाब दिन मिल्छ? कि त भन्नुपर्यो अदालतमाथि विश्वास छैन, कि त भन्नुपर्यो, आफैंले बनाएको संविधान मान्दिनँ।

 नेता साहले थपे, "यो सिधा सिधा लोकतन्त्र माथिको हमला हो। संघीय लोकतान्त्रिक गणतन्त्र सिध्याउने षडयन्त्र हो। यस्ता अन्तर्घातीहरुबाट देशलाई जोगाउन जरुरी छ।' गुजरा नगर कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा निवर्तमान सांसद समिना हुसेन, प्रदेश सांसद कुन्दन कुश्वाहा, नेताहरु मनोज यादव, त्रिभुवन साहलगायतको उपस्तिथि रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.