लक्षण देखिए सावधानी अपनाउनुपर्ने

|

काठमाडौं : सरकारले बुधबारबाट देशभर कोरोना भाइरस विरुद्धको खोप अभियान (पहिलो चरण) अघि बढाउँदैछ।

कोरोनाको खोप लगाएपछि स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिए सरकारले नि:शुल्क उपचार गर्ने जनाएको छ। पहिलो चरणको खोप अभियान अस्पतालहरूमा सञ्चालन हुनेछ।

खोप लगाउँदा स्वास्थ्य समस्या आए जुन ठाउँमा खोप लगाइएको हो, सोही ठाउँमा उपचार हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्‌।

मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले खोप लगाएपछि स्वास्थ्यमा समस्या आए उपचार गर्न समस्या नभएको तर पहिलो चरणको खोप अभियान भएकाले धेरै स्वास्थ्यकर्मीलाई परामर्शको आवश्यकता रहेको बताए। उनले भने, ‘पहिलो चरणको खोप सबै स्वास्थ्य संस्थाबाट लगाइने भएकाले समस्या आए खोप लगाएकै ठाउँमा उपचार हुन्छ, तर खोपबारे स्वास्थ्यकर्मीलाई अझै धेरै परामर्श दिन आवश्यक देखिएको छ।'

​नेपालमा दी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड खोप लगाउन लागिएको हो। सरकारले नेपालमा कोरोनाविरुद्ध खोप प्रयोग निम्ति आवश्यक निर्देशिका तयार गरिसकेको छ।

खोप लगाएपछि निश्चित समयसम्म स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्छ भने समस्या देखिए निर्देशिकामा उल्लेख भएअनुसार सावधानी अपनाउनुपर्छ।​

यस्ता लक्षण देखिए सावधानी आवश्यक

कोभिड खोप लगाएको केही मिनेटदेखि दुई घन्टाभित्रमा शरीर फुस्रो हुने, श्वासप्रश्वासमा समस्या आउने, मुटुको धड्कन कम हुने वा रक्तचाप कम हुने र वान्ता हुनेजस्ता जोखिमपुर्ण लक्षण हुने हुँदा केही समय स्वास्थ्यकर्मीको परामर्शमै रहनुपर्ने बताइएको छ।

तर, खोप लगाएको वरपर फोका उठ्ने, चिलाउने, गर्मी हुने, ह्याच्छिउँ आउनेजस्ता समस्या देखिए नआत्तिन आग्रह गरिएको छ।

विभागीय मन्त्रालयले आइतबार नै सातै प्रदेशमा खोप पठाइसकेको छ। प्रदेश २ को लागि भने प्रदेश १ को विराटनगर र बागमती प्रदेशको हेटौँडास्थित खोप भण्डारण स्टोरमा खोप पठाइएको छ।

मन्त्रालयले प्रदेश १ मा ९ हजार ६ सय, बागमती प्रदेशको हेटौंडामा ७ हजार ६ सय, काठमाडौं टेकु भण्डारणमा १२ हजार ५ सय (यसमा बागमती प्रदेशको १० जिल्ला पनि समेटिएको छ), गण्डकी प्रदेशको पोखरामा ४ हजार, बुटवलमा ८ हजार ८ सय, नेपालगञ्जमा २ हजार ६ सय र कर्णालीमा ३ हजार ६ सय भायल खोप पठाएको हो।

मन्त्रालयको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिहं तिङ्करीका अनुसार अहिले सबै प्रदेशमा पहिलो डोज खोप मात्रै पठाइएको हो। उनले भने, ‘अहिले सबै ठाउँमा पहिलो डोज खोप मात्रै पठाइको छ, पहिलो डोज खोप लगाएको एक हप्तापछि दोस्रो डोज खोप पठाउनेछौँ।‘

बुधबार विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियान उद्‌घाटन गर्नेछन्‌। अभियान शुभारम्भ गर्दा राष्ट्रपति विद्यादेवि भण्डारीले समेत सम्बोधन गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.