ऋण तिर्न अझै बाँकी, परिवारको बिचल्ली

|

रौतहट : वैदेशिक रोजगारीमा जाने जो कोहीले पैसा कमाएर जग्गा जोड्ने र घर बनाउने सपना हुन्छ। परिवारका सदस्यलाई सुखमा राख्ने चाहना हुन्छ। बृन्दावन नगरपालिका–४ हर्दियाका ३८ वर्षीय वीरेन्द्र राउत कुर्मी पनि यस्तै सपना लिएर वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए।

वीरेन्द्र करिब तीन वर्ष अघि २०१८ जुलाईमा मलेसिया गएका थिए। विपन्न परिवारका उनी साहुसँग ऋण गरेर मलेसियाको हेप्सन कम्पनीको सेलर मिलमा काम गर्न गएका थिए। गत पुस ८ गते राति १२ बजेसम्म आफनी श्रीमती सुखी देवीसँग फोनमा कुराकानी गरेका उनै वीरेन्द्रको भोलिपल्ट बिहान ४ बजे मृत्यु भएको खबर आयो। खबर उनका साथीले सुनाएका थिए।

उनको मृत्युपछि शवको पोष्टमार्टम गरियो। रिपोर्टमा मादक पदार्थ सेवनबाट मृत्यु भएको उल्लेख छ। तर, उनको मृत्यु मदिरा सेवनबाट नभएको परिवारको दाबी छ। उनका साडुभाइ राम प्रवेश पटेलले वीरेन्द्रको मृत्यु कुटपिटबाट भएको शंका गरेका छन्। श्रीमतीसँग राति फोनमा कुरा गर्दा मदिरा सेवन गरेको जस्तो कुनै हाउभाउन नभएको पटेलले बताए।

एक धुर पनि जमिन आफ्नो नाममा नभएका वीरेन्द्र वैदेशिक रोजगारीबाट कमाएको रकमले जग्गा किनेर घर बनाउने योजनामा विदेश गएको उनकी श्रीमती सुखी देवीले बताउँछिन्। पति शोकमा रहेकी सुखी देवीले आफ्ना तीन छोराको भविष्य अन्धकार भएको बताइन्। उनका १५, १२ र १० वर्षका छोरा छन्। नयाँ घरमा बस्ने सपना सबै चकनाचुर भएको र साहुको ऋण पनि बाँकी रहेको सुखी देवी बताउँछिन। 

वीरेन्द्रका ७० वर्षीय बुवा महेश्वर छोराको निधनले सबै सपना हावाहुरीले उडाएर लगे जस्तो भएको बताउँछन्। जेठो छोरो वीरेन्द्रले घरको आर्थिक अवस्था सबै धानेको र उनको मृत्युपछि अब चिन्ता बढेको उनले सुनाए।

वीरेन्द्रको शव माघ ११ गते घरमा ल्याइएको हो। एक महिनाभन्दा बढी समयपछि शव घर ल्याउन सफल भएको राम प्रवेश बताउँछन्। शव ल्याउन परिवारको ४० हजार रुपैयाँभन्दा बढी खर्च भएको उनको भनाइ छ। शव ११ गते नै हिन्दु धार्मिक परम्मपरा अनुसार बागमती नदीमा दाहसंस्कार गरिएको थियो।

शव घर आएको भए पनि मृतकका परिवारलाई सम्बन्धित कम्पनी तथा सरोकारवाला निकायले कुनै पनि किसिमको सहयोग नगरेको गुनासो छ। परिवारले पाउने सेवा सुविधा उपलब्ध गराइदिन सबैको सहयोगको अपेक्षा राखेको पटेलले बताए। वीरेन्द्र २०७२ सालमा पनि सोही कम्पनीमा काम गर्न गएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.