|

गोरखा : धार्चे गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी माघ १५ गतेदेखि २५ गतेसम्म धार्चे पर्यटन महोत्सव–२०७७ गर्ने भएको छ।

गाउँपालिकाभित्र रहेका पर्यटकीय सम्भावनालाई प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।

‘धार्चे प्रचुर पर्यटकीय सम्भावना बोकेको ठाउँ हो। यहाँको विकास र समृद्धि पर्यटनको क्षेत्रबाट नै गर्न सम्भव छ’, अध्यक्ष गुरुङले भने, ‘त्यसैले यहाँका पर्यटकीय गन्तव्यहरुलाई प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो।’

यस्तो छ महोत्सवको मुख्य आकर्षण

१५ गतेदेखि हुने १० दिने महोत्सवमा स्थानीय सांस्कृतिक कार्यक्रम प्रदर्शनी र विभिन्न साहसिक खेल हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार वडा नम्बर ३ तातोपानीबाट माछाखोलासम्म हुँदै खानेवेशी बगरसम्म र्‍याफ्टिङ संचालन हुनेछ।

वडा नम्वर ७ को नौलीखोलामा २० र १० मिटरको दुई खण्डमा क्यानोनिङ संचालन हुनेछ। वडा नम्वर ६ काशीगाउँ वेशीमा १५ र १२ मिटरको रक क्लाइम्बिङ संचालन हुनेछ। यस्तै खोर्लाबेसीको पुलमा ३० देखि ५० मिटर लामो जिप लाइन हुनेछ। 

बाह्य जिल्लाबाट आउनेलाई प्याकेजको व्यवस्था

​महोत्सव हेर्न गोरखाबाहेक अन्य जिल्लाबाट आउने आगन्तुकका लागि स्पेसल प्याकेज व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए। 

‘काठमाण्डौँ, पोखरा, चितवनजस्ता गोरखा बाहिरबाट यहाँ आउने पर्यटकका लागि प्रतिव्यक्ति ६ हजार ५०० रुपैयाँको प्याकेजमा निर्धारण गरेका छौँ। जसमा २ रात ३ दिनको आवास, खाना र सवारी तथा सबै खेलमा सहभागी हुन पाउने व्यवस्था मिलाएका छाैं’, अध्यक्ष गुरुङले भने। 

महोत्सव गर्न करिब १८ लाख खर्च लाग्ने अनुमान आयोजकको छ। दैनिक तीन सयदेखि पाँच सय दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको गुरुङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.