|

बर्दिया : रणनीतिक महत्वका हिसाबले अत्यन्तै व्यस्त पूर्व-पश्चिम राजमार्ग ! जहाँ दैनिक सयौँ साना ठुला सवारी साधनहरू आवतजावत गर्छन्।

तर, यो राजमार्ग पछिल्लो समय 'खाडलमार्ग' बनिसकेको छ। यात्रुहरूलाई यात्रा गर्न निकै सकस हुने गरेको छ। एउटा खाडल पार गर्न नपाउँदै अर्को खाडल आउने, अनि खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्नै डराउने अवस्था सिर्जना भएको थियो। 

राजमार्गको रम्भापुरदेखी कर्णाली चिसापानीसम्म यस्तै सयौँ साना-ठूला खाल्डाखुल्डी थिए। चुस्त र दुरुस्त राख्नुपर्ने राजमार्ग निकै समययता खाडलमार्गको हालतमा पुगेको थियो। तर, सरोकारवाला निकायले मर्मत-सम्भारमा चासो दिएको थिएन। 

सडक डिभिजन कार्यालयले महिनौंअघि नै मर्मत भइरहेको बताउने गरेको थियो, तर खाल्डामा माटो हाल्ने बाहेक अरू काम भएको देखिएको थिएन। अहिले भने सडक विभागले खाल्डाखुल्डी मर्मतको काम थालेको छ। बर्दियाको बासगढी क्षेत्रमा खाल्डाखुल्डी पर्ने काम सम्पन्न गरेको सडक विभागले अहिले भुरिगाउँ आसपासमा पनि सडक मर्मत थालेको छ।

 

खाल्डाखुल्डीका कारण सडक दुर्घटनाको जोखिम पनि बढेको भन्दै स्थानीयले पटक पटक खाल्डो पुर्न माग गर्दै आएका थिए। यसअघि खाल्डोमा ग्राभेल मात्रै हालेर टार्दै आएको सडक विभागले अहिले भने सडक भत्केका ठाउँमा कालोपत्रे गरिरहेको छ। 

कर्णाली चिसापानी क्षेत्रसम्म तत्काल खाल्डो मर्मत गरिने सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख हुम बहादुर एसीले बताए। अब छिट्टै नै स्थानीयले राजमार्गमा सुरक्षितसाथ यात्रा गर्न पाउने उनले बताए। 

स्थानीयले सडक मर्मत गर्न सडक विभागले लापरबाही गरिरहेको बताएपनि प्रमुख एसीले मौसम तथा नीतिगत कुराहरूका कारण मर्मतमा ढिलाई भएका बताए। अहिले भने तीव्र गतीमा सडक मर्मतको काम चलिरहेको उनले जानकारी दिएका छन्‌।

​बर्दियाको रम्भापुरदेखी भुरिगाउँ हुँदै कर्णाली चिसापानी खण्डमा पर्ने राजमार्गमा जताततै खाडल भएका कारण सवारीसाधन चलाउन निकै सकस पर्ने गरेको सवारी चालकहरूले बताउँदै आएका थिए। 

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सडक मर्मतको काम चाँडै सम्पन्न गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएकाले अब छिट्टै नै राजमार्गमा पहिलेको जसरी नै यात्रा गर्न सकिने बताए। 

निकुञ्ज क्षेत्रका सडक वरपर झाडी पन्छाउन शुरू

​सडक विभागले बर्दिया निकुञ्ज क्षेत्रमा सडकको दायाँ-बायाँ झाडी सफाइको काम समेत थालेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै गएको राजमार्गमा पछिल्लो समय वन्यजन्तुबाट आक्रमण जोखिम बढिरहेको छ।

अत्यन्तै व्यस्त राजमार्ग भएकाले मानिसहरू पनि उत्तिकै आवतजावत गर्ने र वन्यजन्तुको मुख्य बासस्थान, विशेष गरी पाटे बाघ ओहोरदोहोर गर्ने मुख्य थलो भएकाले राजमार्गको अम्रेनी चिसापानी खण्डमा वन्यजन्तुबाट आक्रमणका घटना बढिरहेको छ।

 

मानव र वन्यजन्तु दुबै जोखिममा रहेको भन्दै सडकको दायाँबायाँ झांगिएको झाडी सफाइको माग गरिएको थियो। अहिले सडक विभागले राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर सडकको दायाँबायाँ झाडी सरसफाई शुरू गरेको प्रमुख एसीले बताए। 

बर्दियाका सरोकारवालाले राजमार्ग क्षेत्रमा सडकको दायाँबायाँ ३१,३१ मिटर सरसफाई गर्न माग गरेका थिए। सडक विभागले भने तत्काल ३१,३१ मिटर सम्भव नभएको भन्दै अहिले १५,१५ मिटर दायाँबायाँ झाडी सफाई गरिने बताएको छ। 

१५,१५ मिटर मात्रै पनि सफाई गरिएको खण्डमा यात्रुले टाढैबाट जनावर आवत जावत गरिरहेको देख्न सक्ने र सावधानी अपनाउनसक्ने भएपछि मानव र वन्यजन्तु दुबै जोखिमबाट बच्न सक्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.