|

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन्। ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार भन्सार विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले न्यून विजकीकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने बताएका हुन्।

यस्तै, निजी क्षेत्रका जायज समस्यालाई भन्सार प्रशासनले समाधान गर्न सहयोग गर्नुपर्ने पनि बताए। निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै दुईमध्ये एक नहुँदा भन्सार प्रणाली नै नरहने मन्त्री पौडेलको भनाइ छ। भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया अगाडि बढाई प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा पनि उनले जोड दिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कुनै पनि वस्तुको भन्सार मूल्यांकन र वर्गीकरणको समस्या छिटो समाधान हुनुपर्ने माग गरे। यस्तै, तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा दुई तहको फरक हुने व्यवस्था गर्न समेत माग गरे। भन्सार प्रणालीलाई सधुार गर्न पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिन समेत आग्रह गरे।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व व्यापार संगठनको सिद्धान्तअनुसार भन्सार प्रशासनले वस्तुको कारोबार मूल्यलाई परिवर्तन गर्न नपाउने बताए। त्यसैले कारोबार मूल्यमा नै भन्सार पास गर्ने व्यवस्था मिलाउन माग गरे।

भन्सार प्रशासनले व्यवसायीहरुलाई विश्वास गर्न नसक्दा बस्तुको मूल्यांकन र वर्गीकरणमा समस्या हुने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ। यस्तै, भ्याटको दर, आयकरको दर लगायतका करदका दरहरु घटाउन समेत माग गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.