चितवन राष्ट्रिय निकुञ्ज लचिलो, गम्भीर असर पार्ने पुलको काम भने रोकिने

|

चितवन : जिल्लाको माडी नगरपालिकामा निर्माणाधीन ११ पुलको निर्माणका विषयमा चितवन राष्ट्रिय निकुञ्ज लचिलो बनेको छ।

भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत माडीमा पर्ने पुलहरूको वातावरणीय प्रभाव मूल्याकंन (इआइए) नभएको भन्दै निकुञ्जले पुलहरूको निर्माण कार्य रोकेको थियो।

माडीबासीको व्यापक विरोध र सर्वपक्षीय छलफलपछि पुल निर्माणमा निकुञ्ज लचिलो बनेको हो। 

इआइए नभएका एक सय मिटरभन्दा लामा पुलहरूको निर्माण कार्य रोक्ने र साना प्रकृतिका पुलहरूको इआइए प्रक्रियालाई बढाउँदै निर्माण कार्य सुचारु गर्ने सर्वपक्षीय निर्णय भएको छ।

निर्माणाधीन ११ पुलमध्ये तीन वटाको इआइए भइसकेको छ। आठ वटाको भने बाँकी छ। ५ वटा प्रक्रयामा छन्। तीन वटाको प्रक्रिया नै सुरु भएको छैन। इआइए हुन बाँकी रिउ खोलाको पुलको निर्माणमा तत्कालका लागि रोक लगाइएको छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले इआइए नभएका पुलहरूको स्थलगत अध्ययन गरी गम्भीर खालको असर पार्ने पुलको निर्माण कार्य तत्काल सुरु नगर्ने निर्णय भएको बताए।

माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले भने, ‘सय मिटरभन्दा साना प्रकृतिका पुलहरूको साधारण वातावरणीय मूल्याकंन पनि हुँदै गर्छ। काम पनि हुँदै गर्छ’, उनले भने। इआइए नभएका सय मिटर भन्दा लामा तीन वटा पुल निर्माणाधीन अवस्थामा छन्।

२५५ मिटर लम्बाइ भएको रिउ खोलाको पुलले गम्भीर प्रकृतिको असर पार्ने देखिएकाले तत्कालका लागि रोक्ने निर्णय भएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय वीरगन्जका सूचना अधिकारी इन्जिनियर सञ्जय ठाकुरले बताए।​

इआइए नभएका र सय मिटर भन्दा लामा बगई र घाँघर खोला पुलको स्थलगत अध्ययन गरेर रोक्ने/नरोक्ने निर्णय हुने उनले बताए। निर्माणाधीन पुलहरूमा कुनै पुलको पनि भौतिक प्रगति ५५ प्रतिशत नाघेको छैन। माडीमा ६९ करोड २३ लाख ७८ हजार ३९७ रूपैयाँ लागतमा ११ वटा पुल निर्माण हुँदै छन्। 

सबै पुलको म्याद सकिँदै 

आगामी फागुन ६ गते निर्माणाधीन सबै पुलको म्याद सकिँदै छ। म्याद थपका लागि निर्माण व्यवसायीहरूले प्रस्ताव ल्याएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय वीरगन्जका सूचना अधिकारी इन्जिनियर सञ्जय ठाकुरले बताए। 

बाँदरमुढे र पतरी खोला पुलको म्याद सकिसकेको छ। ‘लकडाउनका कारण सबैको ६ महिना म्याद थपिन्छ’, उनले भने, ‘फागुन ६ गते सबैको म्याद सकिँदै छ। म्याद थपका लागि फाइलहरू विभागमा पठाइरहेका छौँ।’ पुल निर्माणपछि माडीमा विकासको गतिले तीव्रता पाउने विश्वास लिइएको छ। निकुञ्जका कारण माडी विकासका हिसावले पछाडि परेको छ।

पुरानो निकुञ्ज ऐनका कारण माडीमा हरेक विकास निर्माणका गतिविधिमा निकुञ्ज बाधक बन्दै आएको छ। निर्वाचनको बेला प्रधानमन्त्री केपी ओलीले नेकपा अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको माडी आएर माडीलाई 'मणि' बनाउने प्रतिबद्धता जनाएका थिए।

तर हालसम्म निकुञ्ज ऐन संशोधन नहुँदा माडीबासी निकुञ्जको बाटो भएर २४ सै घण्टा जिल्ला सदरमुकाम भरतपुर आऊजाऊ गर्न सक्ने स्थिति छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.