|

लमजुङ : लमजुङका ९४० भूकम्प पीडित निजी आवास लाभग्राही सूचीबाट हटाइएको छ। राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणले लाभग्राहीको सूचीमा परेर पनि मंसिर मसान्तसम्म अनुदान सम्झौता नगरेका र अनुदान सम्झौता गरेर पनि पुस १५ सम्म पहिलो किस्ता नलिएका पीडितको नाम स्वतः लाभग्राही सूूचीबाट हट्ने निर्णय गरेसँगै उनीहरु सूचीबाट हटाइएको हो।

सूचीबाट हटेकामध्ये पूर्ण क्षतितर्फ ६१२ जना र आशिंक क्षति तथा प्रबलीकरणतर्फका ३२२ जना रहेका थिए। उनीहरुले तोकिएको मितिसिम्म सम्झौता नगरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई लमजुुङका प्रमुख सूर्यप्रसाद शर्माले बताए। त्यस्तै, ६ जना लाभग्राहीले भने अनुदान सम्झौता गरेर पनि पहिलो किस्ताको रकम नलिएको शर्माले बताए। 

लमजुङमा पूर्ण क्षति र मर्मत सम्भार अर्थात् प्रवलीकरण गरी कुल १५ हजार ५४३ भूकम्प पीडित लाभग्राहीको सूचीमा परेको थिए। जसमध्ये हालसम्म १४ हजार ६०३ जनाले अनुदान सम्झौता गरी पहिलो किस्ता भुक्तानी लिएका छन्।

पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि २०७७ मंसिर मसान्तभित्र अनुदान सम्झौता सम्पन्न गरी पुस १५ सम्म पहिलो किस्ता भुक्तानी लिइसक्नुपर्ने समय सीमा तोकेको थियो। त्यस्तै, दोस्रो किस्ता भुक्तानीका लागि लाभग्राहीले स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिने अन्तिम समय २०७७ माघ मसान्तसम्म कायम भएको छ।

अन्तिम किस्ता भुक्तानीका लागि भने निवेदन दिने मिति २०७८ वैशाख मसान्तसम्म र रकम भुक्तानीका लागि २०७८ जेठ मसान्तसम्म समय सीमा तोकिएको छ। पछिल्लो पटक थपिएको समय अवधिमा पनि अनुदान सम्झौता नगर्ने लाभग्राही सूचिवाट हट्ने र अव अवधि थप नहुने प्राधिकरणले जनाएको छ।

यस्तै, लमजुङका १७ भूकम्प पीडितले भने अनुदान रकम फिर्ता गरेका छन्। पुनर्निर्माणका लागि अनुदान रकम लिए पनि घर निर्माण नगरेपछि रकम फिर्ता गरेका हुन्। शाखाका अनुसार दोश्रो किस्ता लिएका दुईजना र पहिलो किस्ता लिएका १५ जनाले रकम फिर्ता गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.