|

सुर्खेत : कर्णाली प्रदेशका १२ वटा अस्पतालबाट कोरोनाविरुद्धको खोप दिइने भएको छ। आठ जिल्ला अस्पताल, दुई सामुदायिक अस्पताल, एउटा शिक्षण अस्पताल र एउटा प्रदेश अस्पताल गरी १२ वटा अस्पतालबाट खोप दिइने कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार खोपका लागि मुगु, कालीकोट, हुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम, सल्यान र दैलेखका जिल्ला अस्पतालाई छनोट गरिएको छ। यसैगरी प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला, चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिम र मेहलकुना सामुदायिक अस्पताल सुर्खेतबाट कोरोनाविरुद्धको खोप दिइने प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले जानकारी दिए।

संघीय सरकारले ११ हजार ७८० डोज खोप कर्णाली प्रदेशका लागि पठाएको छ। सुर्खेतमा सबभन्दा बढी अर्थात् दुई हजार ७८१, दैलेखमा दुई हजार, जुम्लामा एक हजार ७०२, कालीकोटमा एक हजार २१, जाजरकोटमा एक हजार १०५, सल्यानमा एक हजार १२३, मुगुमा ५४७, डोल्पामा ५११, रुकुम पश्चिममा ५०० र हुम्लामा ४५० डोज खोप पहिलो चरणमा दिने तयारी भएको निर्देशनालयले जनाएको छ।

कर्णालीमा दोस्रो चरणका लागि करिब २४ हजार डोज खोप माग गरिएको छ। पहिलो चरणमा बुधबारदेखि १० दिनभित्र खोप लगाइसक्न कर्णाली स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.