|

भद्रपुर (झापा) : भद्रपुर भन्सार कार्यालयलाई बदनाम गराउने खालका गतिविधि तुरुन्त बन्द हुनुपर्ने व्यवसायीहरूले जोड माग गरेका छन्।

६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार भद्रपुर भन्सार कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका कारण भद्रपुर भन्सार कार्यालयलाई पटक पटक विवादको घेरामा ल्याउने काम गरिँदै आएको बताएका छन्। भन्सारलाई बदनाम गराउने छुट कसैलाई नभएको र त्यस्ता गतिविधिहरू तुरुन्त बन्द गराउन उनीहरूले भन्सार प्रशासन पक्षसँग आग्रह गरेका छन्।

झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले कर्मचारी प्रशासन वा व्यवसायी कसैलाई पनि भन्सारलाई बदनाम गराउने छुट नभएको बताए। ‘सुरुमा भन्सारलाई खुकुलो बनाई त्यस्ता गतिविधिलाई प्रशय दिँदै जाँदा भन्सारमा काम गर्न आउने इमानदार व्यवसायीहरू पलायन हुने अवस्था सृजना भएको छ,’ अध्यक्ष पनेरुले भने, ‘यस्ता घटनाले गर्दा अहिले भन्सार कर्मचारी, सुरक्षाकर्मी र उद्योगी–व्यवसायीहरू बदनाम हुँदैछ, भन्सारले नै त्यस्ता गतिविधिलाई रोक लगाएमा कोही पनि बदनामको भागिदार हुनु पर्दैन।’

नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले व्यवसायीले भन्सारभित्र गर्ने गलत क्रियाकलाप रोक्नु पर्नेमा जोड दिए। गलत क्रियाकलापकै कारण उद्योगी व्यवसायीहरूलाई सडकमा प्रहरी प्रशासनले दुःख दिने गरेको बताउँदै झापा उद्योग संघका अध्यक्ष समेत रहेका ढकालले भने, ‘यस विषयमा तपाईंहरु आफै गम्भीर बन्नुपर्छ, प्रहरी प्रशासनले सडकमा सामान समात्यो भन्दै हामी कहाँ आउनु हुन्छ, हामीले केही गरेनौँ भनेर भन्नुहुन्छ रु गर्नुहुन्छ गलत क्रियाकलाप अनि हामीले त्यस विषयमा बोल्दा उल्टै कुरा सुन्नु पर्छ।’

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भद्रपुर भन्सारभित्रको विकृतिहरू बाहिर आएकमले यस विषयमा आफू गम्भीर रहेको बताए। भन्सार कर्मचारीको इमानदारी र निष्ठा अत्यन्त महत्त्वपूर्ण हुनुपर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले भन्सारमा काम गर्न आउने व्यवसायीलमई पनि इमानदारी पूर्वक आफ्नो भूमिका निर्वाह गरी कानुनको पालना गर्न आग्रह गरे।

कार्यक्रममा भन्सार विभागले भद्रपुर भन्सारमा कार्यरत कम्प्युटर अपरेटर जगदीश्वर काफ्ले र रविलाल सिंह राजवंशीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.