|

काठमाडौं : पार्टी एकताको रक्षाका लागि भन्दै सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै छन्। 

ललितपुरको धोविघाटमा रहेकाे सिदार्थ कटेजमा विहान  ११ बजे एकता अभियानको घोषणा गर्न लागेका गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए।  नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अलग-अलग समूह बनाए पनि गौतम मौन बस्दै आएका छन्।  गौतमले आज पार्टी एकता रक्षाका लागि नेतृत्वलाई दवाव दिने उद्देश्यले एकता अभियान घोषणा गर्न लागेका हुन्। 

पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै गौतमको सचिवालयले त्यही माग र चाहनालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गर्न लागिएको जनाएको छ।  पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत एकतावद्ध गर्ने उद्देश्य राखिएको छ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि सत्तारुढ नेकपा दुईवटा चिरामा विभक्त भएको छ। गौतमले भने आफ्नो पक्षधरता प्रष्ट पारेका थिएनन्।  एकता अभियानका संयोजकमा गौतम, सहसयोजकमा हरि पराजुली र सचिवमा बाबुराम थापा रहेका छन्।  एकता अभियानसँगै नेता गौतमले लेखेको ‘जनताको बहुदलीय जनवाद’ (तुलनात्मक अध्ययन), ‘२१‍औं शताब्दीको कम्युनिष्ट पार्टी’, ‘नेपाली जनताको समृद्धिको कार्यक्रम र बहुदलीय समाजवाद’ नामक तीन पुस्तक  सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। 

अभियान घोषणाको दिन ५१ केन्द्रीय सदस्य र १७५ कार्यसम्पादन समिति घोषणा गरिनेछ। उनले आफ्नो दुवै पक्षका ठूला नेताको साथ आफूलाई नभए पनि साना नेता भने साथ रहेको स्पष्ट पारे। उपाध्यक्ष गौतमले नेकपाको अन्तरिम विधानमा पनि सहमतिमै पार्टी चल्ने भएकाले कसैको इच्छा लाग्दैमा पार्टी फुटाउन नपाइने बताउँदै आएका छन्। 

उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो समूहमा आउन बोलाइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.