|

काभ्रे : प्रतिबन्धित लागुऔषध कारोबारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएको पाइएको छ। कोरोना भाइरसको सन्त्रासपछि करिब एक वर्ष रोकिएको लागुऔषध तस्करी पुनः सक्रिय भएको हालैको घटनाले पनि पुष्टि गरेको छ।

गत साल फागुन दोस्रो सातायता कुनै लागुऔषध तस्करीका घटना बाहिर आएनन् तर गत सोमबार मात्रै प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ तथा लागुऔषध इन्जेक्सनसहित दुई जनालाई विपी राजमार्गस्थित इलाका प्रहरी कार्यालय मङ्गलटारले पक्राउ गर्‍यो।

काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–३ का १९ वर्षीय शम्शेर घिसिङ र सुनसरीको धरान उपमहानगरपालिका–२ का २७ वर्षीय अजित कामतलाई पूर्वबाट विपी राजमार्ग हुँदै काठमाडौँ आइरहेको अवस्थामा मङ्गलटारमा सवारी जाँचका क्रममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट ‘नाइट्राभेट–१०’नामक लागुऔषध २८ पत्ता ९८४० ट्याब्लेट०, डाइजापान इन्जेक्सन १० थान, बुप्रिनोर्फिन १० थान, फोनारागन १० थान बरामद भएको मङ्गलटार प्रहरीले जनाएको छ। हाल घिसिङ र कामतलाई प्रहरीले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

काभ्रेपलाञ्चोक प्रहरी एक वर्षपछि नेपालमा प्रतिबन्धित औषधि बरामद गर्न पुनः सफल भएको हो। यस घटनाले लागुऔषध कारोबारी पुनः सक्रिय भएको थापाले बताए। उनले कारोबारीको खोजीकार्य तीव्ररूपमा गरिने बताए। 'घटनाले एक वर्षपछि कारोबारी पुनः सक्रिय भएको देखिन्छ, अब हामी विशेष निगरानी गर्छौं', उनले भने।

प्रहरीले गत वर्ष फागुन दोस्रो साता पनौती नगरपालिका–६ स्थित एक घरबाट लुकाइछिपाई राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गरेको थियो। उक्त घरमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा तिमल्सिनाको कोठाबाट बिक्री वितरणका लागि दराजमा कपडाले बेरेर राखेको अवस्थामा उक्त परिमाणमा ट्याब्लेट बरामद गरी तिमल्सिनालाई प्रहरीले पक्राउ गर्‍यो।

त्यसको केही महिनाअघि विराटनगरबाट विपी राजमार्ग हुँदै बनेपा आउँदै गरेको गाडीमा खानतलासी गर्दा सुनसरीको गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहेता र भारतको कानपुरस्थित युपीका २१ वर्षीय मनोजकुमार मेहेतालाई ५० पत्ता ९७५० चक्की० नाइट्राभेट–१० औषधिसहित पक्राउ गरी लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलायो।

सोही हप्ता आसपास इलाका प्रहरी कार्यालय बनेपाले पनि सुराकीकै आधारमा नाइट्राभेट–१० नामक औषधिको ८२ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट सात जनालाई पक्राउ गर्‍यो। बनेपा नपा–१३ स्थित साँगाबाट ५० पत्ता ९एक हजार ५१४ चक्की० बोकेका तनहुँको शुक्लागण्डकी नपा–१ का २४ वर्षीय उत्तम कार्की र खोटाङको चिउरीडाँडाका २५ वर्षीय आशीष थापालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको थियो।

प्रहरीले कार्की र थापाको वयानकै आधारमा गत साल पुस १७ गते राति अरनिको राजमार्गको साँगा बनेपा–१३ मै काठमाडौँबाट बनेपातर्फ मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१५ का २३ वर्षीय प्रशिल थापा क्षेत्री र मोरङ सुनबर्सी नपा–६ घर भएका ३६ वर्षीय देवकुमार राजवंशीलाई झोलामा लुकाएको २५ पत्ता लागुऔषधसहित पक्राउ गर्‍यो।

सोही राति नै बनेपा नपा–८ चाँदनीचोकबाट बनेपा नपा–१० जनागालका २३ वर्षीय सविन हुमागाईँ, महोत्तरी जिल्ला लक्ष्मीनिया गाउँपालिका–३ का ४० वर्षीय लालबाबु मण्डल र २४ वर्षीय अजय साहलाई सात पत्ता नाइट्राभेट–१० सहित पक्राउ गरेको जनायो। प्रहरीले ती घटनामा सुराकीको भरमा मात्रै जाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गरेको पाइयो।

प्रहरी प्रतिवेदनका अनुसार विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास)_बाट लागुऔषध ओसारपसार हुने गरेको छ। प्रहरीको तथ्याङ्कअनुसार विशेषगरी ‘टिनएजर्स’ यसको तस्करी र प्रयोकर्ताका रूपमा देखिएको छ। तराई क्षेत्रबाट विपी राजमार्ग हुँदै लागुऔषध तस्करी आउने क्रममा प्रहरीले घटना विवरणअनुसार लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोक बनाएको देखिन्छ। एक वर्षपछि मात्रै लागुऔषध बरामद हुनुले प्रहरीले नियमित जाँचमा सक्रिय नभएकाले कारोवार फस्टाउँदै गएको आशङ्कासमेत पैदा भएको छ।

पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रूपमा रहेको विपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले बताए। यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका शहर तथा काठमाडौँमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेषगरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको वयान दिएको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट प्रतिचक्की एक हजारदेखि एक हजार ५०० रुपैयाँ सम्ममा बिक्री हुने गरेको खुलेको छ। नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ।

छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो। प्रहरीको तथ्याङ्कअनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३४ मुद्दा दर्ता भएका छन्। ती मुद्दामा ६३ जना पक्राउ परेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.