|

चितवन : मूल्य सूची नराख्ने नारायणगढका नौवटा पसलहरुलाई तीन लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको छ। मूल्य सूची नराख्ने सातवटा पसललाई ५० हजार र दुईवटा पसललाई २० हजार रुपैयाँका दरले जरिवाना गरिएको हो।

थोक पसलहरुले मूल्य सूची नराखेको भन्ने उजुरीका आधारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेश र जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार संयुक्त रुपमा नारायणगढका प्लाष्टिक, कपडा तथा किराना पसलहरुको अनुगमन गरेको थियो।

अनुगमन गरिएका नौवटा पसलमा मूल्य सूची राखेको नपाइएको जिल्ला प्रशासन कार्यालय चितवनका अनुगमन प्रतिनिधि खरिदार आदर्श अधिकारीले जानकारी दिए। उनका अनुसार नारायणगढका विनोद एण्ड डिला इम्पोरियम, चितवन पर्दा हाउस, पलमी इन्जिनियरिङ इन्टरप्राइजेज, गुप्ता धागो स्टोर्स र एएस ट्रेडर्स चुरा कस्मेटिक पसललाई ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ।

त्यस्तै, श्रेष्ठ कन्सर्न प्रालि र नेशनल ट्रेड विजनेशलाई ५० हजार र एचएस ट्रेडर्स र भरतपुर–१० स्थित ओम साइराम प्लाष्टिक सप्लायर्सलाई २० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। केही सामानको मात्रै मूल्य सूची राखेका दुई पसललाई २० हजार रुपैयाँका दरले जरिवाना गरिएको अधिकारीले बताए। विनोद एण्ड डिला इम्पोरियमले व्यवसाय दर्ताको कागजपत्र देखाउन नसकेको र नेशनल ट्रेड विजनेशले खाद्य सामग्रीहरुमा लेबल नराखेको पाइएको छ। उपभोक्ताहरुलाई ठग्ने नियतले नै मूल्य सूची नराख्ने गरेको पाइएपछि त्यस्ता पसल सञ्चालकलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

जरिवाना बापतको रकम वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको वाणिज्य बैंकमा रहेको खातामा सात दिनभित्र दाखिला गरी त्यसको भौचर लिएर आउन निर्देशन दिइएको छ। साथै, सात दिनभित्रै मूल्य सूची राख्न पनि भनिएको छ।

बेकरीको उत्पादनमा रोक

फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै नारायणगढको शिव बेकरीको उत्पादन तथा विक्री वितरणमा रोक लगाइएको छ। खाद्य बस्तुको उत्पादन र बिक्री वितरण गर्दा सरसफाईको मापदण्डलाई पालना गरेको नपाइएकाले उत्पादनमा रोक लगाइएको खरिदार अधिकारीले बताए।

मंगलबार अनुगमन गरिएका सबै पसलहरुमा सात दिनपछि पुनः अनुगमन गरिने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.