|

काठमाडौ : प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुरु भएको छ।  

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानीको पूजा र व्रत हिन्दु महिलाहरुको विशेष पर्व हो।  बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

स्वस्थानी देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने धार्मिक विश्वास छ। दक्ष प्रजापतीकी छोरी सतिदेवीले महादेव पति पाउँ भनि स्वस्थानीको कठोर व्रत गरेको र सोही व्रतको फल प्राप्त भइ महादेव पति पाएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ।

यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्ने गरेको छ।  यस वर्ष कोरोना महामारीका कारण माधनारायण मेला नगरी व्रतमात्र गर्ने गरी तयारी गरिएको छ। विगत वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितार्थ राखिएको छ। 

महिला ३५ र पुरुष १४ गरी ४९ जना  व्रतमा सहभागी भएर परम्परादेखिको संस्कृति संरक्षण गर्ने  माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्दकाजी श्रेष्ठले जानकारी दिए। 

कोरोनाका कारण यस वर्ष वर्तालुलाई एउटै घरमा राख्ने व्यवस्था गरिएको पनि समितिले जनाएको छ। सबै वर्तालुको कोरोना एण्टिजेन परीक्षण गरिएकामा सबैको नेगेटिभ रिपोर्ट आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.