|

काठमाडौं : सर्वोच्च अदालतमा दर्ता भएका अवहेलना मुद्दाको सुनुवाइ आज हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्व-प्रधानन्यायाधीश र पूर्व-सभामुख दमननाथ ढुंगानाविरुद्ध परेका पाँच वटा अवहेलना मुद्दाको सुनुवाइ आज हुने भएको हो।

ती पाँच वटै मुद्दाको पेशी लागि तोकिएको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुईवटा र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध एउटा मुद्दा दर्ता भएको थियो। वरिष्ठ अधिवक्ता डाक्टर कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्ध छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए। मंगलबार नै  पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट दर्ता गराएका हुन्। 

बुधबार अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्व-प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशीला कार्की र अनुपराज शर्माविरुद्ध छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए। आज यी सबै मुद्दा डाक्टर मनोजकुमार शर्माको इजलासमा तोकिएको छ। 

गत पुस २४ गते पूर्व-प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति निकालेर प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको बताएका थिए। 

अधिवक्ताद्वय भट्टराई र बस्नेतको बुधबार दर्ता भएको निवेदनमा चार पूर्व-प्रधानन्यायाधीशले अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर अदालतको अवहेलना गरेको दाबी गरिएको छ।

प्रधानमन्त्री ओलीले माघ नौ गते सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा बहस पैरवी गरिरहेका कानून व्यवसायीमाथि व्यंग्य गरेका थिए। प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने कुनै ठाउँ नभए पनि वकिलहरूले कुरा फिटेका फिट्यै छन्, बाजे वकिललाई तमासा देखाउन लगेछन् भन्ने टिप्पणी गरेका थिए। 

यस्तै, पूर्व-सभामुख दमननाथ ढुंगानाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतले सदर गरिदिए अदालतबाटै न्यायाधीशहरुलाई थुत्‍न सक्ने अवस्था आउने बताएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.