‘पदका लागि अभियान चलाउनु नौटंकी’

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको राजनीति रोचक मोडमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजित बन्न पुग्यो। 

संसद विघटनपछि प्रधानमन्त्री ओली, अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको शक्ति संघर्ष चलिरहेको बेलामा उपाध्यक्ष वामदेव गौतम अर्को शक्तिको रुपमा देखा पर्न खोजेका छन्। 

पार्टीभित्र अस्थिर चरित्रको रुपमा परिचित गौतमले पार्टी पूर्णरुपमा दुई धारमा विभाजित भइसकेको अवस्थामा पार्टी एकता गर्ने लक्ष्यका साथ पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन्। 

पार्टीभित्रको विवादको क्रममा जहिल्यै पनि चर्चामा रहने गौतमले एकता अभियान घोषणा गरेको अर्को चर्चाको बिषय बनिरहेको छ। यसअघि दुई अध्यक्षबीचको विवादका क्रममा पनि गौतम अध्यक्ष दाहाल खेमामा उभिएका थिए। तर, प्रधानमन्त्री ओलीले कहिले प्रधानमन्त्री त कहिले पार्टी अध्यक्षको आश्वासन दिएपछि प्रधानमन्त्री ओलीलाई फाइदा पुग्नेगरी उनले ६ बुँदे प्रस्ताव ल्याएका थिए। 

यद्यपी, यसअघिको विवादको क्रममा उपाध्यक्ष गौतमकै प्रस्तावपछि विवाद समाधान गर्न सफल रह्यो। 

भदौ २६ पछि नेकपामा उत्पन्न विवादमा पनि उपाध्यक्ष गौतम अध्यक्ष दाहाल पक्षमै उभिएका थिए। तर, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री/पार्टी अध्यक्ष दिने प्रस्ताव फ्याँकेपछि उनी मध्यमार्गी भूमिकामा रहेर तटस्थ बसे। र, अहिले पार्टी एकताको घोषणा अभियान सुरु गरेका छन्।

उनले के भने? 

नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पक्षमा नआए केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैजना सेनाबिनाका कमान्डर जस्तै हुने टिप्पणी गरेका छन्। औपचारिकरुपमा नेकपा एकताको राष्ट्रिय अभियान सुरु गर्दै उपाध्यक्ष गौतमले यस्तो बताएका हुन्। 

पार्टी एकताको सम्भावना देखेकै कारणले आफूले एकता अभियान चलाएको पनि उनले बताए। ‘दुईतिर फर्केका ओली–प्रचण्ड दुवैलाई मिलाउँछु। त्यसका लागि जनताले साथ दिन्छन्’ उनले भने, ‘पार्टी एकताको पक्षमा आएनन् भने ओली–प्रचण्ड सेना बिनाको सैनिक जस्तै हुन्छन्। अर्को धारमा हामी हुन्छौँ हाम्रो पक्षमा जनता आउँछन्।’

कार्यक्रममा उपाध्यक्ष गौतमले अध्यक्ष प्रचण्ड एकताका पक्षमा देखिएका भए पनि प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकताको पक्षमा कहिल्यै नभएको आरोप लगाएका छन्।

‘अध्यक्ष प्रचण्ड समूहलाई पार्टी एकताको पक्षमा संसद पुनःस्थापना भयो भने ल्याउन सकिन्छ। तर, केपी ओली एकताको पक्षमा कहिल्यै थिएनन्, उनले भने, ‘सर्वोच्चले जस्तो निर्णय गरे पनि हामी एकताको अभियानमै हुन्छौँ।’

सर्वोच्च अदालतमा पुगेको विषयलाई सडक आन्दोलन गरेर दबाब दिन नहुने उनको तर्क छ। ‘सर्वोच्चले के निर्णय गर्छ भनेर हामी दबाब दिने पक्षमा छैनौँ’ उनले भने, ‘ओली प्रचण्डले जसरी हामी संविधानसम्मत जुन निर्णय गर्छन्। त्यसलाई हामीले मान्नुपर्छ।’ 

जनताको बहुदलीय जनवाद मानेर एकता अभियान चलाएको उनले बताए। ‘पार्टी विभाजनको अनुभव लिएर मार्क्‍सवाद पार्टी निर्माण हुन्छ। यसले समाजवाद निर्माण गरेर देखाउँछ’ उनले भने, ‘हामीले फुटेर गएकालाई देखाउनैपर्छ।’

पार्टी फुटेकै छैन!

नेकपा पूर्ण रुपमा विभाजित बनिसक्दा समेत विघटित प्रतिनिधिसभा संसदीय दलका उपनेता सुवास नेम्वाङ पार्टी नफुटेकाे दाबी गर्छन्।

‘एकताको प्रयास गर्नु राम्रो हो। अन्यथा लिनुपर्ने कुनै कारण छैन। पार्टीभित्र रहेर सबैलाई एकताबद्ध गर्नु उपयुक्त नै हुन्छ। हामी दुई धारमा भएका छैनौँ’ उनले थाहाखबरसँग भने, ‘हामीले कसैलाई कारबाही गरेका छैनाैं। हाम्रो प्रथम अध्यक्ष ओली, दोस्रो अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव बिष्णु पौडेल नै हुनुहुन्छ।’

पार्टीले अहिलेसम्म कसैलाई कारबाही नगरेको उनले बताए। ‘निर्वाचन आयोगलाई पनि त्यही भनेका हौँ’ उनले भने, ‘आयोगले पनि त्यसैको आधारमा अविभाजित नेकपा नै आधिकारिक भएको भनेर पत्र पठाएको छ। अहिले हामी एकताबद्ध गराएर धेरैलाई समेट्न चाहान्छौँ।’

उनले पार्टीभित्र एक अर्कालाई गालिगलाैजमा नउत्रिन आग्रह समेत गरे। उनले भने ‘अर्को कुरा एकअर्कालाई गालिगलाैज गर्ने कसले भन्ने भनेर सोध्नुभयो भने मलाई थाहा छैन भन्छु। तर, कसैले गाली गर्नु हुदैन। एकता अभियान थाल्नु राम्रो हो। पार्टीभित्र रहेर अविभाजित पार्टीभित्र रहेर एकता अभियान चलाउदा कस्तो होला?’ 

वामदेवकै कारण विभाजन !

उपाध्यक्ष गौतमले पार्टी एकताको अभियान चलाएको भएपनि उनको चरित्रमा प्रश्न उठ्ने ठाउँ रहेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेल बताउँछन्।

‘एकताको कुरा राम्रो हो। तर, उहाँले नै पहिले बिगार्नुभयो। पहिल्यै एकताको अभियान उभिएको भए समस्या आउने नै थिएन। उहाँले नै कित्ता परिर्वतन गरेर पार्टीमा समस्या थप्नुभएको हो’ गजुरेलले भने, ‘उहाँको व्यक्तिगत इच्छाको कारणले नै पार्टी फुटेको हो।’

उनले वामदेवको दोहोरो चरित्रको कारणले नै पार्टी विभाजित भएको आरोप लगाए। ‘एकता अभियान राख्नुभएको राम्रो हो। तर, उहाँको चरित्र राम्रो भएको भए अहिलेको अवस्था आउने थिएन’ उनले भने, ‘कहिले प्रधानमन्त्री बन्छु भनेर लाग्ने कहिले अध्यक्ष बन्छु भन्ने?’ 

आफ्नो व्यक्तिगत स्वार्थको लागि मान्छे संकलन गरेर जता शक्ति र फाइदा पुग्छ त्यता जान खोज्नुभएको उनले बताए। ‘पद जहाँ पाइन्छ त्यही लाग्ने भएपछि कसरी हुन्छ पार्टी एकता? उहाँले जबज लाईन भन्नुभएको छ। पार्टी एकताको लाइन कहाँ जबज हो ? पार्टी सहमतिको लाईन त्यो होइन’ उनले भने, ‘उहाँको अभियान भनेको व्यक्तिगत स्वार्थमा मात्रै केन्द्रीत छ।’ 

'अब एकता सम्भव छैन'

उपाध्यक्ष गौतमले चलाएको एकता अभियान कुनै हालतमा सम्भव नभएको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्।  

‘केपी ओली अब कमरेड होइनन्, तानाशाह भइसके यस्तो अवस्थामा पार्टी एकताको आधार के? एकता हुनलाई कम्युनिस्ट आचार, सिद्धान्त र विचार बोक्नुपर्छ। ओलीमा केही छैन’ उनले भनिन्, ‘लोकतन्त्र र गणतन्त्रमाथि प्रहार गरेको छ। संविधान च्यातेको छ। चलिरहेको संसद बन्द गरेर विघटन गरेको छ। यस्तो निरङ्कुशतासँग कसरी एकता गर्ने? भनेर मात्रै  हुन्छ? त्यो सम्भव छैन।’

उनले अहिले चलिरहेको लडाइँ पदको लागि नभएको जिकिर पनि गरिन्। ‘हामी पदको लागि होइन, विधि र पद्धतिको लागि लडिरहेका छौं' उनले भनिन्, ‘ओलीले पार्टीलाई कम्युनिस्ट विचार र राजनीतिबाट शुन्य बनाए। बहस छलफल हुन नसकेपछि कम्युनिस्ट पार्टी रहेन। उहाँले पार्टी फुटाउनुभयो।’ 

उपाध्यक्ष गौतमले पदको लोभ राखेर नै पार्टी एकता गरेको उनी दाबी गर्छिन्। ‘उहाँको कार्यप्रति सन्तुष्ट रहने ठाउँ छैन। उहाँले नै लोभ राख्नुभएको छ। उहाँले स्पष्ट अडान राख्न सक्नुभएन’ उनले भनिन्, ‘वामदेवको अभियानले मान्छेलाई भ्रममा राख्छ। एकता किन? कसको लागि ? भन्ने हुन्छ।’

उनले अगाडि थपिन् ‘पार्टी बैठकको बेलामा उहाँले किन एकताको अडान राख्न सक्नुभएन? अहिले पनि पदको लागि उहाँले जनतामा भ्रम छर्न खोज्नुभएको छ।  कम्युनिस्ट पार्टीभित्र निरङ्कुश प्रहार भएको बेलामा एकताको कुरा गरेर पदको बार्गेनिङ गर्ने?’ 

एकता अभियान नै नौटङ्की !

उपाध्यक्ष गौतमले एकता अभियान भनेर नौटङ्की गर्न खोजेको राजनीतिक विश्लेषक हरि रोक्का बताउँछन्। 

‘उहाँले गरेको अभियान नै नौटङ्की गरेजस्तो लाग्छ। पूर्ण रुपमा स्वार्थ केन्द्रीत रहेर नाटक गरिराख्नुभएको छ। एक जनाले संसद विघटन गरेर गएको छन् अर्कोतिर संसद विघटन असंवैधानिक भएको भनेर लडिराखेका छन्’ उनले भने। 

यस्तो अवस्थामा पार्टी एकता गरेर कसलाई कसरी फाइदा पुग्छ भनेर जनतालाई स्पष्ट गर्नुपर्ने उनकाे भनाई छ। ‘नेपाली जनतालाई अहिले यस्तो अवस्थामा किन मिल्नुपर्छ? मिलेर के फाइदा ? एकता गरेर ओलीलाई माफ दिने? उहाँले किन एकता अभियान सञ्चालन गर्नुभयो? त्यसमा नै प्रश्न छ’ उनले भने,अब फेरि अस्थिरता अराजकताका लागि किन एकता गर्ने?’

ओली या प्रचण्ड–माधव पक्षले कुन पक्षले अपराध गरको छ भने त्यसलाई दण्ड दिनुपर्ने तर्क गर्छन्। ‘अर्को कुरा ६ महिना संसदलाई बन्धक बनाएर राखेर विघटन गर्नु अपराध हैन?’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.