एकै ठाउँमा सबै सुविधा हुने गरी भवन खोजिने महानगरको भनाइ

|

काठमाडौं : दिनेश श्रेष्ठलाई हात दुख्ने समस्याले सताएको ३० वर्षभन्दा बढी भयो। उनी अहिले काठमाडौं महानगरपालिकाले दिँदै आएको अकुपञ्चर सेवा लिन हरेक  बिहान टेकुस्थित अकुपञ्चर सेवा लिन पुग्छन्।

उनको हात २०४५ सालसम्म माथि जान सक्दैन थियो। अकुपञ्चर सेवा लिन थालेपछि हात माथि जान थालेको श्रेष्ठ बताउँछन्। काठमाडौं महानगरपालिका–१ नक्सालमा बस्छन् उनी।

महानगरपालिकाले अकुपञ्चर सुरु गर्दा कार्यालय नक्सालमा रहेको उनी सम्झन्छन्। प्रत्येक वडामा अकुपञ्चर सेवा गर्ने भने पनि अहिलेसम्म यस्तो व्यवस्था नहुँदा महानगरबासी वैकल्पिक उपचार विधिबाट वञ्चित भइरहेका छन्। 

'आफ्नै वडामा अकुपञ्चर सेवा लिने व्यवस्था गरेको भए दैनिक टेकु धाउनु पर्दैन थियो, 'श्रेष्ठले भने, 'दैनिक सेवा लिन जाँदा गाह्रो भइरहेको छ। आफ्नो वडामा वैकल्पिक तरिकाले उपचार गर्ने व्यवस्था भएको भए चिसो मौसममा दुःख पाइँदैन थियो।'

उनले ढाड र हात दुख्ने दुवै समस्याबाट छुटकारा पाएका छन्। उपचारपछि राम्रो भए पनि यसलाई सहजै प्राप्त गर्न नसकेको उनले दुखेसो पोखे।

उनको दैनिकजसो सार्वजनिक यातायातमा १ सय रुपैयाँ खर्च भइरहेको छ। दैनिक सेवा लिन जाँदा एक पटकको ५० रुपैयाँ तिर्नुपर्छ। 'हामीजस्तो मध्यमवर्गीयका लागि ५० रुपैयाँ तिर्न समस्या हुन्छ,' उनी सुनाउँछन्, 'महानगरले  वैकल्पिक उपचार विधि आफ्नो वडामा व्यवस्था गर्न सकेको भए यस्तो समस्या भोग्नुपर्दैन थियो।'

कालीमाटीबाट आएका सुनील न्यौपानेको पनि समस्या श्रेष्ठको जस्तै छ। उनी अकुपञ्चर सेवा लिन आएको लगातार दुई वर्ष भयो। 'वडा-वडामा वैकल्पिक उपचार विधि निर्माण गरेको भए टेकु सम्म आइपुग्नुपर्ने समस्या हट्थ्यो,' उनको तर्क छ। महानगरको अकुपञ्चर सेवा लिन आएपछि रुघा बिग्रेर पिनास भएको समस्या बिस्तारै ठिक भएको उनी बताउँछन्। यसबाट सेवा लिन थालेपछि रोग प्रतिरोधात्मक क्षमता बढदै गएको उनको विश्वास छ।

प्रत्येक वडामा अकुपञ्चर सेवा व्यवस्थापन गर्न नसक्दा चिसो मौसममा सेवा लिन आउँदा कष्ट भोग्नुपरिरहेको उनले बताए। दैनिक उपचार सेवा शुल्क ५० तिर्नुपरे पनि त्यसमा उनको गुनासो छैन। बाहिर मेडिकल सेन्टरमा अकुपञ्चर सेवा शुल्क पाँच सय देखि हजारसम्म लिने गरेको लिएको उनले बताए।

महानगरबासीले हरेक वडामा आफ्नो स्वास्थ्य उपचार गर्न पाउँने गरी बेलाबेलामा घोषणा गर्दै आएको छ। पछिल्लो समय मिर्गौला परीक्षण गर्न प्रत्येक वडामा पिसाब संकलन गरी परीक्षण गर्न थालेको छ।

अधिकांश महानगरबासिमा विभिन्न किसिमका रोग छन्। त्यसमध्ये बढीजसो शारीरिक दुखाई बढी मात्रामा रहेका बिरामी फेला पर्न थालेका छन्। टाउको दुख्ने, ढाड दुख्ने र शरीरका विभिन्न भाग र नसा रोगका समस्याहरु बढी भएका मानिस भेटिन थालेका छन्।

अकुपञ्चर सेवा सञ्चालन गर्ने नयाँ ठाउँ खोजी

गत आर्थिक वर्षको कार्यक्रममा महानगरले अकुपञ्चर सेवा बिस्तार गर्न सकिने भन्दै बजेट विनियोजन गर्‍यो। २७ हजार २ सय १३ रुपैयाँ बजेट छुट्यायो। अकुपञ्चरलगायत अन्य सामग्री खरिद गर्‍यो। भवन बनाउन भने महानगरले केही तयारी गरेको छैन।

प्रत्येक वडामा अकुपञ्चर सेवा बिस्तार गर्न नसकेपनि महानगरले अकुपञ्चर सेवा बिस्तार गर्न लागेको महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले बताए। भने, 'अहिले भएका ठाउँ सानो छ। त्यसलाई बिस्तार गर्नलाई नया ठाउँको खोजी भइरहेको छ।' उनका अनुसार दैनिक करिब ३० जनाको हाराहारीमा मानिस सेवा लिन आइरहेका छन्। महिला र पुरुष बराबरी आउने गरेका छन्।

अकुपञ्चर सेवा महानगरपालिका भित्र वा बाहिर जहाँसुकै बस्ने मानिसले लिन सक्ने कुँवर बताउँछन्। वैकल्पिक उपचार विधि सबैलाई जरुरी हुने भएकोले पनि सबैमा पहुँच पुर्‍याउने गरि महानगर अगाडि बढीरहेको उनले प्रस्ट पारे।

अकुपञ्चर विधि के हो ?

शरिरमा रहेका विशेष बिन्दुमा सियो लगाइन्छ, तब त्यसले एक प्रकारको तरंग पैदा गराइ दिमागमा सूचना पुर्‍याउँछ, जुन सूचनाका आधारमा दिमागले हाम्रो शरीरको हर्मोन, तरल पदार्थ, विभिन्न रसायनहरूको सन्तुलन गर्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउने र फलस्वरुप रोग निको हुन्छ।

यसबाट फाइदा हुने केही रोगहरु

नसासम्बन्धी रोगहरू, माइग्रेन, जोर्नी दुखाइ, अनिद्रा, प्यारालाइसिस, साइटीका, हातखुट्टा पोल्ने, झमझमाउने, मुख बांगिने, मोटोपन, अपच, रोगप्रतिरोधी क्षमतामा वृद्धि।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.