|

भद्रपुर : सरकारको असंवैधानिक कदमविरुद्ध झापामा पहिलोपटक स्व:स्फूर्त रूपमा नागरिक सडकमा उत्रिएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा यसअघि विभिन्न राजनीतिक दलले असंवैधानिक कदमविरुद्ध प्रदर्शन गर्दै आइरहेका थिए। तर, बिहीबार दिउँसो संविधान रक्षा र प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै पूर्वीनाका काँकडभिट्टामा नागरिकस्तरबाटै पहिलो पटक विरोध र्‍याली निस्किएको हो। 

विभिन्न पेसा, व्यवसाय, राजनीतिक दल, संघसंस्था र संगठनमा आबद्ध व्यक्तिले र्‍यालीमा भाग लिएका थिए। मेची भन्सार गेट अगाडिबाट सुरु भएको विरोध र्‍याली काँकडभिट्टा बजारबाट बसपार्क हुँदै पुनः भन्सार गेट अगाडि अगाडि पुगेको थियो। 

सहभागीहरूले 'संविधानलाई डगमगायो', 'स्थायित्व खोइ,' 'राष्ट्रपतिको दायित्व', 'लोकतन्त्र मास्न पाइन्न', 'जनमतको हत्या सहिन्‍न', 'खडग ओलीको अभिमान हत्या भयो संविधान', 'संसद् विघटन रातारात, देश डुबाउन तिम्रो हात', 'प्रतिगमन मुर्दावाद', जस्ता नारा लगाएका थिए।

कोणसभामा युवा अभियन्ता संस्कृति रिजालले संविधानको रक्षा र प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडकमा उत्रिएको बताइन्। त्यस्तै युवा अभियन्ता सागर सिवाकोटीले सरकारको कदमले मुलुक द्वन्द्वतर्फ धकिलिएकाले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.