खोपबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ, नागरिकस्तरमा पनि सकिएन बुझाउन

|

काठमाडौं : पहिलो चरणको कोरोना भाइरसविरुद्ध खोप नेपालमा १ लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका छन्। गत माघ ९ गते भारतले अनुदानस्वरुप उपलब्ध गराएको १० लाख डोज 'कोभिसिल्ड' खोप १४ गतेबाट लगाउन सुरु गरिएको थियो।

​पहिलो चरणको खोप हिजो(आइतबार) सम्म सञ्चालन गरेको सरकारको खोप अभियानमा १ लाख ८४ हजार ८ सय ५७ जनाले भाग लिएका बताइएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा  कोरोना महामारी नियन्त्रण गर्न फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गरिरहेका चार लाख ३० हजार कर्मचारीलाई खोप दिने तयारी भए पनि जम्मा १ लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका मन्त्रालयको विवरणमा उल्लेख छ।   

काठमाडौं उपत्यकामा मात्रै ५३ हजार २७ जनालाई खोप लगाउने लक्ष्य थियो। खोप लगाउने अन्तिम दिन शनिबारसम्म ४३ हजार २ सय ३८ ले खोप लगाएका छन्। यो संख्या प्रदेश सरकारले आकलन गरेभन्दा झन्डै १० हजारले कम हो।

विवरणअनुसार पहिलो चरणमा सरकारले लिएको लक्ष्यको ४३ प्रतिशत मात्रै पूरा भएको देखिन्छ। मन्त्रालयले पहिलो चरणको खोप अभियान १० दिन चल्ने र देशभर चार लाख ३० हजारले लगाउने लक्ष्य राखेको थियो। जसका लागि सोहीअनुसार खोप प्रदेशमा समेत पठाएको थियो।

पहिलो चरणमा कोरोनाविरुद्ध खटिएका फ्रन्टलाइन हेल्थ वर्कर, एम्बुलेन्स तथा शवबहान चालक, सरसफाइ कर्मचारी, जेलका कैदी, वृद्धाश्रममा रहनेलाई खोप दिइएको थियो। त्यसमाथि मन्त्रालयले पहिलो चरणको खोप अभियान सकिन केही दिन बाँकी हुँदा नेपाल मेडिकल काउन्सिल, फार्मेसी काउन्सिल, नर्सिङ काउन्सिल, आयुर्वेद चिकित्सा परिषद र नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएका सबै स्वास्थ्यकर्मीले खोप लिन सक्ने बताएको थियो। तर अपेक्षाकृत रुपमा खोप लगाउने संख्या देखिएन।

खोपबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ, नागरिकस्तरमा पनि सकिएन बुझाउन

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्वनिर्देशक डा  बाबुराम मरासैनीले सरकारले खोपबारे स्वयं स्वास्थ्यकर्मी अन्य फ्रन्टलाइनरहरूलाई राम्रोसँग बुझाउन नसक्दा खोप प्रभावकारी नदेखिएको बताए।

उनले भने, ‘पहिलो कुरा त खोप र यसको साइट इफेक्टबारे स्वास्थ्यकर्मीहरूलाई नै सरकारले राम्रोसँग जानकारी दिन सकेन, जसले गर्दा खोपबारे त्रास फैलिएजस्तो भयो र सोचेअनुसार लगाउनेको संख्या कमी भयो।'

यस्तै डा मरासैनीका अनुसार खोप केन्द्रहरू कम हुनु, पायक पर्ने ठाउँमा खोप केन्द्र नहुनु र खोप लगाउने समय पनि कम हुँदा अभियान प्रभावकारी हुन सकेन। 

उनले भने, ’धेरै खोप केन्द्रहरू शहरी इलाकामा भयो, जसले गर्दा ग्रामीण भेगका स्वास्थ्यकर्मी स्वयंसेविकालाई आउन गाह्रो भयो, अब सबै स्वास्थ्य केन्द्रहरू बन्द गरेर आउने कुरा भएन, पालो गरेर आएर लाउन पनि समय काम भयो, जसले धेरै स्वास्थ्यकर्मी रहेका ग्रामीण भेगका स्वास्थ्यकर्मीलाई खोप लगाउन गाह्रो भयो।‘

उनका अनुसार दोस्रो चरणको खोप अभियान सुरु गर्नुभन्दा पहिले सरकारले खोपबारे राम्रोसँग जनतालई बुझाउन सकेन। 

संख्या कम भए पनि उत्साहित सरकार

यता मन्त्रालयका अधिकारीले भने खोप लगाउने यो संख्यालाई कम भन्न नमिल्ने बताए। बाहिर मानिसमा त्रास भएकाले केही कम भए पनि यो संख्या कम भएको भन्न नमिल्ने उनीहरूले बताएका छन्। मन्त्रालयका एक अधिकारीले भने, ‘पर्याप्त मात्रामा खोपबारे जानकारी गराउन नसकिएकै हो, तर यो संख्या भने कम भन्न मिल्दैन, राम्रो कुरा खोप लगाएकै कारण कसैको मृत्यु भएन।‘

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारदेखि पत्रकार तथा नेपालस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरूलाई पहिलो चरणमै खोप उपलब्ध गराउने निर्णय भएको बताएको छ। 

मन्त्रालयका अनुसार पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीहरूले तोकिएको अस्पतालमा सोमबारदेखि शुक्रबारसम्म पुगेर खोप लिन सक्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.