फुटपाथ र ठेला व्यापारीको आँशुमाथि लाभको व्यापार

|

काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर प्रहरीले पुस २९ गते मंगलबार सुकेधारा चोकबाट मञ्जु कुँवर क्षेत्रीको ठेला र तरकारी जबरजस्ती उठायो। ठेला उनले घरनजिकै राखेकी थिइन्‌।

महानगरका प्रहरीसँग उनले रुँदै याचना गरिरहेकी थिइन्‌, ‘यस्तो पनि हुन्छ ? हामी हिँड्या भए, बेच्या भए एउटा कुरा! घरमा राखेको ठेला पनि किन समातेको?’ अरूले एक चोटीलाई छोड्दिनु भन्दै थिए। तर, नगर प्रहरीले मानेनन्।

उनी रूँदै बिलौना गरेको भिडियोले सामाजिक सञ्जाल ततायो।

यी भिडियो दृश्यले अझै पनि त्रसित छन् ठेला व्यापारी अमरबहादुर श्रेष्ठ। सिन्धुपाल्चोकका अमरबहादुर अहिले गौरीघाटमा बस्छन्। बिहान/बेलुका तरकारी ठेला डुलाउनु उनको दैनिकी हो। धेरै जसो उनी बौद्धको कुमारीगाल र गौरीघाट क्षेत्रमा तरकारी बेच्छन्।

तर, महानगरपालिकाले खोसिदिन्छ कि भन्ने डर बोक्दै उनी व्यापार गर्न बाध्य छन्। उनले सुकेधाराको त्यो दृश्य धेरै पटक हेरिसकेका छन्। त्यसबेला उनलाई लाग्दो हो : के आफ्नै देशमा गरिखान नपाइने हो त?

यस्तै प्रश्नहरू खेलाउँदै डराइ-डराइकन ठेला डुलाउँछन्‌ उनी।

‘सडकमा व्यापार गरे महानगरले ठेला खोस्छ, सटर लिउँ सक्दिनँ’

श्रेष्ठले ठेलामा तरकारी व्यापार गरेको दुई महिना भयो। उनी सटर भाडामा लिएर व्यापार गर्ने उनमा हैसियत छैन्।

‘सटर भाडामा लियो भने मासिक १५ देखि २० हजार तिर्नुपर्छ। त्यति धेरै भाडा तिरेर कसरी व्यापार गर्ने? फेरि सडकमा यसरी ठेला डुलाउँदै गयो भने नगर प्रहरीले जबरजस्ती उठाइहाल्छ,’ गुनासो पोख्छन् उनी। 

यहाँ अमरबहादुर र श्रीमती गरी दुई जना मात्रै बस्छन्‌। उनले छोराछोरी भने गाउँमै राखेको सुनाए। उनी माग गर्छन्‌, ‘मेरो परिवार पाल्ने मुख्य आम्दानी यही हो। ठेला व्यापार गर्नेपर्छ। महानगरपालिकाले खाली ठाउँमा व्यापार गर्ने व्यवस्था गरे हामीलाई धेरै सहजता मिल्ने थियो।’

कुमारीगालमा ठेला ठेलेरै तरकारी बेचिरहेका कुमार केसी सार्वजनिक ठाउँमा व्यापार गर्नु रहर नभई बाध्यता भएको बताउँछन्‌। महानगरपालिकाले जबरजस्ती तरकारी उठाउन नमिल्ने उनको बुझाई छ। ‘हाम्रो पनि बाध्यता छ,’ उनले भने, ‘त्यसरी जबरजस्ती ठेला उठाउन मिल्छ र? सटर लिएर व्यापार गर्न सकिन्न।’ 

महानगरपालिकाले समान जफत गरेपछि पैसा दिएपनि फिर्ता नगर्ने नियम गलत भएको उनको भनाई छ। ‘नगरपालिकाले मेरो साथीहरूको पनि ठेला र तरकारी खोसेको छ, जरिवाना तिर्छु भन्दापनि समान फिर्ता दिँदैन,’ उनले भने।

नगर प्रहरीलाई मासिक पैसा दिए केही नगर्ने गरेको जानकारी पाएको उनी बताउँछन्‌। उनले भने, ‘चावहिल चोकतिर नगर प्रहरीलाई पैसा दिए केही गर्दैन रे भन्ने सुन्छु। त्यो क्षेत्रमा नगर प्रहरी जाँदैनन्। जहाँ गरिबी,निमुखा छन्‌ ,त्यसलाई मात्रै देख्छ। यहाँ त विभेद र घुसपैठ चल्छ।’ 

लुटेको नभई खानालाई काम गरेको भन्दै नगरपालिकाले यसलाई जफत गर्नुभन्दा व्यवस्थित गर्नुपर्ने उनको माग छ।

फुटपाथमा तरकारी ठेला मात्रै नभई लुगा व्यापारहरू समेत हुन्छन्। बेलुकाको समयमा रत्नपार्क,सुन्धारा लगायत क्षेत्रमा हिँड्ने बाटो हुँदैन। त्यही बेला पैदलयात्रीले बाटो नभएको भन्दै अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुनिन्छ‌।

तर,उनीहरूको बाध्यता कसले हेरिदिने र ! यी समस्या मञ्जु, अमरबहादुर र कुमारको मात्रै नभई फुटपाथलाई जीवन धान्ने सहारा बनाइरहेका हजारौंको हो।​

महानगर भन्छ : व्यवस्थित गर्ने उपाय नै नियन्त्रणमा लिने हो 

महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले महानगरपालिकाले फुटपाथका व्यापार व्यवस्थित गर्ने उपाय नै नियन्त्रण भएको तर्क गरे।

उनले भने, ‘नगरपालिकाले ती व्यापार व्यवस्थित गर्ने भनेकै नियन्त्रणमा लिनु हो।’ सार्वजनिक स्थलमा व्यापार गरेकाले कारबाही गर्ने गरेको उनको भनाई छ।

उनले भने, ‘सार्वजनिक ठाउँमा व्यापार,व्यावसाय गर्ने गरेमा हामीले समान जफत गरिदिन्छौँ, व्यापार गर्नै समय तोकिएको पनि छैन, जहाँ जुनसुकै बेला पनि समान उठाउँछौँ।’ 

सडक र फुटपाथ सवारी आवागमन गर्न र हिँड्नका लागि बनाइएको भन्दै उनले त्यहाँ व्यापार गर्दा सहरको सौन्दर्य समेत बिग्रने दावी गरे।

'जफत गरिएको समान पैसा दिएपनि फिर्ता हुँदैन, लिलाम हुन्छ, दैनिक ५० वटा ठेला गाडा जफत गर्ने गरिएको छ,' उनले भने।

गत वर्ष ५२ लाख रुपैयाँ बराबरको समान लिलाम गरिएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.