दाङ : बलात्कारपछि हत्या गरिएकी बैतडी भागरथी भट्टको न्यायका लागि दाङमा युवा पनि सडक उत्रिएका छन्।
बिहीबार दाङको तुलसीपुरमा निधारमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन्। बिपी चोकबाट शुरु भएको विरोध प्रदर्शन बजारका विभिन्न भागमा परिक्रमा गरी बिपी चोकमा कोणसभामा परिणत भएको थियो।
कोणसभामा युवा अविशेष भण्डारीले दैनिक कम्तीमा ६ वटा बलात्कारका घटना भइरहेका र सरकारले ध्यान नदिएको आरोप लगाए। उनले सरकारमा रहेका मान्छेहरू आफ्नो कुर्सी जोगाउन मात्र लागेका बताए।
‘निर्मला पन्तको हत्या भएको २ वर्ष ५ महिना भयो,’ उनले भने,‘ पीडित परिवारले न्याय पाउनु त कुरै छाडौँ। अहिलेसम्म यो सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन। अब के भागरथीले न्याय पाउँलिन्?’ बलात्कार गर्नेहरूले कडा कारबाही नभोगे अपराधीले यसलाई संस्कृतिको रुपमा लिएकोमा आपत्ति जनाए। साथै उनले बलात्कारीलाई फाँसीको माग पनि गरे।
त्यस्तै, अर्का युवा झग्गु भण्डारीले आफूहरू जस्ता युवाले कडा भन्दा कडा कारबाही माग गर्दै आइरहेको भए पनि सरकारले नसुनेझैँ गर्दै आइरहेको भन्दै गुनासो गरे। उनले अहिले पनि हामी युवा अपराधीलाई कारबाही र पीडित परिवारलाई न्याय होस् भन्दै सडकमा आइरहेको अवस्था सरकारमा बस्ने मान्छेहरूले काम नपाएका भन्ने गरेको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।