|

अंकिता त्रिपाठी

जीवन यात्रा हो। यात्रा अनन्त, तर एक्लै जानुछ।

आजको यात्रा सहायक मात्रै हो। मलाई रत्नपार्क जानु थियो।

हतार थिएन, तर हतार-हतारमै निस्किएँँ। यस अर्थमा कि म समयको धेरै ख्याल गर्ने मान्छे हुँ।

आज रत्नपार्कमा नेकपाको विशाल जनभेला हुने भएकोले मलाई ठीक ११:३० मा रत्नपार्क पुग्नु थियो।

कलंकीबाट रत्नपार्क धेरै टाढा छैन, तर मलाई हतार थियो। ९:३० बज्दा घडी निकै सुस्त गतिले चलेझैं लाग्यो। राजेन्द्र दाइको फोन आयो, ‘हजुर छिट्टै आइहाल्नु है! एमर्जेन्सी छ।’

मैले ‘हस्‌’ मै कुरा टुङ्ग्याइदिए। ‘किन?’ भनि सोधिनँ, सोध्ने माहोल थिएन।

देशको अस्तव्यस्त स्थिति सबैको चिन्ताको विषय बनेको थियो। म घरबाट निस्किएँ। 

‘रत्नपार्क रत्नपार्क दिदी जाने हो?’ सहचालकको काम गरिरहेका एक बच्चाको आवाज सुनेँ। गाडीमा चढे। ती बालक काठमाडौंको हिउँदे चिसोमा कठ्याङ्ग्रिँदै यात्रु बोलाउँदै थिए।

कलंकीमा कसले बढी मान्छे तान्ने भन्नेमा गाडीहरू बीच होडबाजी चलेको छ। यी बालकको विवशता पनि उही हो। कानूनको हात भए पनि यहाँसम्म पुगेकै छैन।

०००

तिमी भएको भए भन्ने थियौ, ‘यस्तो ठाउँमा राजनेताले हात लम्काउनुपर्छ, कानूनलाई पूर्णता दिने कुनै व्यक्तिले हो।’

मैले तिमीबाट धेरै कुराहरू सिकेकी थिएँ। मलाई समाज, वर्ग, समाजवाद, राजनीतिबारे बुझाउने पनि तिमी हौ।

मैले देखेर, सुनेर, पढेर आफ्नै बलबुताले धेरै उत्खनन्‌ गरिसकेँ : तिमीले चिया गफमा खिल्ली उडाएका म प्रतिका बुझाइहरू।

​०००

गाडी हुइकिँदै थियो। कालीमाटीदेखि जाम शुरू भयो। ‘हत्तेरी ११ बजिसक्यो म कत्ती बेला रत्नपार्क पुग्ने होला?’

गाडीमा मानिसहरू आत्तिए, कराए, सरकारलाई सरापे। ‘खाली जनतालाई दु:ख दिन जानेका, बिदाको दिन पार्नुपर्थ्यो, जुनजोगी आए पनि कानै चिरेका!’

मैले मात्र सुनिराखेँ, मानिसहरू थप असन्तुष्टि पोख्दै थिए.

जनताले दु:ख पोख्न पाउनुपर्छ। रामको राज्य भएको भए समाधान खोजिन्थ्यो। यहाँ त्यो सम्भावना सम्भव हुन असम्भव छ। अनि सम्भावनालाई तौलिने रामको कमी छ।

म चढेको गाडीमा केहि जोडीहरू देखिन्थे, ‘ह्याप्पी भ्यालेन्टाइन्स डे, सानी!’ मेरो अगाडी बसेको केटाले आफ्नी प्रेमिकालाई भनेको सुनेँ।

ए! आज त प्रणय दिवस पो रहेछ। मलाई बल्ल थाहा भयो। उनीहरूका मीठा गफहरू सुन्दासुन्दै म निदाएछु।

मेरो फोनमा नोटिफिकेशन आयो, ‘डियर कमरेड, ह्याप्पी भ्यालेन्टाइन्स डे, हाउ आर यु?’

उसले मलाई सम्बोधन गर्ने नाम कमरेड पनि हो। उ भन्थ्यो, ‘यसो गर्नाले प्रेमसँगै राजनीतिक सम्बन्ध पनि प्रगाढ हुन्छ।’ मैले कमरेडलाई कर्तव्यबोध गराउने भावार्थबाट बुझेकी थिएँ।

हामीबीच हाम्रो फरक जात र धर्म नै एक जङ्‌घार थियो : जसविरुद्ध समाजमा अन्तर्मनबाटै अघोषित युद्ध चर्किएको थियो।

खै र! पुरिएको घाउ कोट्याउँदा उसका हात थरथरी कापे कि कापेनन्‌ होला? यो सम्बोधनले हाम्रो सम्बन्धलाई सम्बोधन गर्‍यो कि गरेन होला?

यी दिव्य प्रश्नहरूबाट माथि उठेर मैले वर्तमान नियालेँ, जुन नितान्त फरक छ। मैले रिप्लाई दिएँ, ‘म ठीक छु कमरेड! हजुरलाई कस्तो छ? राजनीतिक माहौलले आजको यस्तो गजबको दिनलाई समेत बिर्साइदिएछ।’

हाम्रो सम्बन्धको उल्झनलाई थाती राख्दै उ थुप्रै समस्याका गाँठा फुकाल्न प्रयासरत छ। हाम्रो यात्रा, दर्शन, दृष्टिकोण र गन्तव्य एकै हो। तर हिँडाइको सार बेग्लै छ।

उ भन्थ्यो, ‘मैले हिँड्न नसकेकोबाटो तिमी हिँड, नदेखेको संसार तिमी हेर, नसुनेको रोदन तिमी सुन, बोली अठ्याउँदा तिमी बुलन्द आवाज बन। तिमी प्रकृति हौ म पुरुष हुँ। हामी आधा-आधा हौँ पूर्ण बन्नु नै छ। हामी एक अर्काका शुरू र अन्त हौँ।’ उसको भाव निकै गहिरो हुन्थ्यो।

​आज उसले मलाई फरक दृष्टिबाट हेरेकै हो। उसको लागि म सधैँ यात्रा गर्ने बटुवा हुँ, थाक्न नपाउने, आराम गर्न नपाउने, समयभन्दा अगाडी हिँड्नुपर्ने फगत बटुवा! 

यत्तिका वर्ष पछाडी यो मेसेज गर्न हामी बीच राजनीति बाहेक अन्य कुनै सम्बन्ध थिएन। हाम्रो धर्म र जात फरक थियो। चालचलन, संस्कृति, वर्ण र अर्थ सबै फरक थियो। यति धेरै फरकबीच नदेखिँदो माया थियो। 

आज प्रतिगमन सप्‍ताहको २१औं दिन। यहाँ आन्दोलन व्यापक चर्किएको छ। मान्छेहरू ठूलोलो स्वरमा विद्रोहको नारा लगाउदै छन्‌। सडकका चोक गल्लीहरू सबै मान्छेले भरिएको छ। युवा जमातको अड्कल गर्न नसकिने भीड थियो। गाडीको झ्यालबाट टड्कारै आवाजहरू सुनिन्थ्यो : प्रतिगमन-मुर्दावाद! प्रतिगमनकारी-होसियार!! लाल गद्दार-होसियार!!! 

गाडीमा गीत बज्दै थियो, ‘लाल झुपडीका मान्छेहरू...’

०००

आज त अनगिन्ती मानिसहरूको ताँतीले सडक परिक्रमा गरिसकेको छ। सडकमा आन्दोलन तातेको छ।

गाडीको सहचालक भाइले, ‘रत्नपार्क झर्ने हुनुहुन्छ?’ भनेपछि म झल्याँस्स भए।

अहो! सबै कल्पना रहेछन्‌। ११:४० बजिसकेको रहेछ, निकै लामो जाम। राजेन्द्र दाइको १० मिस्डकल आएको रहेछ। तर यसबाहेक मेरो फोनमा अन्य कुनै मेसेज थिएन। राजेन्द्र दाइ आत्तिएको देखेर केही न केही जरुर भएको हुनुपर्छ झैँ लाग्यो। 

भीड निकै ठूलो थियो। यत्रो मान्छे कहाँबाट आएका होलान्? अब प्रतिगमन सच्चिएला त?

यस्तै प्रश्न खेलाउँदै राजेन्द्र दाइलाई भेट्न गए।दाइ आन्दोलनको अग्र मोर्चामा हुनुहुन्थ्यो। उहाँ हिजोको जस्तो स्वभाविक देखिनु हुन्थेन। अलिकति हतास, अलिकति निराश हुँदै दाइले भन्नुभयो, ‘कमरेड सुभमको विरुद्ध विपक्षीहरूले षड्यन्त्र रचिरहेका रहेछन्‌, हामीलाई सुइँको भएन, अनि...’

मैले उहाको बोलि खस्न नपाउँदै सोधेँ, ‘कमरेड, के खराबी गरेको थियो उसले? जयन्तु संस्कृतमदेखि उखु किसानको आन्दोलनसम्म अगुवा थियो। उ भएरै आन्दोलनले यहाँसम्मको बाटो तय गरेको छ। हामीले लोकतन्त्रको आभाष गर्न पाउने निश्चित हुँदाहुँदै फेरि यस्तो कसरी?’

म बोल्दै गएछु, पत्तो थिएन।

उहाँले मलाई रोकेर भन्नुभयो, ‘कमरेड शुभम लाल गद्दारको षडयन्त्रको चक्रव्यूहमा फस्नुभयो।’

’यसको मतलब?’ उहाँ चुप लाग्नुभयो। ‘साच्चै परिवर्तनका लागि बिना शर्त लडेका मान्छेविरुद्ध किन यति धेरै जालझेल?’ 

हामी दुवैको फोन बज्यो, दुवैलाई एकै सूचना दिइएको थियो, ‘कमरेड शुभम हामीमाझ रहनुभएन, कहाँ के कसरी भयो यसको जानकारी छैन।’

एकैछिनमा समाचार छ्यापछ्याप्ती आउन थाले, ‘अस्ताउनुभयो कमरेड शुभम, कमरेड शुभमको हत्यारा को हो?’

सडक तातिरहेको थियो, तर म ठिहिरिएकी थिएँ। शरीर चिसो भएको थियो। सडकको तातोले पनि मलाई न्यानोपनको अनुभुति दिलाएन-जुन आभास कमरेड शुभमले कमरेड बनेर दिलाएका थिए।

जाउ हिँड्नुस्, कमरेडलाई काठमाडौ ल्याइपुर्‍याइएछ, भेटौँ!’

'हस्‌’ भनेर हिडेँ।

​०००

डियर कमरेड, मन शान्त छैन। गणतन्त्र आएको करिब १५ वर्ष बितिसक्दा पनि तिम्रा सपनाहरू अझै अधुरा छन्‌। यो गणतन्त्र तिमीप्रति ऋणी छ। तिमीले चुमेका बलिदानको शिखरको उचाइ कसले महसुस गर्ला ? राता मान्छेहरू मृत्युदेखि डराउँदैनन्‌ कमरेड! बरू हाँसीहाँसी स्वीकार्छन्, जसरी तिमीले स्विकार्‍यौ।

अब मलाई कुनै प्रणय दिवसले आतंकित तुल्याउने छैन। कसैको प्रेम प्रदर्शनीमा म अब चुँडिनेछैन। म जस्तै दुर्गम गाउँका गुमनाम ईश्वरहरू तिम्रो मृत्युको खबरले छिन्नभिन्न भएका छन्‌। तिमी बलिदानको रक्तिम बाटो अंगाल्दै झन्‌ उचाइमा पुगेका छौ।

नितान्त एकान्त मायावी भेषको अस्थिर समय सब चुपचाप छन्‌ मसँग।

डियर कमरेड! तिमी यो युगको उत्कृष्ट फूल हौ-जसको सुगन्ध घाम छिर्न इन्कार गरेको बस्तीसम्म मगमगाउने छ। वर्ग संघर्षको सोपान चढ्दा नथाकेका कर्मठ हात, दर्शन, पाइला तिम्रो यात्राप्रति नमन!

तिमी भन्थेउ, ‘प्रेमको भाषाले कपट अँध्यारोलाई छिचोल्ने जमर्को गर्दछ।’

डियर कमरेड! हाम्रो अव्यक्त मायाको भाषाले म मानव जीवन सिक्न सकुँ, तिमीलाई प्रणय दिवसको शुभकामना!

गाडीमा गीत बजिरहेछ : ...हजार माइलको लामो यात्रा एक पाइलाबाट शुरू हुन्छ...

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.