|

प्रिय ‘डी’

मेरी ‘डी’ तिमी जुन संसारमा छौ सायद खुशी नै छौ भन्ने मेरो मनले भनिरहेको छ। आज फ्रेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे। प्रेमिल जोडीहरू एक अर्काको अंगालोमा बाँधिएर मिठो सपनामा डुब्दै गर्दा म भने अश्रुधारा बगाउँदै तिमीलाई प्रेम पत्र लेख्दैछु।

म त भन्छु क्यालेन्डरबाट यो मिति सधैँको लागि हटिदिओस्। नआओस् फेब्रुअरी १४। जसले मलाई सधैँ पीडा दिइरहन्छ। जसले मेरो आफ्नो मान्छे मसँग नभएकोमा मलाई दुःखी तुल्याउँछ। तर सबै मैले भने जस्तो कहाँ हुँदो रहेछ।

​यदि हुँदो हो त म हामी सधैँ अमर रहौँ भनेर भन्थे। यसरी आँशु बगाएर तिमीले पढ्नै नपाउने यो प्रेम पत्र लेख्नु नपरोस भन्थे। यो भ्यालेन्टाइन डे मा तिमीलाई नसम्झीरहन पनि त सकिन। जसले मलाई जिउने एउटा आधार बन्ने बाटोतर्फ हिँडाइदियो उसलाई कसरी नसम्झिने। अनि सोच्छु तिमीले पढ्न नपाएर के भो त यो मनले तिमीलाई सम्झने एउटा माध्यम त बनिदियो।

प्रमोद निर्वाणको गीत जस्तै ‘जब तारा गर्नेर एक्लै टोलाउँछौ जब हृदय खोलेर मलाई बोलउँछौ म बादलको सहारा लिए चन्द्रमाबाट हेर्नेछु।’ ऊबेला अत्याधिक सुन्ने गीत मेरो जिवनमा लागि कुनै महत्व थिएन। स्कुल जीवनको जन्जिरबाट मुक्त भएर स्वतन्त्र कलेजमा लाइफमा गरेको प्रवेश। न कसैको कर न त डर। तर आज जब तिमी म बाट टाढा भयो त्यसबेला महसुस भयो गीत सायद मेरै लागि बनेको थियो।

साथीभाइहरूसँगको ग्याङवार हुँदा पनि डर थिएन मृत्युको। तर आजकाल कसैले मृत्यु भन्ने शब्द उच्चारण गर्‍यो भने मनमा डर पैदा हुन्छ। प्रमोद निर्वाणको कसैले यो गीत बजाउँछ मेरो मानस्पटलमा तिमी आउँछौ मेरो प्रिय ‘डी’। जसलाई मैले मेरो आमापछि सबैभन्दा बढी माया गर्नेको रुपमा पाएको थिए।

आमापछि सबैभन्दा बढी गाली गर्ने पनि तिमी र माया गर्ने पनि। ती २ वर्षमा चुरोटझैँ आदत बनिसकेकी थियौँ तिमी मेरो। तर चुरोटबाहेक तिम्रो आदत सधैँ मेरो साथमा रहेनन्। आज चुरोट साथमा छ तिमी छैनौँ। कसैले क्यान्सरको नाम लिन्छ फेरि पनि तिमी सम्झन्छु।

ब्लड क्यान्सरसँग हारेकी तिमी कस्ती भयौँ मैले देख्‍न पाएको छैन। र पाउने विषय पनि हैन। मृत्युपछि माया गर्नेहरू एकैठाउँ हुन्छन् रे भन्ने सुनेको। तर हुन्छ कि हुँदैनन् कसले देखेको छ र। फेसबुकमा तिम्रो दिदीले तिमीलाई अलबिदा भनेर पोष्ट्याएको तस्विर अस्ति भर्खरै फेरि देखेँ। अनि नवराज पराजुलीले लेखेको 'रूख' शीर्षकको कविता सम्झिएँ।

‘तिमीलाई त म सधैँ उस्तै नै देख्छु

र तिमीलाई त म जवान नै देख्छु

जवानीमै जिवन छाड्नेहरू

कहिले बुढो हुनन् होला है

छुटेको मान्छे अन्तिम भेटमा

जस्तो देखिएको थियो

सधै त्यस्तै नै रहिरहन्छ जस्तो लाग्छ।’

मेरी ‘डी’ आज पनि तिमी उस्तै होलाउ है १६ वर्षे ऊबेला कलेजमा देखिएकी जस्तै। तिमीले भन्थ्यो ‘म मरेका दिन सबै रुन्छन् तिमी नरुनु।’ मन त मेरो पनि दु:खेको थियो नि तिमी सधैँका लागि टाढा हुँदा। त्यसैले तिम्रो अन्तिम स्वास गएपछि एक्लै कोठामा पसेर रोए। तिमी अन्तिम स्वासपछि यो संसार एकैपटक ध्वस्त भयो र म बाँच्नुको कुनै अर्थ देखेको थिइनँ। कसो कसो बाँचे र आज तिमीलाई यो  प्रेमपत्र लेख्ने हिम्मत जुटाएँ।

हरेक वर्ष आजकै दिन बारम्बार म एक्लै आँशु बगाएको हुन्छु। खुब रुन्छु एकान्तमा। लाग्छ अब त आँशु सकिए तर केही बेरमा फेरि भरिहाल्दो रहेछ। सायद आँशु रित्तिएर फेरि भरिए जस्तै मरेको कोही मान्छे फेरि बाँचेर आउने भए म तिमी फर्केर आऊ भनेर माग्थे। तर, यो सबै मेरो कल्पना मात्र हो। जाने मान्छे गएपछि फर्केर आएको छैन र कठोर मनले स्वीकार्नुपर्छ।

तिमीले एउटा सपना देखेकी थियौ। सपनाभन्दा पनि मैले कहिलेकाहीँ लुकीलुकी कोर्ने शब्दहरूमा तिमीले मेरो भविष्य देखेकी थियौ। तिम्रै हौसला र प्रेरणाले म आजकाल शब्दकै खेती गर्छु। यो तिम्रो लागि लेखेको ११ औ प्रेमपत्र पनि त्यसकै उपज होभन्दा तिमी आफूलाई धन्य ठान्छौ होला।

आजकाल कहिलेकाहीँ म पुरानो गाउँ जान्छु। अब त त्यो गाउँ मेरो लागि मात्र हैन तिम्रो लागि पनि पुरानै गाउँ हो। तिमी र मैले छाडेको ११ वर्ष भएपछि दिन मात्र त फरक हो वर्ष त उही हो २०६७।

तिमी छैनौ छन त केवल तिमीले रोपेका रूखहरू, तिमीले हिँडेका बाटोहरू, तिम्रा यादहरू र त्यो एक थान फोटो जुन हामीले टुरका दौरानसँगै खिचेका थियौँ। तिमी र मैले त्यो पर खेतको सिरानमा रोपेको बर र पीपल पनि हुर्किएर रूख भइसकेछन्। केही दिनअघि त्यहाँ गएर एउटा कविता लेखिदिएँ तिम्रो यादमा

बाफसँगै उडेका यादहरू

सम्हाल्न खोज्छु

तर अविराम यात्रामा हिँडेको मन

थाहा छैन गन्तव्य कहाँ ..

तिम्रा यादहरू

आउछन् कफीको चुस्कीसँगै

हरेक दिन हरेक रात

छरिएका यादहरू

संगाल्न खोज्छु

उडछन कफीको बाफसंगै

बढ्छन सपना लहरहरू

समुद्रका छालसँगै

बग्दैन नदीका लहर जस्तै

सपना विपना कल्पना र सम्झनासँगै

हरेक गन्तव्यका यात्राहरू।

लेख्‍न त तिमीलाई धेरै कुरा लेख्‍नु थियो। फेरि शब्दहरू रित्तिएलान् अर्को वर्ष के लेख्‍ने भन्दै सोचेर यो कलम बन्द गर्ने जमर्को गरेँ। भगवानको दुनियाँमा तिमी खुशीले बस्नु। यदि किम्वदन्तीमा भनिएजस्तै ‘चोखो माया गर्ने प्रेमीहरूको मिलन मृत्युपछि हुन्छ भने हामी फेरि सँगै हुनेछौँ।’

उही तिम्रो अभागी प्रेमी

                                                          नवराज

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.