प्रतिनिधिसभा पुनःस्थापना कि निर्वाचन भन्नेमै नेताहरुकाे दुई मत

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि जनता समाजवादी पार्टी (जसपा)मा पनि विवाद देखिएको छ। संसद विघटनपछि त्यसको विरोधमा जाने या निर्वाचनमा भन्ने बिषयमा जसपामा विवाद भएको हो। 

संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरू संसद् पुनःस्थापनाको पक्षमा छन्। तर, पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरू मध्यावधि निर्वाचनको तयारीमा जुट्नुपर्ने पक्षमा देखिएका छन्। 

यसरी संसद् विघटनबारे जसपामा पनि दुई धार स्पष्ट देखिएको छ। ओली 'प्रतिगमन' विरुद्ध नेपाली कांग्रेस, प्रचण्ड–माधव नेकपा र जसपाका एक्ला एक्लै जनप्रदर्शन राम्रै देखिएको अध्यक्ष भट्टराईले बताइरहेका छन्।

जसपाका नेता राजेन्द्र महतोले सार्वजनिक कार्यक्रममा ओली र प्रचण्ड–माधव पक्ष दुवैप्रति रुष्ट रहेको प्रतिक्रिया दिँदै आइरहेका छन्। यसले के देखाउँछ भने उनी पनि संसद् विघटनप्रति आन्दोलनमा जाने या ओली पक्षलाई साथ दिने भन्नेमा अलमलमै छन्। प्रतिनिधिसभा विघटनपछि नेता महतोले अझै स्पष्ट रुपमा आफ्नो धारणा राख्न सकेका पनि छैनन्। 

उनले सार्वजनिक रुपमा दिने अभिव्यक्तिमा संसद पुनःस्थापनाको पक्षमा लाग्ने वा निर्वाचनको पक्षमा जाने भन्ने कुरा छुट्याउन मुस्किल पर्छ। उनले पश्चिम नवलपरासीमा पुगेर प्रधानमन्त्री ओलीलाई महाराजको संज्ञा दिएका थिए । 

‘संविधान जारी गर्ने समयमा अन्तरिम संविधानमा भएका व्यवस्थाहरु समेत कटौती गरेर तत्कालिन एमाले, माओवादी, नेपाली कांग्रेसलगायतका दलहरूले सहमतिमै संविधानमाथि प्रतिगमन गरेका थिए’ नेता महतोले भनेका थिए, ‘ओलीकै कारण नेपाली जनताले वर्षौं संघर्ष गरेर प्राप्त गरेको संविधानसँगै हालसम्म प्राप्त सबै उपलब्धि गुम्ने खतरा बढेको छ।’ 

ओलीको प्रतिगामी कदमविरुद्ध जसपा शुरूदेखि नै विरोधमा रहे पनि अब संयुक्त आन्दोलनको विकल्प नरहेको भन्दै महतोले त्यसका लागि पहिला सडकमा रहेको नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तयार हुनुपर्ने धारणा व्यक्त गरे।

 नेता महन्थ ठाकुरले भने केही दिनअघि प्रधानमन्त्रीले संसद् विघटन र संविधानको कुरा गर्दा सरकारमा बोलाएका भन्दै टिप्पणी गरेका थिए। यसले पनि जसपाका नेताहरूको अबको लाइन के हो ? भन्ने स्पष्ट हुन सकेको देखिँदैन।  

'कांग्रेसको ढुलमुले प्रवृत्तिले संयुक्त जान सकेनौँ'

पार्टीले निर्णय गरेर संविधानको रक्षा र संसद पुनःस्थापना गर्नका लागि आन्दोलनमा जाने तयारी भइरहेको नेता महेन्द्र राय यादव बताउँछन्। 
 
‘पार्टीले निर्णय गरेर संविधानको रक्षा र संसद पुनःस्थापना गर्नुपर्छ भनेर आधिकारिक रुपमा निर्णय गरिसकेका छौँ’ उनले भने, ‘अहिले हाम्रो पार्टीको धारणा भनेको संविधानलाई संसद पुनःस्थापनाबाट नै कार्यान्वयनमा ल्याउन सकिन्छ भनेर लागिरहेका छौँ।’ 

प्रधानमन्त्री ओलीको कदमविरुद्ध संयुक्त आन्दोलनमा जानका लागि कांग्रेसको ढुलमुले प्रवृत्तिले समस्या भएकाे उनले सुनाए । ‘नेकपा प्रचण्ड–माधव पक्षले संयुक्त मोर्चा बनाऔँ भन्नुभएको छ, संयुक्त आन्दोलनमा जान तयार छौँ। कांग्रेसले नेतृत्व लिएमा हामी तयार छौँ’ उनले भने, ‘कांग्रेसको ढुलमुलको कारणले संयुक्त आन्दोलनमा जान सकेका छैनौँ।’

अध्यक्ष महन्थ ठाकुर र नेता महतो निर्वाचनको पक्षमा ढल्किनुभएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘पार्टीको आधिकारिक निर्णय जुन गरेको छ। त्यही हुन्छ। व्यक्तिले कहाँ गएर के कुरा गर्छ भन्ने कुराको  अर्थ हुदैन।’ 

संविधान निर्माणमै प्रतिगमन!

नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रतिगमन भएको देखे पनि संविधान निर्माणको क्रममै प्रतिगमन भएको जसपा नेता रामबाबु यादव बताउँछन्।

‘आन्दोलनको पक्षमा छौँ हामी। व्यक्तिले जे कुरा गर्छ त्यसले हुदैन। पार्टीले आधिकारिक निर्णय गरेर हामी संसद पुनःस्थापनाको पक्षमा लागिरहेका छौँ। संयुक्त आन्दोलनको मोर्चा बन्न सक्छ’ उनले भने, ‘संविधानमा भएका त्रुटिहरु सच्याएर जान सबै तयार भए हामी जाछौँ।’

संविधानमा देखिएका त्रुटिलाई सच्याएर जान तयार भए ओलीको कदम विरुद्ध लाग्न सक्ने उनको तर्क छ। 

‘उहाँहरुले अहिले मात्रै प्रतिगमन देख्नुभएको छ। तर, हामीले संविधान बनाउने बेलामा नै प्रतिगमन भएको भनेका हाैं। अहिले पनि संविधानमा भएको त्रुटिलाई सच्याएर जान्छौँ भन्नुुहुन्छ भने हामी तयार छौँ’ उनले भने। 

यद्यपी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार जसपा संघीय परिषद अध्यक्ष भट्टराईको पुस्तक विमोचन कार्यक्रममा पुगेर संविधान संशोधन गर्न सकिने बताएका थिए। 

संविधानमा समावेशी लोकतन्त्रको राम्रो व्यवस्था गरेको बताउँदै प्रचण्डले भनेका थिए, ‘संघीयता, लोकतन्त्र र धर्म निरपेक्षतालाई पनि उल्लेख गरिएको छ, संविधानलाई परिमार्जन गर्न आवश्यक भएर पहिला दुई पटक परिमार्जन गरेको हुँ, संविधान निरन्तर गतिशिल र परिमार्जन गर्न सकिने दस्तावेज हो।’

दुई धार भएको छैन 

पार्टीले आधिकारिक रुपमा संसद विघटनविरुद्ध जाने निर्णय गरेकोले पार्टी दुई धारमा विभाजित नभएको जसपा नेता राजकिशोर यादव बताउँछन्। 
‘पार्टीले आधिकारिक रुपमा निर्णय गरेर संसद पुनःस्थापनाको पक्षमा आन्दोलनमा जाने भन्ने निर्णय गरिसकेको छ। पार्टीभित्र दुई धार भएको कुरा हल्ला मात्रै हो’ उनले भने, ‘पार्टीको औपचारिक निर्णय नै मान्य हुन्छ।’

उनी संयुक्त आन्दोलनमा जानका लागि संयुक्त एजेण्डा बन्नुपर्ने तर्क गर्छन्। ‘संविधान निर्माण प्रक्रिया मै असहमति हो। पार्टीले संविधानको बारेमा साझा बुझाई के छ स्पष्ट हुनुपर्छ’ उनले भने।

पार्टीभित्र तिव्र असन्तुष्टि 

संसद विघटन विरुद्ध जाने वा निर्वाचन जाने भन्ने बिषयमा जसपामा तिव्र असन्तुष्टि छ। 

‘पार्टीभित्र अहिले धेरै शिर्ष नेताहरु भएका छन्। बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर, अशोक राई लगायतको शिर्ष नेता बोलि राख्नुभएको छ’ एक नेताले भने, ‘हामीले बोलेर हुने केही छैन। शिर्ष नेताहरुले नै निर्णय गर्नुहोला।’ 

शिर्ष नेताहरुले सार्वजनिक रुपमा बोलेका कुरालाई आफूहरुले केही भन्न नमिल्ने उनकाे भनाई छ। ‘उहाँहरुले बाहिर कहाँ-कहाँ गएर के-के बोल्नुहुन्छ भन्ने त हामीलाई थाहा हुने कुरा भएन नी!’ ती नेताले थपे। 

बाबुराम खरो रुपमै उत्रिए

प्रतिनिधि सभाको विघटनपछि जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव बोलिरहेका छन्। जसमध्ये डा. भट्टराई मात्रै खरो रुपमा बोलिरहेका छन्। 

उनले ओली नक्कली राष्ट्रवादको मुखौटो लगाएर सत्तामा पुगेको आरोप लगाउँदै आइरहेका छन्। शनिबार आफूद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले भनेका थिए, ‘प्रधानमन्त्री ओलीको कदम प्रतिगमन मात्रै नभएर प्रतिक्रान्तितर्फ गएको छ। अन्तरराष्ट्रिय सेटिङको आधारमा अहिले ओलीले कदम चालेका छन्।’

उनले प्रधानमन्त्री ओलीको कदमलाई परास्त गर्नका लागि संयुक्त आन्दोलनमा जानुको विकल्प नभएको बताउँदै आइरहेका छन्। 

जुन संविधान त्याग्यो, उसैको माया

संविधानसभाबाट नेपालको संविधान जारी भएको साढे ५ वर्ष बितिसकेको छ। वि.सं. २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए। 

संविधान जारी भएर कार्यान्वयन भइसक्दा पनि मधेसवादी र केही क्षेत्रीय दलले असन्तुष्टि जनाइरहेका छन्। यही संविधान अन्तर्गत बनेको सरकारमा गइसक्दा पनि उनीहरुको असन्तुष्टि हटेको छैन। प्रदेश २ को सरकार बहुमतसहित चलाइरहेको जनता समाजवादी पार्टीले त अझै पनि संविधान स्वीकार गर्न मानेको छैन। 

प्रत्येक बर्ष सरकारले संविधान दिवस मनाइरहँदा जनता समाजवादी पार्टीले विभिन्न विरोधका कार्यक्रम राख्न अझै छाडेको छैन। यही बर्ष पनि जनता समाजवादी पार्टी नेपालका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले संविधान दिवसका दिन विरोध कार्यक्रम नै सार्वजनिक गरेका थिए। 

यद्यपी, उनीहरुले संविधानको विरोध गर्दै गर्दा अहिले  प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि त्यही संविधानको संरक्षण गर्न भन्दै सडकमा निस्किएका छन्। 

संविधान संघीयता समावेशी लोकतन्त्र, राष्टिय पहिचान, समानुपातिक समावेशीकरण, लगायतका प्रावधानहरू पनि अपुरो भएको भन्दै उनीहरुले विरोध गरिराख्दा अहिले त्यही संविधानको रक्षाका लागि उत्रिएका हुन्। संविधान पूर्णरुपमा अस्वीकार नगरेको भन्दै केही संशोधन गर्नुपर्ने भएकाले त्यसको विरोध मात्रै गरेको नेताहरुले तर्क गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.