|

काठमाडौं :  लेखक पोस्तक श्रेष्ठको कथा संग्रह 'मुन्नी' केही दिनअघि सार्वजनिक भयो।  लामो समय फूटकर कथा र कविता लेखनमा रमाइरहेका श्रेष्ठले संग्रहका रूपमा पहिलोपटक कृति ल्याएका हुन्।

लामो समयदेखि अमेरिकामा रहेका उनी नेपाल र अमेरिकामा बसाइका क्रममा लेखेका कथाहरू कृतिभित्र समावेश गरेको बताउँछन्। 'मुन्नी' मा विविधता रहेको उनको दाबी छ। कथा लेखनमा सरल भाषा शैली अपनाउन मन पराउने श्रेष्ठसँग कृतिमा आधारित भएर थाहाकर्मी राजु पौडेलले कुराकानी गरेका छन् :

कृतिहरूको भीड बढाउने क्रम जारी छ, यो बेला 'मुन्नी' सार्वजनिक भएको छ। यो कृतिले भीडको अंशमा पृथक यात्रा गर्छ भन्ने आधार के हो?

नेपाली कृतिहरूको उल्लेखनीय वृद्धि हुनु खुशीको कुरा हो। नेपाली भाषा-साहित्यप्रति लगाव बढेको संकेत हो यो।

पाठकहरूले बढी छनौटको अवसर पाउँछन्‌। यो मेरो पहिलो कृति हो। आफू एउटा अन्जान नाम भएको र पुस्तकको रूपमा पहिलो प्रयास भएकोले धेरै आशा चाँहि गरेको छैन।

आफ्नो ज्ञानको स्तर र क्षमताले भ्याए जति लेखेको छु। अब यो मुन्नी भीडमा हराउँछे वा भीड छिचोल्छे भन्ने कुरा पाठकहरूमै भर पर्छ। तर, यति भन्न सक्छु : पुस्तकको रूपमा यो सफल-असफल जे होला, यसले एउटा लेखकचाँहि अवश्य जन्माउनेछ।

१६ वर्षदेखि अमेरिकामा पर्यटन व्यवसाय अघि बढाइरहनुभएको छ, लेखन र व्यावसायिक जीवनको लयबीच समन्वय कसरी गरिरहनु भएको छ?

स्वरोजगार भएकोले काममा केही सुविधा, लचिलोपनभइहाल्छ। कुनै बेला कुनै कथाको बीऊ भेटेँ भने दुईचार हरफ लेखेर छोडिदिन्थेँ। कामको चाप कम भएको बेला लेख्न बस्थेँ।

कथा प्रवाहमा जाँदा रातभर जागा बसेर पनि लेखेँ। तर, रोजीरोटीको कामलाई व्यवधान हुने गरि चाँहि लेख्न बसिनँ। अध्ययन-लेखन रुचि हो। व्यवसाय पेशा हो। दुवैलाई समन्वय गर्दै लैजाँदा यी कथाहरू पुस्तकको रूपमा आउन दशकभन्दा बढी लाग्यो।

नेपाली साहित्यमा आख्यान बाढी छ, कथा लेखन छिटफुटमा भएमा पनि कथा संग्रह प्रकाशन न्यून रछ। तपाई भने कथा संग्रह लिएर आउनु भएको छ। कथा संग्रह पढ्न इच्छुक पाठकका लागि 'मुन्नी'को इन्जिनियरिङ कस्तो छ?

अरू लेखकहरूले कसरी लेख्छन्, मलाई थाहा छैन। तर, मेरो कुनै निश्चित ‘डिजाइन’ वा ‘आर्किटेक्चर’ छैन। कुन बेला भावना पग्रिन्छ, त्यसलाई शब्दमा उतार्ने हो र त्यसले कस्तो प्रवाह लिन्छ-त्यही अनुसार बहने हो।

कुनै तथ्यगत कुराहरू छन् भने गलत नहोस् भनेर केही खोजतलास त गर्छु नै। तर, यहाँ कथा उठान गर्छु, यहाँ द्वन्द्वमा फसाउँछु र यहाँ ‘क्लाइमेक्स’ मा उतार्छु भनेर सोच्दिनँ।

​‘मुन्नी’ संग्रह सन्दर्भमा भन्नुपर्दा यसमा समाविष्ट कथाहरूमा विविधता छ जस्तो लाग्छ। एउटा कथाको पृष्ठभूमि वा विषयवस्तु अर्कोसँग मेल नखाओस्। एकै लयको जस्तो नलागोस् भनेर प्रयास चाँहि गरेको छु। आम पाठकहरूले बुझ्न सक्ने भाषा छ, सरलता छ, रस छ जस्तो लाग्छ।

'घटनाबाट तटस्थ बस्न सक्दिनँ,' तपाईले गरेको टिप्पणी हो यो। तपाईंका लागि लेखन रहरभन्दा पनि सामाजिक रूपान्तरणको एउटा यात्रा हो?

म साहित्यप्रति रुचि भएको एक साधारण पाठक हुँ। लेखन मेरो लागि अहिलेसम्म पनि रहर नै हो। एउटा लहड हो। सायद लेखकहरूको सिको गरेको हुँ।

तर, ती रहर र लहडहरू जिम्मेवारीविहीन हुनुहुन्न भन्ने बोध चाँहि छ। घटनाहरूबाट प्रभावित जरुर भएको छु र त्यो लेखनमा छिरेको छ नै। तर, कुनै घटनालाई प्रधान बनाएर कुनै पक्षलाई पकडी डटेर लेखेको चाँहि छैन। समाजका कुरीति, कुसंस्कार, आडम्बर, ढोंगविरुद्ध केही प्रश्न उठाउने जमर्को गरेको छु।

फरक भूगोलमा बसेर साहित्य सिर्जना गर्दा अनुभूति र संवेदनामा पृथकता आउँछ कि कसो ?

अवस्थिति-परिस्थितिमा भिन्नता हुन्छ। तथ्यगत ज्ञान अपूरो हुन सक्छ। नेपालबाहिर धैरै बसेको कारणले नेपालबारे म अद्यावधिक भएको नहुन सक्छु। भाषा, भेषभुषा, रहनसहन, चालचलनमा भिन्नता आइसकेको हुन्छ। तर, संवेदना त उही हो।

भावनाको कुनै भूगोल हुँदैन। विदेशी भूमिमा बस्दा झन देश, भाषा र संस्कृति प्रतिको भावना प्रवल हुँदोरहेछ।

कथा लेखन एउटा र प्रकाशन अर्को कुरा हो, कृति प्रकाशनको पहिलो अनुभव कस्तो रह्यो?

सही हो-लेखन र प्रकाशन फरक कुरा हो। लेखन सिर्जनाको काम हो भने प्रकाशन व्यापार, ‘प्याकेजिंग ‘ब्रान्डिङ’ र ‘मार्केटिङग’को काम हो।

ख्याति कमाइसकेको कुनै व्यक्तिले पुस्तक लेख्छु भनेर घोषणा गरेकै भरमा प्रकाशकहरू लाइन लाग्छन्। तर, कुनै अज्ञात व्यक्ति फुत्त निस्किएर किताब लेखेको छु भन्दैमा कसले पत्याउने? नव-लेखकलाई आफ्नो सिर्जना आम पाठकसम्म पुगोस् र केही नाम होस् भन्ने लोभ हुन्छ भने प्रकाशकलाई पुस्तकले कस्तो व्यापार गर्छ भन्ने नै ध्याउन्न हुन्छ।

त्यसैले, सजिलो अनुभव त पक्कै भएन। यद्यपी; त्यो अपेक्षित नै थियो। पुस्तक प्रकाशन लेखक र प्रकाशकबीच द्विपक्षीय सहमतिको विषय हो। एक-अर्काप्रति विश्वासको कुरा हो। विश्वास र सहमति हुँदा सहकार्य भइहाल्छ र भयो पनि।

कथा ​संग्रहको शीर्षक 'मुन्नी'  नै राख्नुको केही विशेष कारण ?

हरेक कथा लेखिसकेपछि नाम के राख्ने भन्ने पीर पर्छ। झन्‌, संग्रह नै निकाल्ने भएपछि त नामको छिनोफानो गर्न गाह्रै कुरो रहेछ।

यी कथाहरू सरसर्ती एकपटक समालोचक-लेखक राजकुमार बानियाँजीले हेर्नु भएको थियो। वहाँको रोजाइ ‘मुन्नी’ नै थियो। पछि प्रकाशक अर्जुन अधिकारीजीले पनि त्यसैमा सहमति जनाउनु भयो र त्यही नाम नै छानियो। वास्तवमा मलाई पनि ‘मुन्नी’ मन परेका कथाहरू मध्येको एक हो।

 कथाको खास धर्म के हो?

अहो, यो गाह्रो प्रश्न गर्नु भयो। म कथाको धर्मबारे प्रवचन दिन सक्ने हैसियतको लेखक कहाँ हुँ र? साहित्यप्रति रुचि छ। तर साहित्यका विभिन्न वाद, धार, चिन्तन, दर्शनबारे अनभिज्ञ छु।

मैले जति बुझेको छु : त्यसबाट के लाग्छ भने कथाहरू साना सुन्दर, आँखीझ्याल बनून्-जहाँबाट समाजलाई नियाल्न सकियोस्। समाजका कुरीति, विसंगतीहरूप्रति सचेतना जगाओस्।

कथाकार पोस्तक श्रेष्ठलाई पाठक पोस्तक श्रेष्ठले दिने सुझाव के हुनसक्छ?

सायद तपाईले आफ्नो समीक्षा आफैँ कसरी गर्नुहुन्छ भनेर सोध्नु भएको होला।

मैले धेरै समकालीन लेखकहरूको पुस्तक पढ्ने मौका पाएको छैन। सकेसम्म पढ्न चाहन्छु। मेरा कथाहरूमा भूमिका वा वृत्तान्त थोरै मात्र हुन्छन् र घटना वा सम्वादको माध्यमबाट कथाले प्रवाह लिएको हुन्छ। त्यसलाई सन्तुलित गर्नुपर्छ जस्तो लाग्छ। शिल्प, उपमा, प्रतीकको प्रयोग सिक्नुछ।

'मुन्नी' संग्रहमा रहेका कथाले पाठकमा दिगो प्रभाव छाड्छन्‌ भन्ने आधारहरू के छन्?

मेरा कथाहरू मेरा अभिव्यक्तिहरू हुन्। त्यसले पाठकहरूलाई कत्तिको छुन्छ भन्ने कुरो चाँहि म आफैँ कसरी भनूँ र!

ज-जस्ले मेरा रचनाहरू पढ्नु भयो, वहाँहरूले राम्रो प्रतिकृया दिनुभएको छ। समाजका विविध पक्षहरू-प्रेम, द्वन्द, लैंगिक भेदभाव, छुवाछुत, विसङ्गत र मनोविज्ञान सबै समेटिएका छन्। कथाहरूमा विविधता पाउनुहुन्छ। रोमान्स छ, कौतुहुलता छ, प्रतिरोध छ।

यी कथाहरूले पाठकहरूको मन छुनु नै पर्ने हो। तर, यी सबै आफैँले के बखान गर्नू। सन्तान जस्तो भएपनि आफूलाई राम्रो लागिहाल्छ। सही मूल्यांकन त पाठकहरूले नै गर्नुहुनेछ।

कथा, कविता लेख्नु र व्यवसायिक जीवन बिताउनु कुन चाहिँ सहज रहेछ त?

सहज भन्ने चीज कुनै छैन। सबै क्षेत्रमा आ-आफ्ना कठिनाइहरू छन्। प्रविधिको विकास, विश्वव्यापी प्रतिष्पर्धा आदि कारणले व्यवसाय चुनौतीपूर्ण बनेको छ।

मलाई कहिलेकाँही लाग्छ - यी व्यवसायिक जिम्मेवारी, बाध्यताहरू नहुँदा हुन् त कति साहित्य सिर्जना गर्थें होला। साहित्य सिर्जना खुला आकाश हो - जहाँ स्वच्छन्द, निष्कण्टक उड्न सक्नु हुन्छ। साहित्यमा एक प्रकारको तुष्टि हुन्छ, तृप्ति मिल्छ। व्यवसायिक जीवनमा टन्न खान पाउनुहुन्छ होला, तर पनि एक प्रकारको भोक सधैँ रहन्छ।

नेपाली साहित्य मन पराउने र लेख्ने विश्वभर रहेपनि हाम्रो साहित्यले गरेको यात्रा साह्रै दु:खदायी अवस्थामा छ, यसको मूख्य कारण के हुन सक्छ?

पढ्नु भनेको कोर्सको पाठ्यपुस्तक मात्र हो, कोर्स बाहिरका किताब पढे मानिस बिग्रिन्छ भन्ने भावना शिक्षकदेखि अभिभावकसम्मको दिमागमा बसेको छ। पढ्ने भनेको कि प्रमाणपत्रको लागि, कि लोकसेवा पास गरी सरकारी जागीर खानको लागि भन्ने भएको छ। पढ्न रुचि हुने ले पनि किनेर पढ्न सक्दैनन्। किनेर पढ्ने हैसियत भएकालाई हिन्दी र अंग्रेजीको मोह छ। नेपाली पढ्नेलाई हेयको दृष्टिले हेरिन्छ।

हामीकहाँ चलचित्र भवनहरू खुले, होटल, रेष्टुरेन्ट, डिस्को, पार्टी प्लेस, क्लबहरू खुले, तर पुस्तकालयहरू खुलेनन्। विद्यालय-कलेजका पुस्तकालयहरू नाममात्रका छन्। भाषा साहित्यको विकासको जिम्मा पाएका सरकारी निकायहरू वर्षको दुईचार वटा पुस्तक प्रकाशन गरेर नै आफ्नो कर्तव्य पूरा भएको ठान्दछन्। खास नीति नै बनेको छैन। धेरै छन्-कारणहरू।

मुख्य दोष त राज्यलाई नै जान्छ - जो भाषा-साहित्य-संस्कृतिको विकासप्रति उदासीन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.