|

सर्लाही : फागुन महिनाबाट सुख्खा मौसम शुरू भएसँगै सर्लाहीको चुरे भेगका स्थानीय डढेलो त्रासमा परेका छन्।

सुख्खा र हावाहुरीको मौसममा जिल्लाको चुर भेगका जंगलमा भीषण डढेलो लाग्ने गरेको छ। यस्तै, पूर्व–पश्चिम राजमार्ग क्षेत्रका विभिन्न सरकारी र सामुदायिक वन तथा सागरनाथ वन विकास परियोजना, घुर्कौली, मुर्तिया वन क्षेत्रमा पनि बर्सेनि डढेलो लाग्नेगर्छ। 

वसन्त ऋतु शुरू भएसँगै रुखबिरुवाको नयाँ पात आउने र पुराना पात झरेर सुकेको समयमा जंगल क्षेत्रमा डढेलो लाग्ने गरेको छ। चुरेभेगस्थित लालबन्दी नगरपालिका–१४, नारायणखोला सतासका ९० वर्षीय स्थानीय विमानसिंह लामाले घर नजिकैको चुरेका जंगलमा बर्सेनी लाग्ने डढेलोका कारण फागुनदेखि जेष्ठ (चार महिना) सम्म त्रासमा बस्नुपर्ने बताए।

उनले भने, ‘पहिले जंगल घना थियो, जंगली जनावर प्रशस्त देखिन्थ्यो, अहिले देखिँदैन, सबै लोप भइसक्यो।' बर्सेनि लाग्ने डढेलोले वन्यजन्तु लोप हुँदै गएको उनले सुनाए’। 

चुरे क्षेत्रका दर्जनौ गाउँबस्ती डढेलोको जोखिममा छन्। बस्तुभाउ चराउन गएका गोठालोहरूले चुरोट बिँडी खाएर राम्रोसँग ननिभाइ जथाभावी ठुटा फ्याँक्नाले डढेलोको जोखिम बढ्ने गरेको स्थानीयहरू बताउँछन्।

अघिल्ला वर्षमा झैँ यो वर्ष पनि डढेलो लाग्ने समय शुरू भएपनि रोकथाम निम्ति कुनै निकायबाट पहल नभएको हरिवन–१ धिमिलेका स्थानीय राजु लामाले गुनासो गरे। लामाका अनुसार विगत वर्षहरूमा डढेलोका कारण जंगल नजिक र चुरे क्षेत्रमा बसोबास गर्ने नागरिकले जनधनको क्षति व्यहोर्नुपरेको थियो। डढेलो नियन्त्रणमा सम्बन्धित स्थानीय तह उदासिनता बन्दा आफूहरूले दु:ख पाइरहेको चुरे क्षेत्रका बासिन्दाहरू बताउँछन्‌।

​डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जंगलमा डढेलो लाग्दा मानव बस्ती समेत जोखिममा पर्ने भएकाले सचेत हुनुपर्ने बताए।

सर्लाहीको उत्तरी चुरे क्षेत्र पश्चिम बागमतीदेखि पूर्व बाँकेसम्म ३४ किलोमिटर लम्बाइमा फैलिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.