|

इलाम : पूर्वी पहाडी जिल्लाका मृगौला पीडितहरूले अब इलाम अस्पतालमै डायलासिस सेवा पाउने भएका छन्‌। रोटरी क्लब धरान र इलाम नगरपालिकाले इलाम अस्पताललाई तीन थान डायलासिस मेसिन हस्तान्तरण गरेका हुन्‌।

​सेवा शुरू भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका बिरामीले इलामबाटै मृगौला डायलासिस सेवा पाउनेछन्। यहाँ सेवा शुरू भएपछि नियमित डायलासिस गर्न तराई तथा अन्य जिल्लाका अस्पताल पुग्नुपर्ने बाध्यता हट्नेछ।

इलाम नगरपालिकाको १५ लाख रुपैयाँ र रोटरी क्लब धरानको २८ लाख ७५ हजार गरी ४३ लाख ७५ हजार रुपैयाँ बराबरको मेसिन अस्पताललाई हस्तान्तरण गरिएको रोटरी क्लब धरानको पूर्व उपाध्यक्ष कृष्ण शाहले बताए।

मेसिन जिल्ला समन्वय समितिको नयाँ भवनमा राखिएको छ। त्यहिँबाट सेवा दिइने अस्पतालले जनाएको छ। तीनवटै मेसिन जडान गरिसकिएको छ।

सेवा शुरू गर्न जनशक्तिलाई तालिम दिनुपर्ने जनाएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम दिइएपछि इलाम अस्पतालमा सेवा शुरू हुने इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए। एकजना एचए र एकजना स्टाफ नर्सलाई तालिम दिने तयारी भइरहेको उनले जानकारी दिए।

एउटा डायलासिस मेसिनबाट चार घण्टामा एक जनाले सेवा लिन सक्नेछन्। तीन वटा मेसिन भए पनि एक पटकमा दुई जनालाई सेवा दिन सकिने व्यवस्थापक खतिवडाले बताए। तीनमध्ये एक वटा मेसिन भने स्पायर राख्नुपर्ने भएकाले एक पटकमा दुई जनाले मात्रै सेवा पाउने उनले जानकारी दिए। अहिले तीन वटा मेसिन जडान भएका छन्।

भविष्यमा सात वटा मेसिन थप गरेर १० वटा बनाइने लक्ष्य रहेको पालिका प्रमुख तथा नेपाल नगरपालिका संघ एक नम्बर प्रदेशका संयोजक महेश बस्नेतले बताए। ‘जर्मनी दूतावासले नेपाल नगरपालिका संघमार्फत दुई सयवटा डायलासिस मेसिन दिने भएको छ, त्यसमार्फत प्राप्त सात वटा मेसिनको लागि हामीले आग्रह गरेका छौं,’ उनले भने, ‘उपकरण जडान भएपछि यसले मृगौला पीडितको जीवनलाई सरल, सहज र लामो बनाउनेछ भन्नेमा हामी ढुक्क छौँ।’

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले डायलासिस गर्ने उपकरण इलाममा जडान भएपछि पूर्वी पहाडी क्षेत्रका बासिन्दालाई निकै राहत मिल्ने बताए। ‘डायलासिस गराउनकै लागि तराईमा भएका अस्पताल या राजधानी जानुपर्ने बाध्यता थियो, अब त्यस्तो बाध्यता हट्नेछ,’ प्रमुख बरालले भने।

अस्पतालमा अहिले पनि विषेशज्ञ चिकित्सक लगायतका जनशक्तिको अभाव रहेको भन्दै उनले अन्य जिल्ला अस्पतालको तुलनामा इलाममा जनशक्तिको अवस्था राम्रो रहेको बताए।

जिल्ला अस्पतालमा केही समय अघि मात्रै दुई वटा भेन्टिलेटर जडान गरिएको छ। थप एउटा भेन्टिलेटरसमेत जडान गर्ने अन्तिम चरणमा रहेको बताइएको छ। यस अघि जिल्ला अस्पतालमा भेन्टिलेटर सुविधा थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.