|

काठमाडौं :  सरकारले कोभ्याक्स सुविधाअन्तर्गत आउने भनेको कोरोना विरुद्धको खोप केही महिनापछि मात्रै ल्याउने तयारी गरेको छ।

यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत् कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरिरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल खोप पर्याप्त रहेकोले कोभ्याक्स अन्तर्गत आउने खोप केही महिना पछि मात्रै ल्याउन लागिएको मन्त्रालय स्रोतले बतायो।

स्रोतले भन्यो ‘पहिलो त भारतले अनुदान स्वरुप दिएको खोप नै सकिएको छैन अर्को भर्खरै सरकारले खरिद गरेको खोपमध्ये १० लाख डोज खोप आएको छ, यो खोप नसकिँदै फेरी खोप ल्याए नलगाउँदै डेट सकिने जोखिम हुन्छ। त्यसैले कोभ्याक्स सुविधाबाट आउन लागेको खोप अलि पछि ल्याउने कि भन्ने तयारी गरेका हौँ।'

यसअघि कोभ्याक्स सुविधाबाट पनि कोभिशिल्ड खोप नै आउने र पहिलो चरणमा २२ लाख ५६ हजार खोप आउने बताइएको थियो। सबै देशले  बराबर रुपमा खोप पाउनुपर्छ भन्ने उद्देश्यले गठित काेभ्याक्स विश्व स्वास्थ्य संगठन, गाभी, युनिसेफलगायतका संस्था मिलेर बनेको एलाइन्स हो। २० प्रतिशत नेपालीलाई पुग्नेगरी नि:शुल्क उपलब्ध गराउने पनि कोभ्याक्सले प्रतिबद्धता जनाइसकेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्यालाई पुग्नेगरी कोभ्याक्स सुविधामार्फत खोप आउने यस अघि नै बताइसकेको छ। विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन एलाइन्स (गाभी) लगायत संस्थाले निम्न आय भएका देशलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।

कोभिशिल्ड खोप ६ महिनाभित्र लगाइसक्नु पर्ने

हाल नेपालमा लगाउन सुरु गरिएको अक्सफोर्ड  एस्ट्राजेनिका र सेरम इन्स्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिशिल्ड खोप उत्पादन भएको मितिले ६ महिनासम्म लगाइसक्नु पर्ने हुँदा हाल आएको खोप नै लगाइसकेपछि मात्रै थप खोप ल्याउने गरी तयारी सुरु गरिएको हो।

हाल नेपालमा यसअघि माघको पहिलो हप्ता भारतले अनुदान स्वरुप दिएको १० लाख डोज मध्येको ५ लाख डोज खोप अझै रहेको र सरकारले खरिद गर्ने भनेको २० लाख डोज खोप ल्याएर लगाइसकेपछि मात्रै कोभ्याक्स खोप ल्याउने तयारी रहेको मन्त्रालय स्रोतले बतायो।

स्रोतले भन्यो ‘ हाल हामीसँग अनुदानस्वरुप दिएको १० मध्येको ५ लाख डोज खोप अझै छ। यो खोप अप्रिलसम्म लगाइसक्नु पर्छ भने, हिजो आएको खोप  १० लाख डोज आगामी जुन महिनासम्म लगाइसक्नु पर्छ। अझै अब फेरि खरिद गरेकामध्ये थप १० लाख डोज आउनै बाँकी छ। त्यसैले अब यहाँ भएको खोप लगाइ सकेपछि मात्रै कोभ्याक्स सुविधा अन्तर्गतको  खोप ल्याइन्छ होला।‘

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. भिमसिहं तिङ्करीका अनुसार खोप भण्डारमा समस्या नभए पनि कोभिसिल्ड खोप उत्पादन भएको ६ महिना भित्र लगाइसक्नु पर्ने हुँदा खोप खेर नजाने तरिकाले ल्याउनुपर्ने बताए।

उनले भने ‘अरु भ्याक्सिन उत्पादन भएको १८ हप्तासम्म लगाए पनि हुन्छ तर यो कोभिसिल्ड खोप उपत्पादन भएको ६ महिनासम्ममा लगाइसक्नु पर्छ, हाम्रोमा कोभिसिल्ड खोप लगाउने संख्या कम छ, एकै पटक धेरै खोप ल्याएर खेर फाल्नुभन्दा चरणवद्ध तरिकाले ल्याउँदा राम्रो हुन्छ।'

 दोस्रो चरणको अभियान अनुदानकै खोपबाट सुरु गरिने

डा. तिङ्करीका अनुसार अब सरकारले फागुन २३ गतेबाट सुरु गर्न लागेको दोस्रो चरणको खोप अभियानमा अनुदान स्वरुप आएको १० लाख खोप मध्येको बाँकी ५ लाख खोपबाट सुरु गरिने बताए।

त्यसको लागि खोप प्रदेशहरुमासमेत पठाइसकिएको उनको भनाइ छ। उनले भने ‘ दोस्रो चरणको सुरुमा हामीले अनुदान स्वरुप आएको खोपमध्ये रहेको ५ लाख खोप लगाएर सुरुवात गरिन्छ भने दोस्रो डोज लगाउनका लागि भर्खरै खरिद गरेर ल्याइएको १० लाख खोपबाट लगाउने गरी तयारी गरेका छौँ।'

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.