|

महोत्तरी : महोत्तरीमा प्राविधिक शिक्षाका नाममा व्यपाक अनियमितता भइरहेको पाइएको छ। जिल्लामा शैक्षिक ठगहरूको खुलेयाम बिगबिगी हुँदापनि स्थानीय सरकार र स्थानीय प्रशासन मौन बसेको भन्दै व्यापक गुनासो आउन थालेको छ। 

जलेश्वर नगरपालिका–५ स्थित श्री माध्यमिक विद्यालय पर्सापतैलीमा प्राविधिक शिक्षा सञ्चालनका लागि सरकारबाट प्राप्त लाखौं रुपैयाँ काम नगरी सकेको खुलेको छ। प्रदेश नं २ समाजिक विकास मन्त्रालयले सो विद्यालयमा सिभिल इञ्जिनीयरको कक्षा सञ्चालन गर्नका लागि गत आर्थिक वर्षमा २५ लाख रकम उपलब्ध गराएको थियो। तर विद्यालय व्यवस्थापन समितिको मिलेमतोमा विद्यालयका प्रधानाध्यापक रञ्जय रायले मापदण्डानुसारको कुनै पनि कामै नगरी भुक्तानी लिएको रहस्य खुलेको छ। 

सिभिल इञ्जिनीयरको कक्षा सञ्चालन गर्नका लागि विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) बाट अनुमति लिनुपर्छ र अनुमति लिइसकेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था छ। तर विद्यालयले अहिलेसम्म सिटिइभिटीबाट  सिभिल इञ्जिनीयरको कक्षा सञ्चालनका लागि अनुमति लिएको छैन। प्राविधिक शिक्षाका लागि प्रदेश सरकारबाट प्राप्त २५ लाख डेस्क बेञ्च खरिद तथा अख्तियार दुरुपयोग अनुसन्धान विभागले छानविन गरेको जीर्ण भवनको एक कोठालाई प्लास्टर गरेर केको स्थानीय मनोज चौधरीले आरोप लगाए। 

एक लाख बराबरको डेक्स बेञ्च तथा दुई लाख बराबरको कोठा पलास्टर गरेर बाँकी रकम हिनामिना गरेको आरोप चौधरीको छ। अर्का स्थानीय वासुकी चौधरीले कोभिड–१९ का कारण विद्यालय लामो समयसम्म बन्द रहेको बेला आइसिटि संस्थाले विद्यालयलाई २४ थान कम्प्युटर दिएको थियो भने विद्यालयमा पहिलादेखि नै १५ थान कम्प्युटर रहेको थियो। तर विद्यालयका प्रधानाध्यापक राय र विद्यालय व्यवस्थापन समितिले फर्जी बिल ल्याएर उक्त कम्प्युटर प्राविधिक शिक्षाका लागि खरीद गरेको भनेर २५ लाख रकम अनियमितता गरेको आरोप लगाए।

प्राधानाध्यापक रायले विगत १२–१३ वर्षदेखि काम गर्दै आएकामा अहिलेसम्म कुनै पनि योजना तथा कार्यक्रमको बजेट सार्वजनिक नगरेको र प्राविधिक शिक्षाका लागि आएको रकम पनि आफू र आफू निकट व्यवस्थापन समितिका सदस्य र केही स्थानीय नेतालगायतलाई बाँडेर भ्रष्टाचार गरेको स्थानीयवासी सन्तोष चौधरीले आरोप लगाए। प्रअ रायसँग आयव्यय सार्वजनिक गर्न आग्रह गर्दा उल्टै आफू शिक्षक सङ्गठनको पदाधिकारी रहेको भन्दै थर्काएर पठाउने गरेको अभिभावकको भनाइ छ। 

प्रधानाध्यापक रायले आफूले कुनै किसिमको अनियमितता नगरेको बताए। सभन्दाअघि पनि प्रधानाध्यापक राय विभिन्न विवादमा पर्दै आएका छन्। १० वर्षअघि विद्यालयको दुईकोठे भवन निर्माणका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालय महोत्तरीले २४ लाख रकम विद्यालयको खातामा पठाएको थियो। तर प्रधानाध्यापक रायले उक्त भवन नबनाएर दुई वर्षजति फर्जी कागजात देखाएर उक्त रकम आफ्नो निजी काममा खर्च गरेका थिए। पछि स्थानीयवासीले विद्यालयमा पैसा आएको तर प्रधानाध्यपकले उक्त रकम आफ्नो निजी खर्चमा प्रयोग गरेको थाहा पाएपछि उनीहरुले अख्तियारमा उजुरी दिएका थिए।

अख्तियारले समात्ने डरले प्रधानाध्यापक रायले एक महिनामा जसोतसो विद्यालयको दुईकोठे भवन तयार गरे। तर कमसल सामग्री र मापदण्डविपरीत घर बनाएका कारण लामो समयसम्म अख्तियारले छानविन गरेको थियो। राजनीतिमा प्रअ रायको पकड भएकै कारण उनलाई कारवाही नभएको स्थानीयको गुनासो छ। वडाध्यक्ष राकेश राउतले भने पछिमात्र प्रतिक्रिया दिने बताए।

यस विद्यालयमा मात्रै नभएर प्रदेश नं २ मा प्राविधिक शिक्षाका नाममा करोडौं रकम घोटाला भएको बताइएको छ। कुनै पनि कार्यक्रम सञ्चालन गरिदा त्यसको सार्वजनिक सूचना वा आवेदन आह्वान गर्नुपर्ने हुन्छ। प्राविधिक शिक्षा सञ्चालनका लागि भन्दै सामाजिक विकास मन्त्रालयद्वारा प्रदेशका आठ जिल्लाका ६४ विद्यालयलाई सोझै छनोट गरी रकम बाँडिएको बताइएको छ।

नेताहरुको आफू निकट रहेका प्रअ तथा व्यवस्थापन समिति रहेको विद्यालयमा प्रतिविद्यालय २५ लाखका दरले १६ करोड  विभिन्न शीर्षकमा भुक्तानी गरिएको छ। भुक्तानी गरिएको रकम उल्लेखित भएको शीर्षकमा खर्च भए नभएको अनुगमनसमेत नगरी निकासा गरिएको छ। प्राविधिक शिक्षा अध्यापनको स्वीकृतिसमेत प्राप्त नगरेका विद्यालयलाई जथाभावी रकम बाँडिएको छ भने प्रदेश सरकारले उपलब्ध गराएको रकममा विद्यालयले व्यापक अनियमितता गरेको पाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.