तामाङ मन्त्री भएपछि को होला पूर्वएमालेबाट सचिव?

|

कञ्चनपुर : नेकपाको प्रचण्ड–माधव समूहले सुदूरपश्चिममा कञ्चनपुरबाहेक सबै जिल्लाका रिक्त पदाधिकारी पूर्ति गरेको छ। संसद् विघटनपछि नेकपा दुई समूहमा विभाजित भएपछि रिक्त अध्यक्ष र सचिव पूर्ति गरिएका हुन्। 

सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा नेकपा ओली समूहमा गएका अध्यक्ष र सचिव स्थानमा नयाँलाई चयन गरिएको छ। कञ्चनपुरमा अध्यक्ष रिक्त छ। नेकपा कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापा नेकपा ओली समूह गएपछि अध्यक्ष रिक्त हुन गएको हो। पूर्व माओवादी केन्द्रबाट अध्यक्ष बनेका थापा अहिले ओली समूहको अध्यक्ष छन्। 

पूर्वमाओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेश कमिटीमा सिफारिस गरिएका नाममा सहमति हुन नसकेपछि अध्यक्ष चयन पेचिलो हुन पुगेको छ। आकांक्षीबीच सहमति हुन नसकेपछि केही दिनपछि छलफल गरी अध्यक्ष चयन गरिने नेकपाका नेताहरुले बताए।

नेकपा स्रोतका अनुसार अध्यक्षका लागि देवीलाल चौधरी, टिकेन्द्र प्रसाद भट्ट, कमल क्षत्री र देवेन्द्र ढुंगाना आकांक्षी छन्। उनीहरुमध्ये चौधरी नेकपा केन्द्रीय सदस्य र कञ्चनपुर सहइन्चार्ज हुन्। उनलाई प्रचण्ड नेपाल समूहकी केन्द्रीय सदस्य पूर्वमन्त्री बिना मगरले अघि सारेकी हुन्।

अध्यक्षका आकांक्षीद्वय भट्ट र क्षेत्री संविधान सभा सदस्य हुन्। उनीहरुमध्ये भट्ट यसअघि पनि अध्यक्षका आकांक्षी थिए। नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले साथ नदिएपछि वीर बहादुर थापालाई अध्यक्ष बनाइएको थियो। भट्टले अध्यक्ष साथ दिएका कारण थापा अहिले भट्टसँगै ओली समूहमा छन्।

नेकपाको प्रचण्ड–माधव समूहका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज खगराज भट्ट छन्। प्रचण्ड समूहकी केन्द्रीय सदस्य मगर २०७० को निर्वाचनपछि असन्तुष्ट छिन्। उनी चौधरीलाई अध्यक्ष बनाउन दबाब दिइरहेकी छन्।

ढुंगाना नेकपाको कार्यालय सदस्य छन्। उनी नेकपा कञ्चनपुर क्षेत्र नं ३ का संयोजकसमेत हुन्। ढुंगानालाई अध्यक्ष बनाउन नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसम्म दबाब दिइएको नेताहरु बताउँछन्। उनलाई अध्यक्ष बनाउन पूर्वएमालेका केही नेताले रावलसित लबिङ गरेका छन्। 

कृष्णपुर नगरपालिकाका क्षत्री २०६४ को संविधान सभा सदस्य निर्वाचन तत्कालीन क्षेत्र ४ बाट चुनाव लडेका थिए। कांग्रेस सभापति शेर बहादुर देउवासित पराजित उनी पछि उप निर्वाचन जितेर संविधान सभा सदस्य भएका थिए।

नेकपाको जिल्ला सचिव पूर्व एमालेका तारालामा तामाङ छन्। उनी पूर्व एमालेका जिल्ला अध्यक्ष हुन्। कञ्चनपुर क्षेत्र १ क का प्रदेश सभा सदस्य तामाङ नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक हुन्।

मुख्यमन्त्रीको दौडमा रहेका तामाङलाई अन्तिममा प्रमुख सचेतक दिइएको थियो। तामाङलाई सचेतक बनाएर कञ्चनपुरको मन्त्री हुने बाटो बन्द गरिएको थियो।नेकपा विभाजित भएर अप्ठेरो अवस्था आएपछि अहिले तामाङलाई मन्त्री बनाउने चर्चा चलेको छ। उनलाई सुदूरपश्चिम प्रदेश सरकारको रिक्त भौतिक पूर्वाधार मन्त्रालय वा अन्य मन्त्रालयमा लैजाने गरी छलफल अघि बढाइएको छ।

यस्तो प्रस्तावमा पनि छलफल

नेकपाका अध्यक्ष थापा ओली समूहमा गएपछि प्रचण्ड नेपाल समूह अध्यक्ष चयनका लागि छलफल अघि बढाएको हो। यसअघि बैतडीमा पूर्व माओवादीलाई अध्यक्ष बनाएर कञ्चनपुरमा पूर्वएमालेलाई दिने गरी छलफल गरिएको थियो।

बैतडीमा पूर्वएमाले र कञ्चनपुरमा पूर्वमाओवादी केन्द्रका अध्यक्ष ओली समूहमा गएका थिए। नेकपाका नेताहरुका अनुसार प्रचण्ड नेपाल समूहका अधिकांश विरुद्ध देखिएपछि छलफल रोकिएको थियो। उनीहरुका अनुसार तामाङलाई अध्यक्ष बनाएर पूर्वमाओवादी केन्द्रका ढुंगानालाई सचिव बनाउन छलफल अघि सारिएको थियो। यसमा नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल सकारात्मक देखिएको नेताहरुले बताए। नेकपाका सह इन्चार्ज भट्ट असन्तुष्ट बन्ने भएपछि पूर्वमाओवादी केन्द्रबाट अध्यक्ष बनाउने गरी छलफल अघि बढाइएको हो। बैतडीमा रिक्त अध्यक्षमा महादेव भट्ट चयन गरिएपछि तामाङ जिल्ला अध्यक्ष नहुने निश्चित भएको छ।

तामाङ मन्त्री भएपछि को होला पूर्वएमालेबाट सचिव?

नेकपाको प्रचण्ड नेपाल समूहका सचिव तामाङलाई सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री बनाएपछि उनलाई जिल्ला सचिव छाड्नुपर्ने दबाब आउने देखिएको छ। पूर्वमाओवादी केन्द्रबाट अध्यक्ष हुने भएपछि पूर्व एमालेको सचिव हुने निश्चित छ।

तामाङलाई मन्त्री बनाएर उनका स्थानमा पूर्वएमालेबाट सचिव ल्याउने गरी छलफलसमेत अघि बढेको छ। तामाङ मन्त्री भएपछि पूर्वएमालेका नेता रण बहादुर महरा सचिव हुनेछन्। उनी पूर्व एमालेका उपसचिव हुन्। नेकपा नेताहरुका अनुसार महरालाई सचिव बनाउन तामाङ सकारात्मक छन्।

पूर्व माओवादी केन्द्रबाट भट्ट अध्यक्ष भएपछि जिल्ला कमिटीका दुबै पदाधिकारी शुक्लाफाँटा नगरपालिकाका हुने छन्। यसअघिका अध्यक्ष थापा र सचिव तामाङ दुबै पुनर्वास नगरपालिका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.