|
फाइल फोटो ।

सिन्धुपाल्चोक : शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४, फुल्पीङ्कट्टीमा निर्माण गरिरहको अपर चाकु हाइड्रोपावरको उत्पादन मिति तय गरेको छ। हाइड्रोपावरले आउने शुक्रबारबाट ८ दशमलव २० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोड्ने भएको हो। 

आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी गत शुक्रबार नै परीक्षण प्रसारणको शुरुवात गरेको थियो। भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले त्यसको औपचारिक शुरुवात गरेका थिए। अहिले हिउँदको समयमा आयोजनाबाट ८ दशमलव २० मेगावाट बिजुली उत्पादन हुनेछ भने बर्खा लागेपछि पूर्ण क्षमतामा २२ दशमलव २ मेगावाट नै उत्पादन हुनेछ। 

२०७५ सालको साउन महिनामा निर्माण सम्पन्न हुने लक्ष्यका साथ निर्माण कार्य शुरु गरिएको आयोजनाको काम सम्पन्न हुन भने थप समय लागेको हो। 'हामीले जुरे पहिरो देखि महाभूकम्प र भोटेकोशी बाढीको समेत सामना गर्नुपर्‍यो,' आयोजनाका अध्यक्ष बच्चु पौडेलले भने, 'जसकारण समयमै निर्माण सामग्री आयोजनास्थलमा पुर्‍याउन सकेनौँ।' प्राकृतिक विपत्तिले अरनिको राजमार्ग क्षतिग्रस्त हुँदा सामग्री ढुवानीमा समस्या आएको पौडेलले बताए। 

त्यसबाहेक पनि सो आयोजनाले विभिन्न दुर्घटना भोग्यो। आयोजनाको सबै काम सम्पन्न गरेर परीक्षण तयारी गरिरहेकै बेला २०७६ साल असार २१ गते राती मार्मीङ खोलामा बाढी आउँदा आयोजनाको मुहान स्थलमा ठूलो क्षति पुगेको थियो। बाढीमा परी आयोजनामा कार्यरत २ जना कर्मचारी समेत बेपत्ता भएका थिए भने दुईजना घाइते भएका थिए।

घटनामा बेपत्ता भएका आयोजनाका एक जना इन्जिनियर र अर्का एक इलेक्ट्रिसियनको अवस्था अझै अज्ञात छ। त्यस्तै २०७५ चैत १० गते सोही आयोजनाको बाँध स्थलस्थित कर्मचारी आवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा चारजना कर्मचारीले ज्यान गुमाएका थिए।

आयोजनाले २०७५ पुसमा आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर जारी गरेको थियो भने आयोजनाको कर्मचारी र सर्वसाधारणका लागि २० लाख २३ हजार कित्ता शेयर निष्कासन गरेको थियो।

२०६७ सालमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको आयोजनाको प्रतिमेगावाट लागत २० करोड रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.