जस्तोसुकै परिस्थिति सामना गर्न तयार भएकाे जिकिर

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भए पनि पनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रधानमन्त्री खोज्न आफैं भएको ठाउँमा आइपुग्ने दाबी गरेका छन्। 

राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘संसद् पुनःस्थापना भयो भने के हुन्छ अदालतलाई थाहा छैन र? पुनर्स्थापना भयो भने प्रचण्ड र माधवजी हल गोरु नारिएझैँ प्रधानमन्त्री बन्न खोज्न थाल्नुहुन्छ, उहाँहरु कुनै पनि हालतमा प्रधानमन्त्री बन्ने अवस्था छैन। त्यसैले प्रधानमन्त्री खोज्दै मै भएको ठाउँमा आइपुग्नुहुन्छ’, उनले भने, ‘पार्टी फुटाएर तपाईंहरु बाहिर अल्मलिएर बस्नुभएको छ। बाटो सच्चाएर यता आउनुहोस्।’

प्रचण्ड–माधव पक्षले पार्टी छाडेपछि एकढिक्का भएको र हुँदै जाने पनि दाबी गरे। 

‘मलाई प्रचण्डजीको माया लाग्छ, के खान गएको कहाँ डुबिएर मर्‍याे भन्ने जस्तै भएको छ उहाँलाई’, ओलीले भने, ‘लामो संघर्षबाट यहाँसम्म आइपुगेको छौँ।  जस्तोसुकै परिस्थिति सामना गर्न तयार छौँ।’ 

लोकतन्त्र र संविधान जोगाएर अब देश निर्माणको अभियानमा लाग्ने उनले बताए। बहुमतको साथ प्रतिनिधि सभा विघटन गरेको हुनाले पुनर्स्थापना नहुने जिकिर गरे। 

प्रचण्डको नामै किटेर ओलीले भने, ‘सूर्य चिह्न मान्न तयार नभएको मान्छेले सूर्य चिह्नको माग गर्नुभएको छ। उहाँ अहिलेसम्म सूर्य चिह्नमा चुनाव लड्नुभएको छैन’ ‘यता आउनुभएको थियो। फेरि पेरिसडाँडा फर्केर जानुभयो।’

सरकारले तोकेको समयमा निर्वाचन हुने दाबी गर्दै तयारीमा लाग्न पनि उनले त्यहीँबाट निर्देशन दिए। उमेरले ७० वर्ष लाग्दासमेत युवासँग संगत गरेपछि युवा युवा भएजस्तो लागेको उनले सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.