|

काठमाडौं : राजधानीले कर्णालीलाई विकटताको उपमा दिन्छ। स्वयम्‌ कर्णाली पनि विकटताको वास्तविक धरातल बाँच्न अभिशप्त छ। कर्णालीका दूर-दराजसम्म गाउँसम्म समृद्धिको मूल फुट्न बाँकी छ।

देश संघीयतामा पुगेपनि त्यसका प्रभाव राजधानीदेखि पर रहेको कर्णालीमा के-कति परेको छ, त्यसको हिसाब हुनै बाँकी छ।

 गरिबी, अभाव, अशिक्षित र समस्यै-समस्याले भरिएको कर्णाली(राजधानीको नजरमा) ले राजधानीसँग प्रश्न गर्न थालिसकेको छ। समृद्धिका चर्का भाषण गर्न मन पराउने नेतृत्वसँग कर्णालीले सोध्ने प्रश्नको जवाफ होला? विकट कर्णाली भनेर परिचित कर्णालीले अब भने आफ्नो परिचय फेर्न चाहन्छ।

नेतृत्वले देशमा पानीजहाज र रेलका सपना देखाइरहँदा कर्णालीका जनताले अहिले पनि सिटामोल खान नपाएर अकालमा ज्यान गुमाएको समाचार आइरहन्छन्। यातायात सुविधा नभएकोले सुत्केरी आमाहरूले अकालमै ज्यान गुमाउनुपर्ने दु:खद अवस्था कायमै छ।​

यसैबीच, कर्णालीको कथा लिएर लेखराज गिरी र सुरज पण्डित दर्शकमाझ आएका छन्।

'रेलको बाटो' गीतमा उनीहरूले कर्णालीको वास्तविकता उतारेका छन्। गीतकार गिरीले यो 'गीत' नभएर हाम्रो 'वास्तविक कथा' रहेको बताए।

गीतमा शब्द गिरीको हो भने स्वर/संगीत पण्डितको हो। संगीत संयोजन भने कमल सौरागले गरेका हुन्। 

गीतकार गिरीले यो गीतलाई कर्णालीको समाजको वास्तविकतासँग जोड्न खोजेको बताए। भने, 'गीतले उठाएको प्रसंग कुनै व्यक्ति वा पार्टीप्रति गुनासो होइन। समृद्धिका गफ चुटेर जनतालाई दिगभ्रमित बनाउनेलाई गीतले हाम्रो वास्तविकता केहो भनेर देखाउन खोजेको मात्र हो।'

भौगोलिक रूपमा विकट हिमाली र कर्णाली भेगका पीडितको दृश्य गीतमा छ। 'गीत 'अल इन वन' बनाउन नै प्रेम, समाज, गरिबी, विपत्ति र हाम्रो अवस्था देखाउन खोजिएको हो', गिरीले थाहाखबरसँग भने।

प्रश्न सोध्ने शैली फरक फरक हुन्छन्। आफ्नो क्षमता अनुहार हरेक नागरिकले नेतृत्वलाई प्रश्न गरिरहेको छ। आफ्नो वास्तविकता सुनाइरहेका छन्। गिरीले गीतको माध्यमले समाजको वास्तविकता देखाएका हुन्।

सिटामोलको अभावमा मर्नुपर्ने कोही

चोट लागे भोक लागेपनि बस्नुपर्ने रोइ हजुर

तुइन चढि स्कुल जान्छन् नानी बाबु गाउँमा

कालो बाटो चिल्ला गाडी होलान् तिम्रा ठाउँमा हजुर 

खच्चड मेरा गाडी मोटर सँगै हिँड्ने भीरमा

नुनको भारी पिठ्युँमा नाम्लो मेरो शिरमा हजुर

दाउरा घाँस खाली खुट्टा छैनन् चप्पल जुत्ता

रातो कार्पेट ओछ्याउँछन् रे तिमीले हिँड्दा उता हजुर

घोडा चढ्नु वा खच्चड हेर्नु कतिपयका लागि रहर र रमझम हो। त्यही घोडाको सफर वा खच्चड दृष्टिस्वाद कसैको लागि भने बाध्यता हो। तर, नेतृत्वले उनीहरूको बाध्यतालाई नजरअन्दाज गरिरहेको छ। गीतमा तुइनको विषय उठान छ। किनभने अहिले पनि देशमा तुइनबाट नदी वारपार गर्ने ठाउँहरू छन्।

सरकारले देशका विभिन्न क्षेत्रमा तुइन हटाउने निती लिएको छ। तर, शतप्रतिशत हटेको छैन। अझै पनि धेरै नागरिक तुइनबाटै नदी वारपार गरिरहेका समाचार सुनिरहेका छौं। पक्की वा झोलुंगे पुल नहुनु एउटा समस्या त छँदैछ।

यद्यपी; तुइनको विषय गीतमा उठाउनुको मुख्य दुई कारण रहेको गिरी बताउँछन्।

'पहिलो कारण भनेको अझै पनि हामी जोखिमपूर्ण रुपमा तुइनबाट नदी वारपार गर्न विवश छौं,' उनी दोस्रो कारणबारे बोल्छन्, 'तुइनको समस्या त छँदैछ। तर पनि तुइन हाम्रो मौलिकतासँग जोडिएको विषय हुनाले यो हाम्रो सम्पत्ति पनि हो। निकट भविष्यमा तुइनहरू हाम्रा खोला र नदीबाट विस्थापित होलान्। अर्को पिँढीले पक्की पुल बन्नुअघि हाम्रा पुर्खा तुइनबाट पनि नदी वार पार गर्थे है भन्ने कुरा थाहा पाउन जरुरी रहेकोले तुइनको विषय गीतले देखाउन खोजेका हौं।'

गिरीले गीतको स्थायी गाउँ र सहरको परिवेशमा आधारित भएर लेखेका छन्। केन्द्रीकृत विकास नेपाली समाजको समस्या हो। आज पनि सुदूर गाउँमा समृद्धिको बाटो कुरेर बस्नेहरू उत्तिकै छन्। देश संघीयतामा गए पनि केन्द्रको भर पर्नुपर्ने अवस्था गीतले बोलेको छ। 

रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा

हुम्ला कहिले मोटर आउला बसेको छु रहरैमा

ए हजुर! बस्याको छु हेर्ने रहरैमा

विशेष गरेर गायक पण्डितको आग्रहमा लेखिएको थियो यो गीत। पण्डित जुम्लाका हुन् भने गिरी दाङका स्थायी बासिन्दा। लामो समयको मित्रताका कारण पण्डितले एक दिन आफ्नो घर गाउँको परिवेशलाई समेटिएको गीत लेख्नुपर्‍यो भन्दै गिरीलाई आग्रह गरे। पण्डितले मेलोडी सुनाइसकेपछि आफूलाई गीत लेख्न थप सहज भएको बताउँछन् गिरी।

गिरी आफूलाई गीत संगीतको ज्ञानको ठूलो ज्ञाता नभए पनि आग्रहलाई स्विकार गरेर गीत लेखेको बताउँछन्। 'म गीत लेखनको विद्यार्थी हुँ, कोसिस मात्र गरेको हुँ,' उनी सुनाउँछन्।

उनी क्यानभास आर्टिस्ट हुन्। रंग र कुचीले क्यानभासमा चित्र बनाउने क्रममा कतिपयले चित्रले शब्द मागिरहेको हुन्छ। शब्दसँग खेलिरहँदा शब्दले चित्रहरू मागिरहेको बेला उनी फुर्सदमा गीत लेखिरहेका हुन्छन्। यो गीत पनि त्यसैको एक प्राप्ति हो।

यो गीत लेखेको ठीक ७ महिनापछि सार्वजनिक भएको हो। 'पहिलो पाइला' भन्ने एल्बममा रहेको समावेश गीत हो। 

युवापुस्ता माझ लोकप्रिय 'रेलको बाटो' नामको गीत 'टिकटक'मा पनि उत्तिकै चर्चामा छ। यसै गीतको टुक्रा प्रयोग गरी हजारौंले आफू रहेको ठाउँमा बसेर गीतसँग सुहाउँदो भिडियो निर्माण गरिरहेका छन्।

'गीतलाई कतिले हेरे भन्दा पनि कतिले मन पराए भन्ने हो। यो गीतले मलाई सन्तुष्टि दिएको छ। यो नै मेरा लागि सफलता हो। बाँकी तपसिलका विषय हुन्,' गिरी भन्छन्, 'अहिले सार्वजनिक भएको भिडियो नै अन्तिम होइन। यो गीतको अफिसियल म्युजिक भिडियो केही दिनमा आउँदैछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.