|

विराटनगर : शंकास्पद अवस्थामा मृत भेटिएका मोरङका ३१ वर्षीय प्रविन बास्तोलाको हत्यामा संलग्न रहेको आरोपमा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।

उर्लाबारी नगरपालिका–५ प्रविनको हत्याको अभियोगमा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध कर्तब्य ज्यान मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ। सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुई जना र फरार भएका चारसहित ६ जनाविरूद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो।

प्रहरीले पक्राउ गरेको होटल संचालक उर्लावारी नगरपालिका–९ का ३४ वर्षीय कुमार राई र प्रवीनका साथी मोरङ रतुवामाई नगरपालिका– १० का २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जि सहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता मनोजकुमार आचार्यले जानकारी दिए।

सोही मुद्दामा प्रविनका साथीहरू उर्लावारी–६ का १९ वर्षीय सुदीप परियार, सोही ठाउँका ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दीपेश पौडेल र प्रविनको शव भेटिएको घरधनी उर्लावारी–६ का ६० वर्षीय रमेश गिरीलाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरेको हो। अदालतमा अभियोग दर्ता भएपछि पक्राउ परेका होटल संचालक राई र दर्जीको बयान सकिएको मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए।

प्रतिवादीहरूको बयान सकिएकोले बिहीबार थुनछेक बहस हुने स्रेस्तेदार दाहालले बताए। मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले घटनामा संलग्न दुई जना प्रतिवादीलाई पक्राउ गरि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए।

‘प्रहरीको अनुसन्धानलाई लिएर सामाजिक सञ्जालमा अनेक खाले टिकाटिप्पणी गरेको पाइयो’ एसपी खड्काले भने, ‘तथ्यमा रहेर प्रहरीले अनुसन्धान गरेको छ। अनुसन्धानमा संलग्न प्रहरीले घटनामा लापरबाही गरेको पाइए कारबाहीको दायरामा ल्याउनेछौं।’ खड्काले सामाजिक सञ्जालमा अनुसन्धान प्रतिवेदन नक्कली बनाइयो भनेर प्रहरीलाई आरोप लगाए पनि त्यसो नभएको स्पस्ट पारे।

प्रविनको पुस ५ गते शव भेटिएको थिए। प्रविनका बुबा प्रेमले पुस २२ गते उर्लावारी–६ का राजेश रणपहेली विरुद्ध किटानी जाहेरी दिए। प्रहरीले फरेन्सिक प्रतिवेदन आउन ढिलाइ भएको भन्दै पक्राउ गरिएका रणपहेलीलाई गत माघ २ गते छोडिदियो। 

जिल्ला सरकारी वकिल कार्यालयको निर्देशन बमोजिम प्रतिवादी छोडिएपछि घटनामा प्रहरीको मिलेमतो रहेको मृतकका परिवारले आशंका गरे। अनुसन्धान प्रभावकारी नभएको र आरोपित व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार र सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा परिवारजनले नाराबाजीसमेत गरे।

उनीहरूले मंगलबार विराटनगरस्थित सरकारी वकिलको कार्यालयसमेत घेराउ गरेका थिए। प्रविनको मिसिलमा प्रहरीले अर्कै फोटो राखेको पाइएपछि आफन्तजन थप सशंकित बनेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.