|

काभ्रे : संसद पुनर्स्थापनाको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले काभ्रेमा विजय उत्सव मनाएका छन्।

समूहले जिल्लाको बनेपास्थित चारदोबाटोबाट शुरु गरेको र्‍याली चाँदनीचोक, तीनदोबाटो, तीनधारा, गणेशस्थान हुँदै पुनः चारदोमा पुगेको थियो। 

विजय उत्सवमा सूर्य र हँसिया हथौडा बोकेका नेता कार्यकर्ताले  'सर्वाेच्च हाइहाई,' 'केपी ओली बाइबाई', 'लोकतन्त्र जिन्दावाद', 'जितको कसको, नेपाली जनताको', 'केपी राजीनामा दे', '७० करोड कहाँ छ, गोकुलेलाई थाहा छ' लगायत नारा लगाएका थिए। 

सभालाई पूर्वऊर्जा राज्यमन्त्री तथा बागमती प्रदेश कमिटीका सचिवलय सदस्य सूर्यमान दोङ ‘लालध्वज’, नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाईं, सचिव टोकबहादुर वाइबा, नेकपा काभ्रेका जिल्ला संघर्ष समिति संयोजक तथा बागमती प्रदेशका प्रदेश सांसद बसुन्धारा हुमागाईं, नेकपा काभ्रेका नेता विदुर सापकोटालगायत नेताले सम्बोधन गरेका थिए।

जुलुसमा नेताहरु लक्ष्मण लम्साल, रत्न ढकाल, इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, दैवलाल घिसिङलगायत युवा संघ र विद्यार्थीसहित नेता तथा कार्यकर्ता सहभागी थिए। 

संसद् विघटनको विरोधमा पूर्वनिर्धारित कार्यक्रमलाई प्रचण्ड–माधव समूहले विजय उत्सवमा परिणत गरेका हुन्। काभ्रेका प्रचण्ड–माधव समूहका एक जिल्ला नेताका अनुसार देशभर विजय जुलुस निकाल्न मातहतका कमिटीहरुलाई केन्द्रले निर्देशन दिएको थियो। 

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदमलाई सर्वोच्च अदालतले बदर गरेसँगै संसद पुनर्स्थापना भएको खुसियालीमा मंगलबार साँझ दीप प्रज्वलन समेत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.