प्रशासनले खाेजीमा सहयाेग नगरेकाे गुनासाे

|

काठमाडौं : 'अन्तिम पटक छोरासँग कात्तिक २७ गते बोलेको थिएँ, आमा तिहार मनाउन घर आउँदैछु भनेको थियो। आजसम्म अनुहार देख्न पाइन।' शनिबार विहान काठमाडाैंको बानेश्वरस्थित एक रेष्टुरेन्टमा पत्रकारहरुमाझ चन्द्रकुमारी राई छोरा वेपत्ता भएकाे बिलौना गर्दै थिइन्।

झण्डै चार महिनादेखि हराइरहेका २५ वर्षीय छोरा पुजन राईलाई खाेजी गरिदिन उनकाे अपिल थियाे। 'न निन्द्रा परेको छ, न भोक लागेको छ, मेरो छोराको खोजीमा प्रहरी र स्थानीय तहका प्रमुखले सहयोग गरेनन्।' श्रीमान् लालकुमार राईकाे आडैमा बसेकी उनले आँशु पुछ्दै भनिन्।

पुजन सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ को प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायकमा विगत १० महिनादेखि कार्यरत थिए। उनी बाह्रबिसेमै डेरा लिएर बसेका थिए। कार्यालय जाँदा–आउँदा मोटरसाइकल प्रयाेग गर्थे।  मोटरसाइकलसहित नै पुजन वेपत्ता भएका हुन्।

उदयपुर चौदण्डीगढी नगरपालिका- ४ स्थायी घर भएका पुजन प्राविधिक शिक्षा पढेर स्वास्थ्य सेवाको क्षेत्रमा प्रवेश गरेका थिए। चन्द्रकुमारीकाे एक छोरा र दुई छोरी छन्। प्रहरी प्रशासनबाट सहयोगकाे आश मारिसकेकी उनी छोराकाे खाेजीमा ज्याेतिषी, धामी-झाँक्री सबै कहाँ पुगिसकिन्। 'छोरा भेटिएपछि आमा छोरा हामीसँगै बस्छौ। दुःख पाए पनि उसलाई अब काममा लगाउँदिन,' उनी भन्छिन्।

छोराको खोजीमा रहेका उनीहरुले जिल्ला प्रहरी कार्यालय र स्थानीय तहमा सम्पर्क गरिसकेका छन्। प्रहरीले पुजनको खोजी गर्नलाई खासै चासो नदिएको परिवारलाई लागेको छ। सबैभन्दा दुःख लाग्दो कुरा पुजन काम गर्ने कार्यालय प्रमुखलेसमेत खोजीमा खासै चासो नदिएको उनले बताइन्। नगरपालिकाले पुजनकाे स्थानमा अर्काे कर्मचारी राख्न विज्ञापन गरिसकेको आफन्तले जानकारी दिएका छन्।

एक्लाे छोरा भएकाले पनि चन्द्रकलालाई सहन गाह्राे भएकाे छ। पुजनले सुकेधाराको बागमती स्कुलबाट एसएलसी पास गरेका थिए। एसएलसीपछि तिलगंगा आँखा अस्पतामा नेत्र सहायकको रुपमा तीन वर्ष अध्ययन गरेका थिए।

'मेरो छोरालाई प्राविधिक शिक्षा नपढाएको भए आज मेरो छोरा हराउने थिएन,' उनले भनिन,' छोरा काम गरेको कार्यालयले खोज्न पहल नगर्दा पनि यत्रो समयसम्म भेटन नसकिएको हो।' 

कातिक २७ गते दिदीसँग साँझ अन्तिम पटक पुजनको कुरा भएको थियो। परिवारका सबैले २८ गतेसम्म पटक-पटक फोन गर्दा लागे पनि नउठेको र त्यसपछि सम्पर्क नभइ फोन स्विच अफ भएको थियो।

पुजनका बाबुआामा दुवै शिक्षक हुन्। बुबा रिटायर्ड भइसकेका र आमा भने गाउँकै विद्यालयमा पढाइरहेकी छिन्। छोराको खोजी गर्न पटक-पटक सिन्धुपाल्चोक जाँदा प्रहरी प्रशासनले बेवास्ता गरिरहेको उनको गुनासो छ।

प्रहरीले भने उनी सँगै कार्यालयमा काम गर्ने एक युवतीसँग प्रेम सम्बन्ध रहेको पत्ता लगाएको छ। ती युवतीसँग बुझ्दा हराएकै दिन कार्यालय विदा भएपछि पुजन चाकु (स्ठानीय ठाउँ) जाने भन्दै गएका परिवारले जानकारी दिए। त्यसपछि पुजन अहिलेसम्म भेटिएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.