|

चितवन : दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान फुटबल कपको उपाधि कालभैरव हेटौंडाले जितेको छ। बुटवल उपमहानगरपालिका भेटेरान बुटवल टीमलाई ४–२ गोल अन्तरले पराजित गर्दै कालभैरव भेटेरान हेटौंडाले उपाधि जितेको हो।

भरतपुरको कृष्णपुर खेल मैदानमा शनिबार भएको फाइन खेलमा बुटवललाई टाइब्रेकरमा पराजित गर्दै हेटौंडाले उपाधि हात पारेको हो । कालभैरव हेटौंडालाई जिताउन गोलरक्षक रामराज लामाले टाइब्रेकरमा बुटवलको दुई प्रहार बचाए। उनले दोस्रो र चौथो प्रहार रोके।

त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। खेलको १४ औं मिनेटमा भरतकुमार कैचा थापाले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए। तर पहिलो हाफमा नै कालभैरव हेटौंडाले १ गोल फर्कायो।

पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा नरेश थापाले कालभैरव हेटौंडाका लागि बराबरी गोल गरे। सेमिफाइनलमा कैलाली भेटेरानलाई २-० ले पराजित गर्दै बुटवल फाइनलमा प्रवेश गरेको हो भने हेटौंडाले पनि चावहिल भेटेरान काठमाडौंलाई २-० ले नै पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। उपाधिसँगै कालभैरवले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ।

उपविजेता बुटवलले ७५ हजारमा चित्त बुझाएको छ। कालभैरव हेटौंडाका नरेश थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। यस्तै चितवन भेटेरान रातोका रविन्द्र श्रेष्ठ सर्वाधिक गोलकर्ता भए। उनले प्रतियोगिताभर ७ गोल गरेका थिए। उनले सात वटै गोल उद्घाटन खेलमा जनकपुर भेटेरानविरुद्ध गरेका थिए।

कालभैरवका रामराज लामा उत्कृष्ट गोलरक्षक, कालभैरवकै एजेन लिम्बु उत्कृष्ट डिफेन्डर र बुटवलका भरतकुमार कौचा थापा उत्कृष्ट मिड फिल्डर घोषित भए। उनीहरूले नगद ५-५ हजार रुपैयाँ प्राप्त गरे। चितवन भेटेरान क्लबको आयोजनामा भएको प्रतियोगितामा भारतको एक सहित १४ टोली सहभागी थिए।

कृष्णपुर खेल मैदानलाई प्रशिक्षण केन्द्र बनाइने

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले केहि समयभित्रै राष्ट्रिय स्तरको भेटेरान फुटबल प्रतियोगिताको आयोजना गरिने बताए। कृष्णपुर खेल मैदानलाई राष्ट्रिय स्तरको नियमित प्रशिक्षण केन्द्रका रुपमा विकास गरिने उनले बताए।

‘यस मैदानलाई नियमित प्रशिक्षण केन्द्र बनाउन हामी तयार छौँ’, उनले भने,‘चितवनमा आयोजना गरिने फुटबल प्रतियोगिताहरूमा एन्फाले सहकार्य गर्न तयार छ।’ नेपालबाट नै फुटबल कोचको लाइसेन्स लिन पाउने व्यवस्था गर्न लागिएको भन्दै उनले आगामी वर्ष नै त्यसलाई कार्यान्वयन गर्ने गरि अघि बढिएको बताए। राम्रा खेलाडी उत्पादनका लागि स्थानीय स्तरबाट नै खेलाडीहरूको विकास गर्नुपर्ने उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.