|

सोलुखुम्बु : बिजुली बत्ती बलेको ३० वर्षपछि सोलुखुम्बुको सल्लेरी क्षेत्र लोडसेडिङ मुक्त बनेको छ। २०४७ सालमा सोलुखोलाबाट उत्पादन भएको बिजुली बालेका सल्लेरीवासीले विद्युत कटौतीको मार त खेपेकै थिए अन्य समयमा समेत बारम्बार कटौती हुँदा आजित बनेका थिए।

गत पुस २७ र २८ मा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ र ८ का वडा अध्यक्षसहित सयौं उपभोक्ताले लोडसेडिङ अन्त्य हुनुपर्ने भन्दै सल्लेरी च्याल्सा विद्युत कम्पनी उपभोक्ता समितिको ध्यानकर्षण समेत गराए। सञ्चालक समितिले उपभोक्तालाई एक महिनाभित्र लोडसेडिङ अन्त्य गर्ने भनी गरेको प्रतिवद्धता फागुन १५ मा पूरा भएको छ। 

बर्खा याममा विद्युत कटौती नगर्ने कम्पनीले चिसो मौसम सुरु भएसँगै तालिका सार्वजानिक गर्दथ्यो। चिसो मौसममा यहाँका सरकारी कार्यालयदेखि निजी घरमा समेत विद्युतीय सामग्रीको अत्यधिक प्रयोग हुने गर्छ। जसले गर्दा लोड बढी हुँदा विद्युतीय मेसिननै बन्द हुने गरेको कम्पनीको भनाइ छ। 

उपभोक्ताको समस्या समाधानका लागि कम्पनीले विद्युत प्राधिकरणसँग पिपिए गरेको छ। २०७६ माघमा सोलुखुम्बुमा विद्युतको केन्द्रीय प्रशारण लाइन आएसँगै यहाँको समस्या समाधानका लागि नगरपालिका प्रमुखदेखि सांसद समेत लागिपरेका थिए। लामो समयको प्रयासपछि च्याल्सा विद्युत कम्पनीको विद्युतमा केन्द्रीय प्रशारण लाइन जोडेसँगै यहाँको समस्या पनि हटेको हो। पछिल्लो समय पनि दैनिक तीन घण्टा लोडसेडिङको मार खेपिरहेका सल्लेरीवासीको समस्या आइतबारदेखि समाधान भएको छ।

कम्पनीका महाप्रबन्धक भोजराज तिवारीका अनुसार शुक्रबारदेखि च्याल्सा जलविद्युत आयोजनाको विद्युतमा राष्ट्रिय प्रशारण लाइन जोडेर परीक्षण भइरहेको छ। जसका लागि करिब ४० लाख रुपैयाँमा सिग्मा कोण कम्पनीले काम गरेको थियो।

नेट मिटरिङ विधिबाट केन्द्रीय प्रणालीमा जाडान गरी च्याल्सालाई अपुग विद्युत लिने र खपत हुन नसकेको विद्युत पठाउने काम भएको छ। २०४७ सालमा स्वीस सरकार, विद्युत प्राधिकरण र स्थानीयवासीको ३३/३३ प्रतिशत लगानीमा निर्माण गरिएको सल्लेरी च्याल्सा विद्युतको क्षमता ६७० किलोवाट रहेको छ। उक्त विद्युत सदरमुकाम सल्लेरी, फाप्लु, गार्मा, बेनीसहित आसपासका करिब २ हजार ३०० घरधुरीले प्रयोग गरिरहेका छन्। तर पनि विद्युत आपूर्ति बारम्बार अनियमित हुँदा विद्युतीय सामग्री बिग्रने गरेको उपभोक्ताको गुनासो छ। 

हिमाली क्षेत्र भएका कारण चिसो याममा बिहान बेलुका विद्युतको अत्याधिक खपत हुने हुँदा लोडसेडिङ गर्नु परेको कम्पनीले जनाएको छ। तर अन्य समयमा भने उत्पादन भएको विद्युत समेत खपत नहुने समस्या भए पनि अबदेखि उक्त समस्या समाधान भएको कम्पनीका महाप्रबन्धक तिवारीको भनाइ छ। कम्पनी र प्राधिकरणबीच भएको सम्झौताअनुसार हिउँद याममा प्रति युनिट ८.४ रुपैयाँ र बर्खा याममा ४.८ रुपैयाँ एकअर्काले लिनेदिने छन्।

लोडसेडिङको चर्को मार खेप्दै आएका सल्लेरीवासीले च्याल्सा विद्युत कम्पनीलाई लोडसेडिङ अन्त्यको माग गर्दै बारम्बार ध्यानकर्षण गरेका थिए। जिल्लामा लोड सेडिङ अन्त्य गर्ने सवालमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी र संघीय सांसद हेमकुमार राई (शुरवीर)ले प्राधिकरण र विद्युत कम्पनीबीच बारम्बार छलफल गरेको बताउँदै आएका थिए।

सोलुखुम्बुलाई उज्यालो जिल्ला बनाउने महा अभियानमा जुटेको भन्दै संघीय सांसद राईले गाउँगाउँमा विद्युत विस्तारको काम भइरहेको बताए। अबको तीन वर्षभित्र उज्यालो जिल्ला निर्माणको अभियानमा जुटेको सांसद राईको भनाइ छ। 

यता लोडसेडिङ मुक्त हुने भएपछि उपभोक्ता भने हर्षित भएका छन्। विद्युत कटौती हुँदा स्वास्थ्य सेवादेखि टेलरिङ सेन्टरलगायत प्रभावित बनेको उपभोक्ताको गुनासो थियो। “लोडसेडिङ नहुने खबर सुन्न पायौ‚” उपभोक्ता पवित्रा राईले भनिन्, “लामो समयपछि अन्धकारमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने भयो, यो हाम्रा लागि खुसीको कुरा हो।” सल्लेरीका जाङ्बु शेर्पाले खुसी व्यक्त गर्दै लोडसेडिङ मुक्त गर्नको लागि पहल गर्ने सबैलाई धन्यवाद दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.