|

 काठमाडौं : काठमाडौं महानगरपालिकाले स्थानीय भाषाको रुपमा छनोट गरेको नेपालभाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण सुरु गरेको छ।

यसका लागि कामपाले आफू मातहत रहेका विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरिसकेको छ। अब ती सबै शिक्षकलाई प्रशिक्षण दिएर कक्षामा पठाउने कामपाको तयारी छ। संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरुपमा १०० नम्बरको एक विषय स्थानीय तहले अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। सोहीअनुरुप कामपाले नेपाल भाषालाई छनोट गरेको हो।  

महानगरका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार १७२  शिक्षक महानरपालिकाले आफ्नै स्रोत साधनबाट राख्न लागेको हो। यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ। आगामी शैक्षिक सत्रदेखि अनिवार्यरुपमा लागू गर्न लागिएको सो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक एक जना र विद्यार्थी संख्या र आवश्यकता हेरी तीनजना जम्मा शिक्षक राख्ने तयारी छ। 

पहिलो चरणमा वडा २२ का ३० शिक्षकलाई यस किसिमको प्रशिक्षणमा सहभागी गराएको छ। नेपाल भाषा व्यवस्था समितिका सदस्य सचिव मोती खनालले पाठ्यपुस्तकमा महानगरपालिकाको चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपीजस्ता विषय समेटिएको बताए।

पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन्। उनका अनुसार बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठनपाठन हुनेछ। त्यस्तै कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुनेछ। कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको छ।

महानगरपालिकाले आधारभूत कक्षा एक देखि आठसम्मका लागि स्थानीय पाठ्यपुस्तक तयार गरेको हो। अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ। सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयको लागि मात्रै अनिवार्यरुपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ।   

आगामी शैक्षिक सत्रदेखि महानगरपालिकामा रहेको ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागु गर्ने गरी पाठ्यपुस्तक तयार गरेको हो। अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुनेछ। महानगरपालिकाको सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन्। कामपाको सामुदायिक विद्यालयमा एक हजार  ७९१  शिक्षक कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.